पुनःनिर्माण कोष परिचालन खाका बनाउन समिति
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माण कोष परिचालनको खाका निर्माण गर्न मुख्यसचिवको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेको समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २ फागुनमा बसेको समितिको बैठकले समितिलाई परिचालनको खाका ल्याउन एक हप्ताको समय दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
“प्राधिकरणमा परेका गुनासाको फछ्र्योटका लागि जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ, जिल्लामा टुङ्गो नलागेका गुनासा प्राधिकरण केन्द्रले हेर्ने र केन्द्रले गरेको निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा उजुरी गर्न सकिन्छ, बैठकले एकीकृत बस्तीको खाका बनाउने निर्णय गरेको छ” उनले भने ।
जोखिममा रहेका बस्ती स्थानान्तरणको खाका पनि तयार पारिने उनले बताए । पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा ठेक्कामा निर्माण गर्दा प्राचीन मौलिकता हराउन सक्ने गुनासो स्थानीयवासीबाट आएकाले ठेक्का नगर्ने निर्णय बैठकले गरेको छ । इँटालगायत निर्माण सामग्री ल्याउन ठेक्का गर्न सकिने भएकाले मिश्रित कार्यविधि बनाएर सम्पदा पुनःनिर्माणको काम गरिने छ । विशेषज्ञको राय सुझावसहित कार्यविधि मन्त्रिपरिषद्मा लगिनेछ ।
पुनःनिर्माणका लागि कर्मचारीको अभाव भएको र स्थायी कर्मचारी ल्याउन अप्ठ्यारो भएकाले पुनःनिर्माण आयोजनाका लागि आवश्यक कर्मचारी करारमा लिन सकिने निर्णय बैठकले गरेको छ ।
पुनःनिर्माणको काम सकिएपछि कर्मचारीलाई बिदा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिनेछ । सर्वेक्षण भइरहेको भूकम्प प्रभावित १७ जिल्लामा पीडितको सूचीअनुसार बढी क्षति भएका स्थानमा कार्यालय स्थापना गर्ने र कम क्षति भएका जिविसमा एकजना समन्वय गर्ने कर्मचारी खटाइने छ ।
भूकम्प अति प्रभावित १४ जिल्लाका गाविस सचिवले भत्ताको माग गरेकाले भूकम्प प्रभावित क्षेत्रको काम गरेका दिन खाजा भत्ता दिने सैद्धान्तिक सहमति बैठकले जुटाएको छ । अर्थ मन्त्रालयसँग सल्लाह गरी यससम्बन्धी ठोस निर्णय गरिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने बाचा गरेका दातृ निकायसँग सम्झौता नगरी आव २०७३र७४ को बजेटमा पुनःनिर्माणको रकम उल्लेख गरिँदा बजेट जुटाउन प्राधिकरणलाई अप्ठ्यारो परेको उनले बताए । रासस