असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढी
गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट गर्भपतन सेवा लिएको एक अध्ययनले देखाएको छ ।
वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा० र अमेरिकास्थित गुडमाकर इन्स्टिच्युटद्वारा संयुक्तरुपमा सम्पन्न ‘नेपालमा अनिच्छित गर्भ र गर्भपतन’सम्बन्धी २८ माघमा सार्वजनिक प्रतिवेदनमा सुरक्षित गर्भपतन सेवाभन्दा असुरक्षित सेवा लिनेको सङ्ख्या बढी भेटिएको हो ।
नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे तापनि सन् २००४ देखि मात्र गर्भपतन सेवा सुरु भएको थियो । हालसम्म स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट करिब आठ लाख ५० हजार महिलाले गर्भपतन सेवा उपभोग गरेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा करिब १० लाख ४८ हजार प्रजनन उमेर समूह ९१५ देखि १९ वर्ष० महिला गर्भवती भएका थिए । तीमध्ये करिब तीन लाख २३ हजार महिलाले मात्र गर्भपतन सेवा लिएका अध्ययनबाट देखिएको छ ।
हिमाल, पहाड, मधेस सबै क्षेत्रमा प्रतिनिधित्व हुने गरी २७ जिल्लाका ३८६ स्वास्थ्य संस्थामा सो अध्ययन सम्पन्न गरिएको थियो । सबैभन्दा कम अनिच्छित गर्भपतन सेवा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र सबैभन्दा वढी मध्यमाञ्चल विकास क्षेत्रमा सेवा लिएका अध्ययनको नतिजामा देखिएको छ ।
अध्ययनमा प्रमुख अध्येता डा.महेश पुरीले थोरै बच्चाको चाहना राख्नु, शिक्षाको स्तर माथि हुनु, विवाह उमेर बढी हुनुजस्ता कारण मध्यमाञ्चल विकास क्षेत्रमा अनिच्छित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी रहेको जानकारी दिए । महिलाको मञ्जुरीमा १२ हप्तासम्म गर्भ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा महिलाको जीवन खतरामा पर्न गएमा गर्भपतन गर्न पाइने प्रावधान कानुनमा रहेको छ ।
अर्कोतर्फ गर्भपतन सेवा सुरु भएपछि मातृ मृत्युदरमा समेत घटेको छ । एक अध्ययनका अनुसार सन् १९९५ मा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर ५८० रहेकामा यो सङ्ख्या सन् २०१३ मा आइपुग्दा १९० मा झरेको थियो । मन्त्रालयले हालसम्म एक हजार २०० भन्दा बढी स्वास्थ्य संस्थालाई गर्भपतन सेवा वा गर्भपतनपछिका सेवा दिन स्वीकृति दिइसकेको छ ।
कृपाका निर्देशक आनन्द तामाङले अनिच्छित गर्भपतनलाई रोक्न परिवार नियोजनको पहुँच पु¥याउन, गर्भपतन सेवालाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेकामा जोड दिए । परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले स्वीकृति वा तालिम लिएका व्यक्तिबाट मात्र गर्भपतन गराउन जोड दिँदै आएको र गर्भपतन सेवालाई आगामी दिनमा विस्तार गर्न लागिएको जानकारी दिए । रासस