महावीरको महादान अभियान
दानबाटै आविष्कार केन्द्र खोल्ने सूचनाप्रविधि विज्ञ महावीर पुन एक्लैको सपना सम्भव तुल्याउन संसारभरका नेपाली जुट्न थालेका छन्।
स्कूल–कलेजमा प्रेमपत्र मात्रै पनि लेखेका भए महावीर पुन यतिबेला भूपि शेरचनको 'शहीदहरूको सम्झना' कविताको 'हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए' पंक्ति पुनर्लेखन गरिरहेका हुन्थे।
“शहीद भएर, बलिदान, त्याग गरेर देश बनाउने समय गयो। अब देश बनाउन बलिदान होइन, महादान गर्नुपर्छ”, सूचनाप्रविधिविज्ञ पुन भन्छन्।
राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) स्थापनाका लागि सरकार गुहार्दा गुहार्दै थाकेपछि पुन 'जनता' तिर फर्किए, 'महादान अभियान' सहित।
५० करोड रुपैयाँ संकलन गरेर आविष्कार केन्द्र स्थापना गर्ने र त्यसको निरन्तरताका लागि १० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य र चुनौती उनी स्वयंसामु उभिएको छ। आविष्कार केन्द्रको दर्ता भने २४ कात्तिक, २०६९ मै भइसकेको छ।
सरकारी सहयोगको आशामा तीन वर्ष बिताएका उनी साढे पाँच महीनाअघि थालेको महादान अभियानबाट भने उत्साहित छन्। नागरिकको धापले हौसिएका उनी भन्छन्, “अब सरकारको कुरा छोड्नुस्। जनताको सहयोगले यो वर्षभित्रै आविष्कार केन्द्रले काम शुरू गर्छ।”
आविष्कार अर्थात् समृद्धि
देशमा वैज्ञानिक अध्ययन, अनुसन्धान तथा आविष्कारका क्षेत्रमा काम गर्नकै लागि विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), त्रिभुवन विश्वविद्यालयलगायत आठ विश्वविद्यालय छन्।
यी संस्थाहरूमा सयौं विज्ञ तथा वैज्ञानिक कार्यरत छन्। फेरि यस्तै अर्को संस्था किन चाहियो? उनले पटकपटक यही प्रश्नको सामना गर्नुपर्यो।
“सरकारले वैज्ञानिक अनुसन्धान गर्न न बजेट दिएको छ न प्रोत्साहन”, केन्द्र सञ्चालक समितिका अध्यक्ष पुन भन्छन्, “वैज्ञानिकहरूलाई १०–५ काम गर्ने सरकारी कर्मचारी जस्तै थन्क्याउने काम भइरहेको छ। त्यसैले पनि आविष्कार केन्द्र चाहिएको हो।”
केन्द्र स्थापनाको चुरो चाहिं मुलुकको समृद्धि नै हो ।
देशको मानव संसाधन देशमै क्रियाशील गराई वैज्ञानिक आविष्कार तथा प्रविधि विकास गर्न केन्द्रको खाँचो परेको पुनको दाबी गर्दै पुन भन्छन्, “विज्ञान तथा प्रविधिको विकास नगरी देश समृद्ध हुँदैन।”
विश्व ब्यांकको एक अध्ययनले विकसित देशहरूमा विज्ञान तथा प्रविधिको अनुसन्धान र विकासका लागि कुल गार्हस्थ उत्पादन (जीडीपी)को २ देखि ४ प्रतिशत खर्च हुने गरेको देखाएको छ।
विकासशील देशहरूमा पनि कम्तीमा २ प्रतिशतसम्म छुट्याउने गरिएको छ। “हामीकहाँ पनि कम्तीमा १ प्रतिशत त छुट्याऊ भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्”, पुन गुनासो गर्छन् ।
मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको केन्द्रको सञ्चालक समितिमा पुनसहित अर्थविद् रामेश्वर खनाल, जलविद्युत् विज्ञ डा. डम्बर नेपाली, वैज्ञानिकद्वय डा. प्रमोद ढकाल, डा. दिनेश भुजु र चार्टर्ड एकाउन्टेन्ट हरि सिलवाल सदस्य छन्।
पुनको भनाइमा, केन्द्रले यहाँका अनुसन्धानकर्तालाई विदेशी वैज्ञानिकहरूबाट 'मेन्टरिङ' गर्ने, 'प्रोडक्ट' विकास गर्न आर्थिक तथा अन्य सहयोग गर्ने, कानूनी अधिकारका लागि सघाउने तथा आविष्कारलाई आर्थिक तथा सामाजिक विकाससँग जोड्न सहयोग गर्नेछ।
यसका लागि उनले काठमाडौंको ठमेलस्थित नेपाल कनेक्सन क्याफेलाई नै अस्थायी कार्यालय बनाएका छन्। केन्द्रको अनुमानमा विदेशमा उच्च तहमा रहेका करीब सातसय नेपाली वैज्ञानिकमध्ये अहिलेसम्म २० जनाले केन्द्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइसकेका छन्। “अरूसँग पनि छलफल चलिरहेको छ”, उनी भन्छन्।
महादानी मन
दुर्गम गाउँहरूमा ताररहित इन्टरनेट सेवा पुर्याउने कार्यका लागि म्यागासेसे पुरस्कार पाएका ६३ वर्षीय पुनका लागि महादान अभियान जीवनकै कठिन काम थियो।
“जीवनमा कहिल्यै कसैसँग एक पैसा पनि मागेको थिइनँ। तर, आविष्कार केन्द्रका लागि नमागी नहुने भयो”, उनले बाध्यता सुनाए ।
महादान अभियान यताका साढे पाँच महीनामा देश–विदेशबाट पाँच करोड रुपैयाँ संकलन भइसकेको छ। जसमा रु.१०० देखि बढीमा रु.५७ लाखसम्म छ। हङकङका नेपालीले पुनलाई पत्याएर एकमुष्ट रु.५७ लाख प्रदान गरेका छन्। महादानमा पुन स्वयंले दान गरेको पोखराको तीन करोड बराबरको २७ रोपनी जग्गा पनि छ।
१२ वैशाख, २०७२ को भूकम्पले क्षति पुर्याएका गोरखालगायतका जिल्लामा ताररहित इन्टरनेट सेवा पुर्याउन खटिएका कारण अहिले अभियानमा पूरै समय दिन नसकेको उनी बताउँछन्।
दुई सातापछि महादान अभियानका लागि देश दौडाहामा निस्किने तयारी गरिरहेका पुन भन्छन्, “यो एक वर्षभित्र ५० करोड जम्मा गरिसक्ने योजना छ।”
अभियानअन्तर्गत नेपालमा रहेकाले कम्तीमा रु.५० र विदेशमा रहेका नेपालीले कम्तीमा ५० अमेरिकी डलर दान गर्न सक्ने व्यवस्था गरिएको छ।
इसेवा प्रा.लि.ले कमिशन नलिएरै पैसा पठाउन सक्ने व्यवस्था गरेको छ भने गोफन्डमी डटकमबाट आउने पैसामा डियरवाक फाउन्डेसनले त्यतिकै पैसा थपेर सहयोग गर्ने भएको छ।
जलविद्युत्ले दिगोपन
केन्द्रको स्थायित्वका लागि बनाइने भनिएको १० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि करीब रु.१ अर्ब ५० करोड लाग्ने अनुमान छ। त्यसका लागि ७० प्रतिशत रकम ऋण लिइने उनी बताउँछन्। जलविद्युत् विज्ञ नेपाली यो काममा खटिइसकेका छन्।
पाँच वर्षभित्र निर्माण सम्पन्न हुने भनिएको जलविद्युत् आयोजनाबाट वार्षिक रु.३३ करोड ६९ लाख आम्दानी हुने र त्यसमध्ये रु.१० करोड केन्द्रमा लगाइने योजना छ।
आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने विकल्प पनि उनीसँग छ। त्यसो गरिए ७० प्रतिशत शेयर केन्द्रले आफूसँगै राख्ने उनी बताउँछन्।
“अर्को महत्वपूर्ण कुरा चाहिं आविष्कार केन्द्र काठमाडौंमा मात्रै केन्द्रित हुँदैन, आवश्यकता अनुसार सबै प्रदेशमा कार्यालय विस्तार गरिनेछ”, महत्वकांक्षी पुनको अठोट छ।