सहमतिपछि निर्वाचनको मिति घोषणा हुन्छ: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले २६ माघमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख वा जेठमा निर्वाचन हुने जनाउदै मिति भने मधेसी मोर्चासहित अन्य दलसँगको सहमतिपछि मात्र तय गरिने बताए ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको उल्लेख गर्दै उनले यो नै मिति तोक्नुसरह भएको बताए । प्रधानमन्त्री दाहालले भने “मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।”
संविधान संशोधन विधेयक पारित गराउने पहिलो कोसिस हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्को प्रयास थालिने बताए । स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै उनले भने “निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी छैन ।”
थ्रेसहोल्डसम्बन्धी ऐन अहिले आवश्यक नरहेको बताए । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रिपरिषद्ले १५ दिनको समयसमेत दिइसकेको पनि उनको भनाइ थियो । सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको बताए ।रासस