पर्सा: मजदुर- ब्यवस्थापन विवादले नेकोन केबि प्लाष्टो उद्योग बन्द
पर्साको चोर्नी गाविसमा रहेको नेकोन केबि प्लाष्टो ईन्जिनियरिङ ईन्डष्ट्रिज प्रालीमा व्यवस्थापन र मजदुरबीचको विवादले गर्दा उद्योगको उत्पादन नै बन्द भएको छ ।
व्यवस्थापन र मजदुरबीचको विवादका कारण उद्योगको उत्पादन २६ साउनदेखि ठप्प भएको हो ।
कारखाना व्यवस्थापनले विदाको भुक्तानी, बढुवा, स्वास्थ्य परीक्षण, औषधि उपचार, खाना खाने स्थान, कपडा, जुत्ता, ज्याकेट र शौचालय जस्ता आधारभूत मागका सम्बन्धमा पटक पटक सहमति गरेर समेत कार्यान्वयन नगरेकोले आन्दोलित हुनु परेको उद्योगका मजदुर नेता लालबाबु चौरसियाको भनाई छ ।
“उद्योगले दुई वर्ष अघि हामीसँग भएको सम्झौता कार्यान्वयन गरेको छैन,” चौरसियाले भने, “उल्टै मजदुरले पाईराखेको सेवा सुविधामा कटौति गरेकाले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।”
उद्योगमा कार्यरत ३७ जना मजदुरले माग पुरा नभएसम्म काममा नफर्कने अडान लिएका छन् । कमल वेगानीले सञ्चालन गरेको उद्योगको रेखदेख उनकै छोरा अनित वेगानीले गर्दै आएका छन् ।
श्रम कार्यालयका सूचना अधिकारी सुन्दर श्रेष्ठले मजदुरसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएकोले उद्योगमा विवाद देखिएको बताए । श्रम कार्यालयले दुवै पक्षलाई बोलाएर समस्या समाधानका लागि कोशिश गर्ने उनको भनाई छ ।
व्यवस्थापन र मजदुर दुवैले टेरेनन
श्रम कार्यालय, वीरगञ्जले उद्योगका मजदुर र व्यवस्थापन पक्ष दुवैले श्रम कार्यालयको अनादर गरेको जनाएको छ ।
श्रम कार्यालयका निमित्त प्रमुख कारखाना निरीक्षक राधेश्याम झाले उत्पादन बन्द हुने गरी आन्दोलन गर्नु कानून विपरित देखिएकोले मजदुरलाई पत्र काटिएको बताए ।
उनले दुवै पक्षले श्रम कार्यालयको निर्देशन अवज्ञा गरेको बताउँदै भने, “ऐन नियम विपरित गएर सम्झौता गर्ने, अनि समस्या भएपछि श्रम कार्यालयमा आउने ? कारखाना खोलेर वार्तामा आउन भन्दा मजदुरहरु मान्दैनन् । व्यवस्थापन पनि आउँदैन ।”
सुरेश बिडारी, वीरगञ्ज