अन्तर्वार्ता/विचारबुधवार, फाल्गुण ४, २०७३

साक्षरता, शक्ति र एजेन्सी: नेपालको सन्दर्भमा प्रेमपत्र र विकास

हिमालखबर

 

लोरा एम् अहर्न

यो लेख पश्चिम नेपालस्थित पाल्पा जिल्लाको जुनी गाउँका महिलाहरूको प्रारम्भिक साक्षरताका विषयमा गरिएको अध्ययनमा आधारित छ। लेखमा साक्षरता आफैमा सामाजिक परिवर्तनको मुख्य स्रोत तथा विविध खालका सामाजिक रूपान्तरणका कारण देखा पर्ने एक परिणाम दुवै हुन सक्छ भन्‍ने तर्क गरिएको छ। सन् १९९०को दशकमा जुनी गाउँमा बढेको महिला साक्षरता अभियानले प्रेमपत्र लेखनको संस्कृति तथा युवा-युवतीहरूले आफ्नो विवाह आफ्नै पहलमा गर्ने प्रचलन तथा प्रेमपत्र लेखन अभ्यासलाई बढावा दियो। केही लैङ्गिक विचारधाराहरू२ अझै  सुदृढ बने तर समाजमा महिलाहरूलाई उपलब्ध हुन सक्ने केही पदीय जिम्मेवारी र दायित्वका अवसरहरू भने बढेनन्। यस लेखले हामीलाई साक्षरता आफैमा तटस्थ र एउटै मात्र आयाम भएको प्रविधि नभई फरक-फरक समुदायले आफ्नो जीवनकालमा भोगेका फरक-फरक अनुभवहरूको सँगालो पनि हो भन्‍ने तर्फ सचेत गराउँछ। जुनी गाउँमा प्रेमपत्र लेखनले मागी र चोरी विवाहलाई भागी विवाहमा परिणत गर्नुका साथै गाउँलेहरूका आफ्नै सामाजिक संस्कारप्रतिको दृष्टिकोणमा परिवर्तन ल्यायो। सरकारी पाठ्यपुस्तक,नारी साक्षरतामूलक लेख,उपन्यासहरू,पत्र-पत्रिका र प्रेमपत्र सहयोगी पुस्तकहरू जस्ता पाठ्य स्रोतहरूको गहन अध्ययनको फलस्वरूप निस्केको यस लेखले सामाजिक एजेन्सीका३बारे नौला धारणाहरूको विश्लेषण गर्नुका साथै जुनी गाउँका प्रेम पत्रहरूमा अन्तर्निहित विकाससँग सम्बन्धित सङ्कथनको विषयमा जानकारी दिन्छ।

जुनी गाउँमा एउटा प्रचलित भनाइ छ, ‘भावीले लेखेको,छालाले छेकेको’। यो उखान जुनी गाउँका मूल बासिन्दाका रूपमा रहेका मगर समुदायमाझ मात्र नभई नेपालका अन्य जात-जाति एवं जनजातिहरूमा पनि एक प्रचलित विश्वासको रूपमा रहेको पाइन्छ। यस भनाइको तात्पर्य- ‘मान्छे जन्मदा निधारको छालामुनि उसको भाग्य लेखिने हुनाले भविष्यमा यही हुन्छ भनेर किटान गर्न सकिदैन’भन्‍ने हो। यस धारणा अनुसार कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने घटनाहरू उसको भाग्यमा निर्भर हुने गर्दछ किनभने भाग्य अथवा अर्को शब्दमा भन्‍ने हो भने भगवानमा मात्र कसैको भाग्य लेख्‍ने शक्ति अन्तर्निहित हुन्छ। जुनी गाउँमा चलन चल्तीका अरू दुई भनाइहरू पनि छन्, जस्तो कि- ‘देखेको मात्रै हुन्‍न,लेखेको हुनुपर्छ’र ‘भनेको मात्रै हुन्‍न,लेखेको हुनुपर्छ’।४ यी दुवै भनाइहरू माथि उल्लिखित भनाइका समानार्थी हुन्।

जब भाग्य ‘लेखिने कुरा’ वा लेखनसँग जोडिन्छ तब प्रारम्भिक चरणको साक्षरता शिक्षासँग जोडिएका जुनी गाउँका वासिन्दाले कसरी ‘लेखन शक्ति’ तथा ‘पढ्ने शक्ति’ हासिल गरे होलान्? गाउँ कसरी अरूले लेखेको कुरा ‘पढ्ने शक्ति’ प्राप्तिका लागि अग्रसर भयो होला? कसरी ‘एजेन्सी’, लैङ्गिक क्षेत्र, भाग्य वा विकाससँग सम्बन्धित अवधारणाले खास आकार ग्रहण गर्‍यो होला र त्यो साक्षरता अभियान वा अभ्याससँग जोडिएर देखा पर्‍यो होला? वा अझ महत्त्वपूर्ण प्रश्न ‘खास ऐतिहासिक क्षण/समयमा आधारित संस्कृति’५ कस्तो खालको थियो होला र सो समयमा यसको अभ्यास कसरी भयो होला? भन्‍ने जस्ता प्रश्नहरू उठ्छन्।६

अझ महत्त्वपूर्ण प्रश्न त यो समयमा साक्षरताको अभ्याससँगै कसरी ‘खास ऐतिहासिक क्षण/समयमा आधारित संस्कृति’ देखा पर्‍यो होला? भन्ने हो । वास्तवमा भाग्य र लेखनका बीच रहेको यस्तो अन्तरसम्बन्धको परिप्रेक्ष्यमा यस्ता सवालहरू महत्त्वपूर्ण हुन जान्छन् ।

यस शोध लेखमा मैले ‘साक्षरता, सामाजिक परिवर्तनको उत्प्रेरक वा विविध सामाजिक रूपान्तरणहरूको परिणाम दुवै हुन सक्छ’भन्‍ने कुराको उठान गर्न खोजेकी छु। साक्षरता प्रविधिका लागि सामाजिक रूपान्तरणलाई श्रेय दिने म, गुड्डी र उनका समर्थकहरूका दृष्टिकोणसँग केही असहमत छु (गुड्डी१९८६,१९८७,२०००;गुड्डी र वाट१९६३)। स्मरण रहोस्,गुड्डी र उनका समर्थकहरू स्त्रिट (१९८४)ले भनेझैं साक्षरता 'स्वायत्त' हुन्छ भन्ने अवधारणाका समर्थक हुन्। सिएफ्लिनले कुलिक र स्ट्राउडलाई उद्धृत गर्दै टिप्पणी गरे अनुसार ‘साक्षरता आफैमा समाज फेर्ने कारक शक्ति अन्तर्निहित हुँदैन। वरू मानिसहरू नै रूपान्तरण प्रक्रियाका सक्रिय शक्ति हुन्, जसले साक्षरतालाई समुदायमा प्रवेश गराउँछन्’।

मानव जीवनमा साक्षरतासँग सम्बन्धित क्रियाकलापका कारण भएको रूपान्तरण र प्रभावहरूको वर्णन गर्ने क्रममा गुड्डीले जोसुकैले पढ्न-लेख्‍न सिके पनि अथवा साक्षरता जहिले र जहाँबाट सुरू भए पनि यसले उही सामाजिक र वैचारिक रूपान्तरणसँग सम्बन्धित मान्यताहरूको उत्पादन मात्र गर्छ भन्ने मान्यता राख्छन्। त्यसो त उनले केही फरक मान्यता पनि राख्दै भनेका छन्: ‘यदि केही फरक प्रभाव वा असर छ भने त्यो आवश्यकता भन्दा पनि रूझानका रूपमा बुझ्नुपर्छ’ (१९८६:१८४)। उनका यी धारणाका आधारमा साक्षरतालाई एउटा तटस्थ प्रविधिकै रूपमा लिनुपर्ने हुन्छ र त्यसलाई सामाजिक वा ऐतिहासिक परिवेशबाट स्वतन्त्र बनाएर हेर्नुपर्छ। तर म भने यस्तो धारणाको विपरीत शिएफ्लिनसँग सहमत छु,जो लेख्छन्, ‘एउटा समुदायले साक्षरतालाई कसरी लिन्छ,यसको विकास कसरी हुन्छ,कुन रूपमा बुझिन्छ र विस्तार हुन्छ? भन्ने कुरा साक्षरता प्रदान गरिने समुदायको दृष्टिकोण, विचारधारा र सन्दर्भमा पूर्ण निर्भर हुन्छ’।

मैलेसाक्षरताका क्रियाकलापहरूलाई सामाजिक, ऐतिहासिक अन्तरसम्बन्धहरूका रूपमा हेरेकी छु। यसै सन्दर्भमा साक्षरताका शाश्वत प्रभावहरूलाई पहिचान गर्न नसकिए पनि यस भित्र अन्तर्निहित जटिलताहरूलाई बुझ्नकै लागि पनि यसको अध्ययन गर्न जरूरी छ। नेपाल र जुनी गाउँमा सन् ८० र ९० का दशकमा देखा परेको द्रुततर आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनका कारण महिला साक्षरता अभियान सहज रूपमा अगाडि बढ्यो। कतिपय सन्दर्भमा महिला साक्षरताकै कारणले आशा गरिएभन्दा भिन्न तरिकाले यी परिवर्तनहरू अझै विस्तारित हुँदै गए, कतिपय अवस्थामा चुनौतीको सामना गरे र समय-समयमा पुन:परिभाषित पनि हुँदै गए। तर, यस्तो परिवर्तनले सधै लाभ नै दियो भन्ने होइन। त्यसैले पनि कुनै परिणामका विषयमा सामान्यीकरण गरिएका विश्वव्यापी मान्यतामा आधारित रहेर मात्र अनुमान गर्न सकिंदैन। गुड्डी (२००१: १) को विचार जस्तै: ‘लेखन शक्ति फरक-फरक समाजमा देखापर्ने विविध खालका सामाजिक परिवेशहरूको गठजोडमा भर पर्छ।’

यहाँ मैले गाउँलेहरूले आफ्ना साक्षरताका सीपहरूलाई प्रेमपत्र लेखनमा प्रयोग गरेको सन्दर्भमा अनुसन्धान गरेकी छु। यसै गरी प्रेमपत्र लेखनको उत्पत्ति र सामाजिक अन्तरसम्बन्धका सवालमा पर्ने असरहरूलाई लैङ्गिक,प्रेम,सामाजिक रूपान्तरण र एजेन्सी (यसलाई मैले सामाजिक-सांस्कृतिक रूपमा सृजित निर्णय गर्ने क्षमता भनेर परिभाषित गरेकी छु।) जस्ता साक्षरताका बृहत धारणाहरूसँग जोड्ने जमर्को गरेकी छु।७ जुनी गाउँको प्रेमपत्र लेखनलाई नजिकबाट विश्लेषण गर्ने हो भने यसले समाजमा भैरहेका सामाजिक रूपान्तरणका सूक्ष्म प्रक्रियाहरूलाई हुबहु प्रष्ट्याएको छ भन्ने मेरो तर्क हो। मेरो वैचारिक अडान यो पनि छ कि यस गाउँको जीवन-शैलीमा भित्रिएको ‘प्रेमपत्र लेखन’जस्तो नौलो अभ्यासले मागी र चोरी विवाहलाई भागी विवाहमा बदल्ने काम त गर्‍यो नै साथमा जीवन र सामाजिक चाल चलनप्रति उनीहरूको दृष्टिकोणमै कतिपय परिवर्तन ल्यायो।

यी प्रेमपत्रहरूले समाजमा द्रुतगतिमा बदलिरहेको वैवाहिक रीति-थीति र संस्कारहरूकाबारे अमूल्य ज्ञान प्रदान गर्नुका साथै समाजमा साक्षरताले ल्याउने परिवर्तनका बारे पनि जानकारी दिन्छन्। गुड्डी (२०००: १५४)का अनुसार साक्षरताले एकातिर थुप्रै नौला अवसरहरूका लागि ढोका खुला गर्दछ भने अर्कातिर अप्रत्यासित अप्ठ्यारा, आकाङ्क्षा र निराशाहरूलाई पनि भित्र्याउँछ। सन् १९९०को दशकमा जुनी गाउँमा बढेको महिला साक्षरता दरले छोराछोरीले आफ्नै पहलमा बिहेबारी गर्ने, प्रेमपत्र लेख्ने तथा केही निश्चित लैङ्गिक विचारधाराहरूलाई थप उर्जा प्रदान गरे पनि महिलाहरूले समाजमा पाउनु पर्ने पदीय जिम्मेवारी तथा दायित्वका अवसरहरू भने न्यून नै रहे। त्यसैले यस अध्ययनले हामीलाई साक्षरता आफैमा तटस्थ र कुनै खास एउटा प्रविधिमा आधारित नभई समुदाय-समुदाय अनुसार फरक-फरक हुने जीवनका विविध अनुभूतिहरूको सँगालो भएको कुरा प्रष्ट्याउँछ।८

प्रेमदेखि विकाससम्म र पुन: प्रेमकै प्रसंग

सन् १९९२ जून महिनामा २१ वर्षीय बीर बहादुरले ९ सरितालाई आफ्नो पहिलो प्रेम पत्रमा निम्न कुराहरू लेखेका थिए: 

सरिता म विवश छु कि त्यो विवशतालाई तिमी समक्ष पुर्‍याउन एउटा कापी र कलमलाई साथी बनाउन परेको छ। प्रेम त्यो वस्तु हुँदो रहेछ जसले गर्दा विश्वका महामानव हिटलर पनि इभासँग प्रेम गर्थे रे। उता World लाई नै एउटै बनाउने साहस लिएर अगाडि बढ्ने नेपोलियनले एउटा विधवा महिलालाई देखेपछि हुरूक्क हुन्थे रे। नित्से जस्ता व्यक्तिले पनि प्रेम प्रेमिकाको लेखलाई इतिहासको पान्नामा रङ्गाउन पुगेका छन्। सरिता म Short Cut मा के कुरा बोध गराउँछु भने प्रेम भन्नु दुई आत्माको मिलन हो। प्रेम गर्नुको main अर्थमा Life Success हो। म तिमीलाई प्रेम निम्तो दिंदैछु।

माथिको प्रेमपत्र लेखिएको ‘समयमा’ वल्लो-पल्लो मगर गाउँका बीरबहादुर र सरिता दुबै तानसेनस्थित एक क्याम्पसमा अध्ययनरत थिए। उनीहरूको देखादेख भने दुई महिना पहिले एकपटक मात्र भएको थियो तर त्यही छोटो भेट नै एक अर्कालाई चिन्ने र परिवार र विवाहको लागि आवश्यक ठानिने योग्यता बुझ्ने एक अवसर बन्‍न पुगेको थियो। दुई महिना पश्चात् बीरबहादुरले प्रेमपत्र पठाए र सरिताले त्यसमा सकारात्मक जवाफ पठाएपछि उनीहरूका बीच नयाँ सम्बन्ध स्थापित भयो।

प्रेमपत्रका माध्ययमद्वारा सृजित यस प्रकारको सम्बन्ध सन् १९९० ताका सम्भव हुनुको एक मात्र कारण गाउँमा बढ्दो महिला साक्षरता नै मान्नुपर्छ। केटा-केटीका बीच एकान्तमा हुने भेटघाट र कुराकानीलाई समाजले उचित नठान्‍ने उक्त समयमा (बहुसंख्यकले बाबु-आमाको आँखा छली भेट्ने पनि गर्दथे) प्रेमपत्र नै एक त्यस्तो माध्यम थियो जसको सहयोगले प्रेमी प्रेमिकाहरू एक अर्कासँग आफ्ना कुरा राख्दथे। प्रेमपत्रले मायालु जोडीहरूका बीच सम्पर्क कायम गराउनुका साथै एक अर्कालाई अझ नजिकबाट चिन्ने मौका प्रदान गर्दथ्यो। प्रेमपत्र लेख्‍नेहरूको छुट्टै पहिचान स्थापित हुन्थ्यो; पढे लेखेका ‘शिक्षित’ र ‘विकसित’ अथवा ठीक विपरीत ‘पिछडिएको’१० व्यक्ति। यीमध्ये ‘विकसित’ वा ‘शिक्षित’हरू आफ्ना जीवनका सहयात्रीहरू आफै खोज्न सक्ने क्षमता भएका मानिन्थे।

सरिता र बीरबहादुर प्रेमपत्रद्वारा सम्बन्ध स्थापित गर्ने गाउँकै पहिलो जोडीहरू मध्येका एक थिए, तर भावनात्मक प्रेम अनुभूति गर्नेहरू मध्येका पहिला भने पक्कै थिएनन्। वास्तवमा जुनी गाउँमा प्रेमका अभिव्यक्तिहरू पुराना लोक गीत, कविता, कथा र दशकौँ पहिला घटेका भागी-विवाहबारेका कथनहरूमा पर्याप्त मात्रामा पाइन्छन्। यद्यपि पुर्खाहरूका प्रेमभन्दा सरिता र बीरबहादुरको प्रेम धेरै हिसाबले फरक थियो। जुनी गाउँमा पुराना पुस्ताका कतिपयले मागी विवाह भन्दा भागी विवाह गरेका कारण एक आपसमा सम्बन्ध गाँस्नका लागि अत्यन्त थोरै समय पाए। कुनै बिहे, पर्व, मेला वा गीतको जमघटमा भएको देखभेटको भोलिपल्ट नै प्राय: जसो उनीहरू भाग्ने गर्दथे।

भागी विवाहका कैयौं घटनाहरू ‘रूमानी प्रेम’का कथा र त्यहाँ देखा पर्ने मायालु जोडीका भावनात्मक सम्बन्धहरूले सृजना गर्दथ्यो तर पुराना पुस्ता र नयाँ पुस्ताका बीच पनि मागी वा भागी विवाहर ‘रूमानी प्रेम’का विषयमा भने फरक-फरक मान्यताहरू रहेको पाइन्छ। विगतमा‘रूमानी प्रेम’लाई लोकलाजका कारण लुकाउनु पर्ने रूपमा लिइन्थ्यो भने सन् १९९० पछि भने विकास तथा आधुनिकताको प्रतीकका रूपमा लिइयो र आधुनिकताको प्रतीकको रूपमा विकसित भएकोले एउटा इच्छित वा जनचाहनाको विषयको रूपमा अगाडि बढ्दै गयो। यस प्रकारको बदलिँदो सामाजिक रीतिस्थितिलाई मैले विस्तृत रूपमाअन्त केलाइ सकेकी छु (अहर्न २००३)।

बीसौं शताव्दीको अन्त्यतिर जुनी गाउँमा भागी विवाहको संख्या क्रमश: बढिरहेको देखिन्छ भने मागी र चोरी विवाहको संख्या घट्दो छ (हेर्नोस् चित्र १)। त्यसपछि विकसित घटनाक्रममा बिहेका लागि छोरी मान्छेको मञ्जुरी लिनु पर्ने दिशातर्फ समाज अघि बढिरहेको देखिन्छ। भिन्न-भिन्न किसिमका विवाहमा केटीको मञ्जुरीलाई विस्तारै तर बढी भन्दा बढी महत्त्व दिन थालेको देखिन्छ।  यस्ता मञ्जुरीहरू फरक प्रकारका विवाहका लागि कस्ता हुन्थे, दुलाहा, दुलही वा अन्य कस्तो महशुस गर्थे र यस्ता मञ्जुरीले समुदायको क्रियाकलाप तथा जिम्मेवारीलाई कसरी असर गर्छ? भन्ने विषयमा अन्तै वेलिविस्तार लगाइसकेकी छु (अहर्न २००१a)।

चित्र १ जुनी गाउँको एक वार्डमा समय अनुसार विवाहमा देखिएका परिवर्तनहरू

साक्षरताका अभ्यास र सम्बन्धित विकासका सङ्कथनहरू

लेखको बाँकी भागमा म जुनी गाउँको प्रेमपत्र लेखनलाई साक्षरता अभ्यासको फराकिलो दायरा भित्र राखेर विश्लेषण गर्ने जमर्को गर्नेछु। यसो गर्दा समुदायभित्र देखापर्ने प्रेम, सफलता,‘एजेन्सी’ र व्यक्तित्वका बारे नयाँ विचारहरूका केही स्रोतहरू भेटिनेछन्।

जुनी गाउँमा सन् १९९० ताका विकासका कुराकानी र छलफलहरू११ पर्याप्त मात्रामा चल्ने गर्थे। पाठ्यपुस्तक, पत्रपत्रिका, उपन्यास, रेडियो नेपालका विकास सम्बन्धी कार्यक्रम, तानसेनमा चल्ने हिन्दी सिनेमा, प्रेमपत्र लेखनका सहयोगी पुस्तक, दैनिक कुराकानीका विषय र साबुनका विज्ञापन तथा नाटकहरूमा विकास सम्बन्धी कुराकानी र छलफलका अंशहरू पाइन्थ्यो तर म भने ‘एजेन्सी’का बारे नयाँ विचारहरू र विकासे छलफलका मुख्य पाठ्य स्रोतमा नै ध्यान केन्द्रित गर्न चाहन्छु। यस सन्दर्भमा मेरो लागि महत्त्वपूर्ण विषय सर्वाधिक पढिने पाठ्य सामग्रीहरूका विश्लेषण नै हुनेछन्। यी पाठ्य सामग्रीभित्रका पाठहरूलाई नजिकबाट नियाल्दा जुनी गाउँका प्रेमपत्रहरूमा देखापर्ने विकास अलङ्कार वा शब्दावलीहरूका सम्भावित स्रोतहरू पत्ता लगाउन सक्छौं।

जुनी गाउँको सर्वोदय माध्यमिक विद्यालय लगायत नेपालका सबै सरकारी विद्यालयहरूले कक्षा १-१० सम्म१२ शिक्षा तथा संस्कृति मन्त्रालयले प्रकाशन गर्ने एकै किसिमको पाठ्य पुस्तकहरू चलाउँछन्। म आफैले पिस कोरमा काम गर्दा यिनै पुस्तकहरू पढाएकी थिएँ। जुनी गाउँका प्रेमपत्र लेखक लेखिकाले साक्षरता सीपहरू यिनै पाठ्य सामग्रीबाट हासिल गरेका हुन्। यी पाठ्य पुस्तकका कथा र तस्वीरहरूले प्रदान गर्ने सार निम्‍न छन्:

राष्ट्रवाद र विकास
उमेर र लैङ्गिक आधारमा देखापर्ने तह (श्रेणी) विभाजन
हिन्दूत्वको प्रधानता १३ ।

राष्ट्रिय पाठ्यपुस्तकहरूका सन्देशले जुनीगाउँको संरचनामा देखा परिरहेको भावनात्मक परिवर्तनहरूलाई महत्त्वपूर्ण प्रभाव पारेको थियो। यसले व्यक्तित्व,‘एजेन्सी’ र सामाजिक श्रेणी जस्ता धारणाहरूका बारे समुदायमा देखा परेको बदलिँदो सोचलाई खास आकार दिने तथा उक्त कुरा प्रतिविम्बित गर्ने दुवै कुरामा सघाएको छ (सिएफ लुक १९९८, सिएफ्लिन २०००)।

जुनी गाउँ र नेपालका अन्य भागमा महिला साक्षरता अभिवृद्धिको लक्ष्यले तयार पारिएको पाठ्य पुस्तक ‘नयाँ गोरेटो’वा अन्य पुस्तकले यस्तै विषयहरू समेटेको पाइन्छ। महिला साक्षरताका लागि प्रयोग हुने यस्ता पुस्तकहरूका पाठ्य सामग्री र तस्वीरहरू औपचारिक शिक्षाका रूपमा प्रयोग हुने सामग्री भन्दा केही फरक छन् तर उस्तै खालका सन्देश दिने विषयवस्तुहरू पनि समेटिएका छन्। सरकारी विद्यालयहरूमा प्रयोग गरिने पाठ्य पुस्तकहरूले झैँ नयाँ गोरेटोले पनि ‘विकसित’ हुनु पर्नेमा जोड दिन्छ तर यी पुस्तकहरूमा जस्तो नेपाली राष्ट्रवाद, हिन्दूवाद, विद्यमान लैङ्गिक एवं उमेरका हिसाबले तहगत विभाजन र संरचनाका उदाहरण र पाठ्य सामग्री भने यसमा पाईँदैन। यसको विपरीत समाजका विद्यमान संरचनाहरूलाई नयाँ गोरेटोले चुनौती समेत दिएको छ। रमाइलो पक्ष के छ भने यी दुवै सामग्रीहरू सरकारी अनुदानबाट प्रकाशित भएका हुन्। जसले प्रकाशनका सवालमा सरकारको एकै नीति नरहेको कुरा स्पष्ट हुन्छ।

फ्रेइरे डिजाइनमा१४आधारित नयाँ गोरेटोको पहिलो पृष्ठमा नै विकासे सन्दर्भ र छलफलहरू तर्फ केन्द्रित विचारहरू छन्। विद्यार्थीहरूका चेतना बढाउनका लागि प्रयोग भएका कार्टुन तस्वीरहरू र त्यसको वर्णन गर्न प्रयोग भएका शव्दावलीले गाउँलेका समस्याहरूलाई सही रूपमा झल्काउँदै जीवन जिउनका लागि नैतिक शिक्षा वा ‘विकास’को सहारा लिन सकिनेमा जोड दिन्छ। यो कुरामा प्रष्ट हुनुपर्छ कि पुस्तकका सामग्रीहरूलाई भिन्न-भिन्न तहमा साक्षर भएका पाठकहरू आफ्नै तरीकाले ग्रहण गर्न सक्छन्। स्वीकार्न, प्रतिरोध गर्न वा अन्य केही।

नयाँ गोरेटोको विचार र सिद्धान्तलाई जुनी गाउँका पाठकहरूले निष्कृय र कुनै प्रश्न नै नगरी चुपचाप ग्रहण गरेको भने अवश्य होइन। त्यसो त गाउँमा विकासे छलफल र कुराकानीका लागि यो एक मात्र स्रोत पनि होइन। त्यसैले यस पुस्तकप्रतिको कसैको खास दृष्टिकोणका बारेमा निर्क्योल निकाल्न अलि कठिन छ। यद्यपि मैले अनुभव गरेकी छु कि कार्टुन चित्रका कथाहरू र त्यसमा पनि विशेष गरी मद्यपानले ग्रस्त लोग्ने मान्छेहरू, बहुविवाहका समस्याहरू र वैवाहिक जीवनप्रति उदासीन भई श्रीमान् छोड्ने निर्णय गर्न पुगेका महिलाहरूका कथालाई उनीहरूले अलि सतर्कतापूर्वक लिने गर्छन् (हेर्नोस् चित्र ३)।

चित्र ३“नयाँ गोरेटो” साक्षरता पाठ्यपुस्तकबाट साभार गरिएको कार्टुन चित्र

जुनी गाउँमा प्रेमपत्र लेखनका क्रममा देखा पर्ने आदर्शका कुरा तथा बहुसंख्यक सामाजिक परिवर्तनहरूको श्रेय नयाँ गोरेटोलाई जान्छ। जसभित्र आत्म-पर्याप्तता(Self-sufficient), कठिन परिश्रम, विकास, सफलता र व्यक्तिगत जिम्मेवारी आदि विषयका वैचारिक सामग्रीहरू समावेश हुन्छन्। सर्वोदय विद्यालयका पाठ्यपुस्तक र कक्षा कोठाहरूमा लगभग यस्तै प्रकृतिका सन्देशहरूको बाहुल्य पाइन्छ। यहाँ थोरै भिन्न विषयहरू देशभक्ति, हिन्दूवाद र भगवानप्रतिको निष्ठामा पनि जोड दिएको पाइन्छ। औपचारिक शिक्षा आर्जन गरेर होस् वा बेलुकीका प्रौंढ शिक्षाका सहायताले होस् जुनी गाउँका बासिन्दाहरू साक्षरताको सहयोगले बढी भन्दा बढी विकास, पूँजीवादी क्रियाकलाप, स्वतन्त्रता र ‘एजेन्सी’का बारे जानकारी लिनका लागि हौंसिएको र उत्साहित भएको पाइन्छ। जेन्नी कुक गम्पेर्ज यस प्रक्रियालाई सही अर्थमा पहिचान गर्दै भन्छिन्,‘साक्षरता एउटा सामाजिक घटना हो, जुन पठनपाठन र अध्ययन-अध्यापनबाट सृजित हुन्छ(१९८६:६)’।

सन् १९९०का दशकमा जुनी गाउँमा सरकारी विद्यालय र महिला साक्षरता कक्षाहरूमा प्रयोग हुने पाठ्य पुस्तकहरू पछि पत्र-पत्रिकाहरू सबैभन्दा लोकप्रिय थिए। यी पत्र पत्रिकाहरूमा मूलत: तीन किसिमका पर्छन्।

फिल्मी पत्रिका: कामना
विकास, शिक्षा र मनोरञ्जनमा केन्द्रित पत्रिकाहरू: देउराली र युवामञ्च
जनजातीय राजनैतिक आन्दोलनलाई समर्थन प्रदान गर्ने प्रकाशनहरू: लाफा र काइरन

जुनी गाउँका बासिन्दाहरू माझ उपलब्ध हुने पाठ्य सामग्रीहरूमध्ये छोटा कथा सङग्रह तथा उपन्यासहरू पनि थिए, तर ती महङ्गा भएकै कारण सीमित गाउँलेहरूले मात्र यस्ता पाठ्य सामग्रीहरू पढ्ने गर्दथे। आकर्षक चित्र र लेखहरूले भरिएका र गाउँलेहरूलाई बुझ्न सरल हुने पत्रपत्रिकाहरूले पनि उनीहरू माझ खासै पकड जमाउन सकेको थिएन। लोक कथाका केही सङ्कलन बाहेक मैले गाउँमा देखेको काल्पनिक विधाको साहित्यमा प्रकाश कोविदको लभ लेटर्स १५नामक उपन्यास नै प्रमुख थियो। अनुसन्धानको क्रममा मैले कुराकानी गरेका पुराना पुस्ताका कुनै पनि मानिसले त्यस अघि सो उपन्यास नपढेको बताए। नयाँ पुस्ताका तन्नेरीहरू माझ भने उक्त किताव धेरै संख्यामा वितरित मात्र भएको थिएन बरू कथाका अंशहरूका वारेमा पनि उनीहरूलाई विस्तृत जानकारी थियो।

कुराकानीको क्रममा जुनीगाउँका अधिकांश प्रेमपत्र लेखक, लेखिकाहरूले आफूहरूको मनले जे भन्छ त्यही कापीमा उतार्ने गरेको कुरा बताए र उपलब्ध प्रेमपत्रका सहयोगी सामग्रीहरू पटक्कै प्रयोग नगर्ने बताए। यद्यपि तानसेन बजारका किताब पसलहरूमा छ्यापछ्याप्ती पाइने प्रेमपत्रका सहयोगी सामग्रीहरूले जुनी गाउँमा आदान-प्रदान हुने प्रेमपत्रहरूलाई प्रतिविम्वित गरेको पाइएकाले केही छोटा अंशहरू भने यहाँ प्रस्तुत नगरिरहन सक्दिनँ।

जब मैले पहिलो पल्ट ‘कसरी प्रेम पत्र लेख्‍ने?’भन्‍ने विषयका पुस्तकहरू नेपाली भाषामा उपलव्ध छन् भन्ने कुरा सुनेँ तब मैले श्रेष्ठ न्युज एजेन्सी (पुस्तक पसल)का एकजना भाइलाई उनीहरूसँग भएका त्यस्ता सबै सामग्रीहरू एक-एक प्रति मागेँ। ‘माफ गर्नु होला, सबै बिक्री भैसके’,ती भाइले जवाफ दिए। करीब दुई हप्ता पछि म फेरि उक्त पसलमा पुग्दा किताबहरू आएर पनि पुन: सबै बिक्री भैसकेका रहेछन्। मेरो तेस्रो पटकको प्रयासमा ती भाइले मलाई चिने र मुस्कुराए; हुनुपर्छ तिनको सोचमा म प्रेम पत्र कसरी लेख्‍ने? भनेर सिक्‍न चाहन्थेँ। फेरि पनि मैले कुनै सहयोगी पुस्तकहरू पाइन। केही महिनापछि त्यही दोकानबाट मैले आरा जोन मोभ्सियनका हाउ टू राइट लभ लेटर्स एण्ड लभ पोएम्स (मोभ्सियन १९९३)’हात पारेँ। यद्यपि कैयन पटकको दोकानको भ्रमणमा हिन्दीका कुनै पनि लोकप्रिय सहयोगी पुस्तकहरू पाइन।१६ काठमाण्डौंका पुस्तक पसलहरूमा मैले अङ्ग्रेजीमा अरू दुईवटा सहयोगी पुस्तकहरू पाएँ जसमा जे एस ब्राइटको लाइभ्ली लभ लेटर्स(ब्राइट, एन डी) र मनोहरको१७लभ लेटर्स(मनोहर, एन डी) थिए।

आफ्नो सहयोगी पुस्तकमा मोभ्सियनले जुनी गाउँका प्रेमपत्रहरूमा देखा पर्ने खालको खास दर्शन वा विचार प्रस्तुत गरेका छन्। यस दर्शनका अनुसार प्रेम जीवनको अत्यन्त महत्त्वपूर्ण पक्ष हो। यसका साथै असाक्षरताका कारण देखा पर्ने पछौटेपना र साक्षर भएपछि देखापर्ने सभ्य र परिष्कृत भावनात्मक सम्बन्धको विकासलाई पनि प्रेम सम्बन्धसँग जोड्ने कोशिश गरिएको छ। मोभ्सियनको पुस्तकको प्रस्तावनाबाट उद्धृत तलको अनुच्छेदले पनि जुनीगाउँका प्रेम पत्रले बोक्ने सन्देश र चरित्रलाई पुष्टि गर्नुका साथसाथै साक्षरताको प्रभावका सम्बन्धमा केही वैचारिक अनुमानहरू गर्न मद्दत गर्छ।

मौंखिक भाषाले आफ्नो प्रेमलाई पहिले भन्दा परिष्कृत ढङ्गले व्यक्त गर्न व्यक्तिविशेषलाई सहयोग पु‍‌र्‍यायो। अर्कातिर लिखित भाषाले प्रेमीहरूलाई झन सशक्त माध्यम दियो। प्रेम प्रकट गर्ने दुई विधाहरूको जन्म भयो–प्रेमपत्र र प्रेम कविता। साक्षर मानिसहरूले शताव्दियौंदेखि आफ्ना आन्तरिक मनका भावना र चाहनाहरूलाई यिनै दुई माध्यमबाट प्रकट गर्ने गरेको पाइन्छ। हेनरी आठौं र नेपोलियनले पनि आफ्ना प्रेमिकाहरूलाई प्रेमपत्रकै माध्यमद्वारा आफ्ना भावना व्यक्त गरेका थिए। प्रेमपत्र लेखनमा ख्याती कमाउने सफल मानिसहरू मध्ये किंवदन्ती लेखक साइरानो डि बेर्जेराक एक हुन्। उनले आफ्ना लागि नभई हितैषी मित्रहरूका निम्ति अनगिन्ती पत्रहरू लेखेका थिए (मोभ्सियन, १९९३: सातौं)।

मोभ्सियनको सहयोगी पुस्तक र सरितालाई बीरबहादुरले लेखेको चिठीमा उही कुराहरू उद्धृत भएको पाइन्छ। मोभ्सियनको पुस्तकको पहिलो पत्र,लभ लेटर्स फ्रम दि पास्ट डिसेम्वर सन् १७९५मा नेपोलियन बोनापार्टले जोसेफिन डि ब्यूहारनाइसलाई लेखेको प्रेमपत्र थियो। यस पत्रको केही अंश तल उल्लेख गरिएको छ।

म तिम्रो बारेमा नानाथरी विचारहरू संगाल्दै व्युँझन्छु। तिम्रो तस्वीर र तिमीसँग बिताएको मदहोशी साँझको कल्पनाले मलाई सताउँछ। मेरी प्यारी र अतुलनीय जोसेफिन, मेरो दिलमा तिमीले कस्तो अचम्मको छाप छाड्यौ! कतै तिमी मसँग रिसाएकी त छैनौ? कतै दु:खी र चिन्तित पो छ्यौ कि? (मोभ्सियन, १९९३:७)

माथि उल्लिखित हरफहरू बज्रबहादुर र शिलादेवीका बीचको चिठी-पत्र आदान-प्रदानमा प्रततिविम्बित भएको पाइन्छ। सन् १९९० को बसन्त ऋतुको समयमा बज्रबहादुरले लेखेका थिए,-‘फेरि पनि यो पत्र पढ्ने क्रममा तिमी रिसाउँछ्यौ होला। तिमीलाई प्रत्येक चोटि देख्दा रिसाएकी नै हुन्छौ। किन हो किन, मैले तिमी कतै हिडिरहेको, रिसाइरहेको देख्छु। के मेरो मुटु टुक्रा-टुक्रा बनाउने?’

उपसंहार

जनसम्बन्धहरूमा आउने परिवर्तनले निश्चित रूपमा मानवीय जीवन पद्धतिमा नै फरक पार्दछ भन्ने गुड्डी (२०००:१५५) को भनाइमा सत्यता लुकेको छ। यस कथनसँग अनेकन प्रश्नहरू उब्जन्छन्, जस्तै– ‘कसरी परिवर्तनहरू आए? यदि आएकै भए कसका लागि? किन? र कस्ता नतिजाहरू सहित?”अर्कातिर सिएफ्लिन (२०००:२९३) ले लेखे झैं, साक्षरताका अभ्यासहरूलाई ग्रहण गर्ने तथा यस प्रक्रियासँग आवद्ध हुने तरिकाहरू भने समाज अनुसार फरक-फरक हुने गर्दछ। सांस्कृतिक र ऐतिहासिक पक्षहरू पनि साक्षरता अभ्यासका महत्त्वपूर्ण कडी हुन्। जुनीगाउँको सन्दर्भमा यो कुरा स्पष्ट छ कि वैचारिक लगाव वा सिद्धान्तलाई साक्षरतासँग छुट्याउन सकिंदैन। १९९० को दशकमा युवा समुदाय खास सामाजिक कारणले साक्षरता वा शिक्षासँग आकर्षित भए किनभने औपचारिक शिक्षालाई ‘आधुनिकता’ तथा ‘विकास’सँग जोडिएको र त्यसलाई विशेष महत्त्व दिइएको थियो।

यस सन्दर्भमा साक्षरतासँग सम्बन्धित कतिपय विज्ञ तथा विद्वान्‌हरूले जुनीगाउँमा बढे जस्तै बढ्ने महिला साक्षरतालाई सकारात्मक रूपमा लिएका छन् र ‘शक्तिविहीनलाई शक्ति दिन्छ’ भन्‍ने मान्यता राख्छन् (गुड्डी २०००:१५८) तर,मेरो अनुसन्धान साक्षरताले सधै शक्ति मात्र प्रदान गर्दैन (लुक, १९९६; स्ट्रिट, २००१) भन्ने मान्यतासँग नजिक छ। यस अर्थमा पनि कि आफूले आर्जन गरेको साक्षरताका सीपहरूलाई प्रेमपत्रमा प्रयोग गरी भागी विहे गर्न पुगेका महिलाहरूले घर राम्रो हुन नसके माइतीबाट सबै प्रकारका समर्थनहरू गुमाएका छन्। आफूले केवल प्रेमपत्रहरूबाट मात्र चिनेको मान्छेले चिठीमा देखिए जस्तो वास्तविक माया नगर्दा वा कडा मिजासकी सासूको बुहार्तन सहन नसक्दा माइतीहरूबाट आवश्यक सहयोग र मध्यस्थता पाएका छैनन् किनभने मागी विवाहलाई अंगीकार नगरी उनीहरूले परिवारको जानकारी र इच्छा विपरीत भागी विवाह गरे। जुनी गाउँमा घटेका केही यस्ता घटनाले साक्षरताका सवालमा यस्तै नकारात्मक अनुभूति पनि दिलाउँछ।

अन्तमा जुनी गाउँका कक्षा-कोठा भित्र र बाहिर प्रयोग हुने पाठ्य सामग्रीहरूले दिने विभिन्न प्रकारका वैचारिक सन्देश तथा केटा केटीहरूले साक्षरताको आफ्नो सीपलाई अनुमान गरेको भन्दा भिन्न ठाउँमा पनि प्रयोग गरिरहेका उदाहरणहरूले हाम्रा आँखाहरू खोल्न सघाएको छ। खासगरी साक्षरता हासिल गर्ने वा लेख्ने-पढ्ने अभ्यासका लागि विशेष तरिकाले सोचिनु पर्ने र खास ठाउँको संस्कृति अनुकूल हुनुपर्ने शिक्षा दिन्छ। केहीले प्रेमपत्रको व्यापक प्रचलन भएका कारण पाठ्य सामग्रीका रूपमा पाठ्यक्रममै प्रेमपत्रलाई राख्‍नु पर्दछ भन्ने तर्क गर्लान् तर मेरो विचारमा यी सब सुझावहरूलाई महिला साक्षरता कक्षाहरूमा भाग लिइरहेका महिलाहरूले ठाडै अस्वीकार गर्नेछन् किनभने उनीहरूले मान्यताप्राप्त ‘वास्तविक शिक्षा’ मागेको पाइन्छ। उनीहरू आफ्ना दाजुभाइ वा परिवारका अन्य पुरूष सदस्यले लिने औपचारिक शिक्षा अन्तर्गतका पाठ्य पुस्तकहरू नै आफूहरूलाई पढाइनु पर्ने र सोही शिक्षण विधिको प्रयोग गर्नुपर्ने मान्यता राख्छन्। वास्तवमा सन् ८० र ९० का दशकमा महिला साक्षरता कक्षाका विद्यार्थीहरूले ‘नयाँ गोरेटो’अन्तर्गतका पाठ्य सामग्रीले प्रदान गर्ने सन्देशहरूलाई ठाडै अस्वीकार गरेका थिए। उनीहरूका दृष्टिकोणमा यी पुस्तकहरूउनीहरूलाई ‘वास्तविक रूपमा शिक्षित’ बनाउने भन्दा अनावश्यक रूपमा चेतना दिलाउने तथा खास सामाजिक अभियानमा सक्रिय बनाउने खालका थिए। औपचारिक शिक्षामा भने उनीहरूले विशेष सामाजिक इज्जत रहेको पाउँथे। साक्षरता सीपहरू हासिल गर्ने यी असमान र फरक बाटाहरूका सन्दर्भमा यहाँ ब्राइन स्ट्रिट(२००१:८) यस्तो टिप्पणी गर्दछन्

साक्षरतामा संलग्न हुनु भनेको आफैमा एउटा सामाजिक गतिविधि हो। शिक्षक,अन्य सहयोगी विद्यार्थी आदिका अन्तर्क्रियालाई नै एउटा सामाजिक अभ्यासका रूपमा लिन सकिन्छ।यस्तो अन्तर्क्रियाले साक्षरता सीपको प्रकृति र साक्षरताका विषयमा नयाँ सहभागीहरूको विचार, यसैसँग जोडिएर आउने शक्ति र सम्बन्धका विषयमा यसैले पनि ‘साक्षरता’ तटस्थ रूपमा प्रदान गर्न सकिन्छ र पछि मात्र त्यसमा ‘सामाजिक’ प्रभावहरू पर्छन् भन्न सकिंदैन।

निस्कर्षमा भन्‍नु पर्दा म यो कुरालाई स्वीकार गर्दछु कि मैले प्रेमपत्रलेखनभित्रको नेपाली साक्षरता अभ्यासका जटिलताहरूलाई केवल सतहगत ढङ्गमा मात्र विश्लेषण गरेकी छु। यद्यपि मैले यी प्रेमपत्रहरू र जुनी गाउँमा उपलब्ध अन्य पाठ्य-सामग्रीहरूमा विद्यमान विकास सम्बन्धी छलफल र विचारहरूका केही पारस्परिक सान्दर्भिकता प्रस्तुत गर्न सकेकी छु भन्‍ने लागेको छ। यसका अतिरिक्त जुनी गाउँको प्रेमपत्र लेखन अभ्यासको ऐतिहासिक र सामाजिक सन्दर्भलाई प्रस्तुत गरेर मैले साक्षरताका सीपहरू नौलो क्षेत्रमा प्रयोग र यस्तो अभ्याससँग सम्बन्धित जटिलताहरूका बारेमा शोधकार्य गरेकी छु। यस शोध मार्फत् मैले साक्षरता हासिल गर्ने सम्बन्धमा सान्दर्भिक विश्लेषण प्रस्तुत गरेकी छु भन्ने आशा गरेकी छु।

('नेपाली त्रैमासिक'को २२६ औं अङ्कबाट लिइएको यस लेखको अनुवाद तथा सम्पादन दीपक अर्यालले गरेका हुन्।)

फुटनोटस्:

१) यस पत्रको प्रारम्भिक संस्करण ‘एशोसिएसन इन्टरनेशनल अफ् लिङ्गविस्टिक्स एप्लिकेशन्स’द्वारा प्रयोगात्मक लिङ्गविस्टिक्सको १३ औं विश्व सम्मेलनका अवसरमा १९ डिसेम्बर २००२, सिंगापुरमा आयोजित साक्षरता सम्बन्धी ‘साक्षरता अनुसन्धानमा विश्वव्यापी र स्थानीय सवालहरू’ नामक विचार गोष्ठीमा प्रस्तुत गरिएको थियो।

२) व्यक्ति, समूह वा समाजमा रहने/देखा पर्ने विश्वास वा मान्यताहरूको समग्र रूप। यो सचेतन वा अचेतन रूपमै देखा पर्छ र यसैका आधारमा व्यक्ति, समूह वा समाजले आ-आफ्ना तर्क तथा धारणा राख्छन् वा सोही अनुरूपको व्यवहार पनि गर्छन्।

३) समाज विज्ञानमा,‘एजेन्सी’ व्यक्तिगत क्षमता हो जसका कारण स्वतन्त्ररूपले काम वा व्यवहार गर्न सक्ने, स्वतन्त्ररूपले रोज्न सक्ने र सोही अनुरूप निर्णय लिनेर काम गर्न सक्ने क्षमतालाई बुझ्न सकिन्छ। तर यस्ता स्वतन्त्रताहरूमाथि संरचना (स्ट्रक्चर)ले प्रभाव पारेको हुन्छ जस्तै: सामाजिक वर्ग, धर्म, लिङ्ग, जात वा चालचलन। यी कारणले कुनै ‘एजेन्ट’ले आफ्नो चाहना वा इच्छा अनुसारको निर्णय गर्न वा काम गर्न सक्दैन वा त्यहाँ केही सीमाहरू निर्धारण हुन पुग्छन्। आफ्नो एजेन्सी भनेको आफ्नो स्वतन्त्र क्षमता/योग्यता हो अथवा आफ्नो इच्छा वा चाहना अनुसार ‘एक्ट’ गर्ने क्षमता र खुवी हो। यस्तो क्षमता आफ्नै सिकाइ, अनुभव वा बुझाइमा भर पर्छ जुन सामाजिक, व्यक्तिगत, पारिवारिक संरचना वा वातावरणमा भर पर्न सक्छ।

४) देसजरलाइस (१९९२: १६४) ले यस्तो मान्यता तिब्बतीयन समुदायमा पनि रहेको कुरा उल्लेख गरेका छन्। यस्तै मान्यता दक्षिण एसियाली अन्य मुलुकमा पनि देखा पर्छन्। दिवाकरूनी (सन् १९९९) ले भारतीय समाजमा आधारित उपन्यास ‘सिस्टर अफ माइ हर्ट’मा ‘मान्छेले जन्मँदा नै आफ्नो निधारमा आफ्नो भाग्य लेखेर आउँछन्’ भन्ने विश्वासलाई उल्लेख गरिएको छ।

५) “structure of feeling” खास ऐतिहासिक क्षण/समयमा आधारित संस्कृति। एउटा पुस्ताले शेयर गर्ने साझा बुझाई, सोचाई वा मुल्य मान्यता तथा। प्रत्येक पुस्ता आफ्नै ‘स्ट्रक्चर अफ फिलिङ’मा जिउँछ वा त्यस्तो ‘फिलिङ’ उत्पादन (जन्माउँछ) गर्छ।

६) विलियम्स (१९७७)।

७) भाषा र एजेन्सीसँग सम्बन्धित सामग्रीहरूको सिंहावलोकनका लागि हेर्नोस् अहर्न (२००१b)।

८) साक्षरता अभ्यासका बारेमा सामग्रीहरू र विशेष गरी नयाँ साक्षरता अध्ययनका बारेमा बुझ्नका लागि हेर्नोस् बार्टोन, र अन्य (२०००), ब्यानह्याम (१९९५), कोल्लिन्स (१९९५) र स्ट्रिट (१९८४, २००१)।

९) मगर लोग्ने मान्छेका लागि ‘बहादुर’ साझा नाम हो, जसको अर्थ ‘साहसी’ हुन आउँछ। यसै गरी ‘कुमारी’ र ‘देवी’ जसले भगवतीलाई जनाउँछ महिलाका लागि प्रयोग हुने नाम हो। अत्यधिक जुनी गाउँका बासिन्दाहरूले मेरो शोध-लेखहरूमा र सार्वजनिक प्रस्तुतिहरूमा उनीहरूले आफ्ना सक्कली नाम खुलाएमा पनि फरक नपर्ने बताए पनि मैले केहीलाई जोगाउने हिसाबमा काल्पनिक नामहरू उल्लेख गरेकी छु। यसै सन्दर्भमा जुनी गाउँ पनि काल्पनिक नाम नै हो।

१०) अखिल गुप्ता (१९९८) टिप्पणी गर्छन् कि उपनिवेशी विचारधाराले दुई विभाजित धारहरूको जन्म गरायो जुन फुक्लडियन दृष्टिकोणमा अनौठो तवरले उपलव्धिमूलक छ, यस मानेमा कि यी धाराहरूले आफूमा निहित समाजशास्त्रको निर्माणमा बल पुर्‍याउँछन् (गुप्ता, १९९८:९)। जुनी गाउँका गाउँलेहरूमा पनि यस्तो विभाजित अवधारणाहरू (विकसित/पिछडिएको वा आधुनिक/परम्परागत) प्रयोग भएको पाइन्छ जसले गुप्‍ताले भन्ने गरेका उपनिवेशी कालका उत्तरार्ध अवस्थाका जटिलता, अमेल अनि विरोधाभासहरूलाई औंल्याउँछन्। स्टेसी पिगले टिप्पणी गरे झैं यस प्रकारको विभाजनले सामाजिक विश्‍लेषणमा सहयोग पुर्‍याए या नपुर्‍याए पनि तथ्य यो हो कि यी शब्दहरू हामीले वर्णन गर्ने र बुझ्ने ठाउँमा व्याप्त छन्। यसैले हाम्रा आधुनिकताका छलफलहरूमा प्रयोगमा आउने शब्दहरूलाई मानिसहरूले ग्रहण, परिमार्जन र प्रश्‍न गर्ने सवालमा पछ्याउँदै जानु पर्ने हुन्छ (पिग १९९६:१६३-४)। यसै गरी आधुनिकता र परम्परागत मूल्य, मान्यतालाई विकसित यूरोपेली संस्कृतिको फराकिलो दायरा भित्र राखेर एउटा सानो अंशको रूपमा कसरी हेर्न सकिन्छ भन्‍नाका लागि हेर्नोस् कोलियर (१९९७:२१३)।

११) विकासका छलफलहरूका लागि हेर्नोस् एस्कोबार (१९९५), ग्रिल्लो र स्टिराट (१९९७), पिग (१९९२,१९९६), शिवरामकृष्णन् (२०००), उस्ट (१९९७)।

१२) प्राय: सबै ठाउँमा विद्यालय स्तरीय पढाइको अन्तिम कक्षा दश नै हो। कुनै कुनै ठाउँमा १०‌‌+२ पनि सञ्चालन गरिएका छन् तर जुनी गाउँमा यस्तो व्यवस्था छैन।

१३) एउटा पृथक सांस्कृतिक परिवेशमा डिक र जेनका पाठ्य पुस्तकहरूका विश्लेषणका लागि हेर्नोस् लुक (१९८८)।

१४) हेर्नोस् फ्रेइरे (१९७२) र फ्रेइरे तथा म्याकेडो (१९८७)।

१५) नेपालीमा प्रेमपत्रले एक वचन र वहुवचन दुवै जनाउँछ।

१६) मलाई नेपाली भाषामा प्रेमपत्र लेखनका लागि कुनै पनि सहयोगी पुस्तक छैनन् भनेर जानकारी दिइयो।

१७) पुस्तकका लेखकले केवल ‘मनोहर’नाम मात्र प्रयोग गरेका छन्।

 

 

 

 

 

प्रतिकृया दिनुहोस