भूटानी शरणार्थीको अमेरिका पुनर्वास पुनः शुरु
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकारी आदेशपछि १८ माघदेखि स्थगित गरिएको भूटानी शरणार्थीको पुनर्वास २६ माघदेखि पुनः शुरु भएको छ ।
गतसाता उडान अघिको अन्तिम स्वास्थ्य जाँचको दिन दमक बेलडाँगी शरणार्थी शिविर सेक्टर सि ४, घर नं. ३४० की कलिमाया मगरको परिवारको पुनर्वास रोकिएको थियो । ६ जनाको परिवारलाई केहि दिन भित्रै शिविरबाट उडाइने सूचना आएको उनले बताइन । उनले भनिन्, “हाम्रो परिवारलाई आज प्रिमेडिकलमा ल्याइएको छ ।”
पुनर्वास हुने शरणार्थीलाई झापा र मोरङका शिविरबाट उडाइनु एक वा दुई दिन अघि प्रिमेडिकल अर्थात अन्तिम स्वास्थ्य जाँच गर्ने गरिएको छ । उनको परिवार अमरिकाको भरमाउण्ट जाने तयारीमा छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका पस्ने आप्रवासी सम्बन्धीको नीतिमा कडाइ गरेपछि शरणार्थीको अमेरिका पुनर्वास रोकिएको थियो । अमेरिकी एक अदालतले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा रोक लगाएपछि शरणार्थीको पुर्नवास सुरु गरिएको जनाएको छ ।
आठ वर्षदेखि चालु भुटानी शरणार्थीको पुनर्वासपछि झापा र मोरङका शिविरमा रहेका ११ हजार एकसय ८५ भूटानी शरणार्थी मध्ये करिब एकहजार पाँचसय जना केहि महिना भित्रै अमेरिका जाने प्रक्रियामा रहेको अधिकारीहरुले बताएका छन् ।
यसअघि पुनर्वास भएका एकलाख ७ हजार ९४९ भूटानी शरणार्थी मध्ये ९१ हजार ८०३ जना अमेरिकामा पुनर्वास भएका छन् । बाँकी शरणार्थीहरु क्यानाडा, नर्वे, न्यूजिल्याण्ड, नेदरल्याण्ड, बेलायत, डेनमार्क र अष्टेलिया पुनर्वास भएका छन् ।
गोपाल गडतौला, झापा