राष्ट्रिय महत्वका आयोजनाहरु सरकार आफैले बनाउँछः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न सरकार गम्भीर रहेको बताएका छन् । काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा २९ माघमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको आफ्नो कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए ।
आफू प्रधानमन्त्री बनेदेखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता व्यक्त गरे ।
द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै विगत आठ दिनदेखि अनशनमा बसेका स्थानीयवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनशन तोड्न आग्रह गरे । रासस