राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षण शुरु
फिलिपिन्समा हुने एएफसी एसियन कप छनौटका लागि टीम नेपालको बन्द प्रशिक्षण शुरु भएको छ । प्रशिक्षण एन्फाको सातदोबाटोस्थित रंगशालामा १ फागुनबाट शुरु भएको हो ।
टीम नेपालका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ३६ खेलाडी छनोट गरे पनि पहिलो दिनको प्रशिक्षणमा भने १० खेलाडी मात्रै सहभागी थिए ।
छनोटमा परेका मध्ये बिमल घर्ती मगर बेल्जियम, अञ्जन विष्ट स्पेन र किरण चेम्जोङ माल्दिभ्समा छन् । मनाङ मस्र्याङ्दीका खेलाडीहरू बंगलादेशमा हुन लागेको शेख कमल कप खेलेर फर्केपछि मात्रै प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
८ फागुनदेखि प्रायः सबै खेलाडी प्रशिक्षणमा सहभागी भइसक्ने टीम नेपालका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिए ।
नेपालको समूहमा फिलिपिन्स, ताजिकिस्तान र यमन परेका छन् । नेपालले पहिलो खेल १५ चैतमा मनिलामा फिलिपिन्ससँग खेल्दैछ ।