कला/साहित्यमंगलवार, माघ २५, २०७३

नेपाल–भारत सम्बन्धको ऐना (पुस्तक समिक्षा)

रामेश्वर बोहरा

पुस्तकः नेपाल भारत सम्बन्धः विगत, वर्तमान र भविष्य
सम्पादकः डा. विजयकुमार पौडेल
प्रकाशकः माइलस्टोन प्रकाशन तथा प्रसारण प्रालि
पृष्ठः २८६+८, मूल्य रु. ५२५

परम्परादेखि 'विशेष सम्बन्ध' मा रहिआएको भनिएको नेपाल–भारतबीच समय–समयमा किन चिसोपन देखिन्छ? डेढ वर्षयता नेपालमा मात्र होइन, भारतमा समेत बौद्धिक विमर्शको स्थान ओगटिरहेको यो प्रश्नको सोझो उत्तर भेट्टाउन सहज छैन। खासगरी संविधानसभाले जारी गरेको नेपालको संविधानलाई लिएर दक्षिणी छिमेकी अमानवीय नाकाबन्दीको हदमा ओर्लिएपछि द्विपक्षीय सम्बन्धबारेको बहस चुलीमा छ। डा. विजयकुमार पौडेल सम्पादित पुस्तक नेपाल–भारत सम्बन्ध : विगत, वर्तमान र भविष्य त्यसकै पछिल्लो कडी हो।

नाकाबन्दी सिर्जित तरंगका कारण पनि हुन सक्छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भनेकै भारतसँगको सम्बन्ध भन्ने बुझाइ व्याप्त छ। कतिसम्म भने, सरकारको कूटनीतिक प्राथमिकता पनि यतिखेर भारतमै केन्द्रित हुनपुगेको छ। त्यसो त द्विपक्षीय कूटनीतिक सम्बन्ध, राजनीतिक सम्बन्ध र व्यवहार तथा सांस्कृतिक, भाषिक र भौगोलिक निकटता सँगसँगै आर्थिक निर्भरताका कारणले पनि यसो हुनु अस्वाभाविक नहोला।

नेपाल–भारत सम्बन्धलाई राजनीतिक लाभहानिको हिसाबले मात्र 'डिल' गर्ने गरिएको र सरकारपिच्छेको परराष्ट्र सम्बन्ध त्यसबाटै निर्देशित भइरहेको पृष्ठभूमिमा यो पुस्तकले नेपाल–भारत सम्बन्धका कतिपय ऐतिहासिक पाटा उजागर गर्ने प्रयास गरेको छ। यस्ता पाटामाथि थोरै मात्र विचार पुर्‍याउने हो भने पनि मुलुकको परराष्ट्र सम्बन्धले एउटा मार्ग तय गर्न सक्छ। देशभित्र 'राष्ट्रवाद' को जबर्जस्त हावा वहन थालेको र राजनीतिमा नै 'भारत परस्त' या 'भारत विरोधी' कित्ताकाट देखापरेको बेला पुस्तकले त्यसबारे तथ्यपरक बौद्धिक बहस गर्ने प्रयास गरेको छ।

दुई देशको 'विशेष' सम्बन्धमा देखिने समस्यामा भारतको 'ठूल्दाइ' सोच र व्यवहार सँगै हाम्रा आफ्नै नीति, आचरण र व्यवहार पनि जिम्मेवार छन् भन्ने पुस्तकको तर्क छ। सम्बन्धमा देखिएका समस्या र तिनका कारण खोतल्ने जमर्को नै पुस्तकको अभीष्ट देखिन्छ। पुस्तकमा समाविष्ट नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका संस्मरणात्मक आलेखले नेपाल–भारत सम्बन्धका २००७ सालदेखिका आरोह–अवरोह बुझ्न सघाउँछन्। यसबाट भारतको अमानवीय नाकाबन्दीको पछिल्लो घटनाक्रम अस्वाभाविक र अप्रत्यासित थिएन भन्ने पनि छर्लङ्ग पार्छ। पञ्चायतविरुद्ध 'सशस्त्र क्रान्ति' को तयारी गर्दा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आश्वासनमा परेर बर्बादी बेहोरेको भन्ने बीपीको अनुभवले पनि भारतीय नियत स्पष्ट पार्छ।

नेपाल हेराइमा बेलायती उपनिवेशकालीन नीति र व्यवहारकै निरन्तरतामा देखिएको भारतीय राजनीतिक नेतृत्व पछिल्लो समय अझ एक कदम अघि बढेको पुस्तकको ठहर छ। नेपाली राजनीतिको 'सूक्ष्म व्यवस्थापन' गर्ने भारतको पछिल्लो चाहना र सक्रियतालाई पुनर्पुष्टि गर्ने गरी पुस्तकमा समेटिएका प्रसंग महत्वपूर्ण छन्। पुस्तकमा पूर्व प्रधानमन्त्रीहरू कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य २० जना नेता, परराष्ट्र सम्बन्धका जानकार तथा भारतीय पत्रकारका समेत आलेख संग्रहित छन्। यी आलेख अध्ययन गर्दा नेपाल–भारत सम्बन्धबारे सबैजसो प्रमुख दलका नेता र विभिन्न क्षेत्रका विज्ञहरूको धारणा समान भेटिन्छ। समस्याका कारण र त्यसको समाधानबारे पनि सबैजसो एकमत देखिन्छन्। यसबाट लाग्छ, नेपाल–भारत सम्बन्ध नीतिबारे राष्ट्रिय सहमति कायम गर्न कुनै समस्या नै छैन। तर, व्यवहारमा भने मतैक्यता हुनै नसकेको तीतो अनुभव हामीसँग छ। यसको कारण के हो? यो प्रश्नको उत्तर खोतल्न भने पुस्तक चुकेको छ।

भारतको नाकाबन्दीपछि खासगरी केपी ओली नेतृत्वको सरकारले लिएको अडानलाई 'राष्ट्रवादी' मान्नेहरूको पंक्ति ठूलो छ। अर्को छिमेकी चीनसँग व्यापार तथा पारवहनलगायतका सम्झौता गर्ने ओली सरकारको पहल भारतसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास थियो। पुस्तकले ओलीको यस्तो अडानलाई 'राष्ट्र बाँच्ने आधार' का रुपमा चित्रित गरेको छ। “राष्ट्र बाँच्ने उसको अडानका कारणले हो। सही अडान भयो भने केही समय दुःख हुन सक्छ, तर राष्ट्र जोगिन्छ”, पुस्तकमा उल्लेख छ, “ठूला राज्य/राष्ट्रहरूले साना राज्य/राष्ट्रहरूलाई दबाउने वा स्वतन्त्रता नै हडप्ने नगरेका होइनन्, तर आफ्नो देशका पक्षमा दह्रोसँग उभिनेहरूले गुमेको स्वतन्त्रता पनि फिर्ता लिएका छन्।”

करीब सात दशकदेखि नेपाल–भारतबीचको सम्बन्ध समस्याग्रस्त रहिरहनुमा प्रमुख भूमिका भारतकै रहेकोमा द्विविधा छैन। भारतीय शासकवर्गको नेपाललाई हेर्ने नीति, दृष्टिकोण र व्यवहार त्यसमा मूल रुपमा जिम्मेवार छन्। यसमा नेपालका तर्फबाट भएका कमजोरी समेट्ने प्रयास गरिए पनि अझ स्पष्ट पार्न नसक्नु पुस्तकको कमजोर पक्ष हो। सम्पादक वामपन्थी 'स्कूलिङ' बाट आएकाले सम्बन्ध सुधारका लागि पस्किएका विकल्पमा पनि वामपन्थी दृष्टिकोण हावी देखिनु अस्वाभाविक होइन। 'समानतामा आधारित एकअर्काप्रतिको सम्मानका आधारमा मात्रै समस्यारहित नेपाल–भारत सम्बन्ध कायम गर्न सकिने' पुस्तकको निचोड भने अहिलेको यथार्थ हो। कतिपय दृष्टिकोण परम्परागत र 'राष्ट्रवाद' को मान्यताबाट निर्देशित देखिए पनि नेपाल–भारत सम्बन्ध र यसका उतारचढाव बुझ्न चाहनेहरूका लागि पुस्तक गतिलो आधार बन्न सक्छ।

 

प्रतिकृया दिनुहोस