बाघको आक्रमणबाट चार प्रहरीसहित ९ जना घाइते
पर्सा वन्यजन्तु आरक्षबाट गाउँ पसेको बाघको आक्रमणबाट चार प्रहरीसहित ९ जना घाइते भएका छन् ।
घाईते हुनेमा ईलाका प्रहरी कार्यालय, पोखरीयाका प्रहरी निरीक्षक चक्रराज साह, प्रहरी जवान बेद बहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक अरुण कुमार झा, प्रहरी हवल्दार दिपेन्द्र प्रसाद यादव रहेका छन् । त्यस्तै लखनपुर गाविस–९ का १८ वर्षिय मोतिलाल यादव, ४८ वर्षिय महेन्द्र सहनी, ४६ वर्षिय आसमान कुर्मी, तुफान पटेल र रामनगरीका रघुविर साह घाइते भएका छन् ।
मोतिलाल यादव र रघुविर साह गम्भीर घाइते रहेको नारायणी उप–क्षेत्रिय अस्पतालले जनाएको छ । गम्भीर घाईतेसहित प्रहरी निरीक्षक साह र प्रहरी सहायक निरिक्षक यादवलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ पठाउन लागेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशिले बताए । अन्य घाईतेहरुको वीरगंजस्थित नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगंज हेल्थ केयर र नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
महुवनमा बाघ आएर स्थानिय बासिन्दालाइ आक्रमण गरिरहेको खबर पाएपछि दिउसो साढे २ बजे ईलाका प्रहरी कार्यालय, पोखरीया र प्रहरी चौकी, महुवनको संयुक्त टोलीले लखनपुरको एकडर्वा टोलमा पुगेको थियो । बाघ धपाउन पुगेको प्रहरी टोलीले नभेटाएपछि आराम गरिरहेको बेलामा आक्रमण गरेको जनाएको छ ।
घाईते प्रहरी जवान बेद बहादुर श्रेष्ठले बाघले आक्रमण गर्दा प्रहरी निरीक्षक साहले पेस्तोलबाट दुई राउण्ड गोली पनि हानेका थिए । गोली नलागेपछि बाघले साहको हातमा आक्रमण गरेको र आफूले पनि हान्न खोज्दा राइफल नपड्केको उनले बताए । राईफल नपड्केपछि आफूमाथि पनि आक्रमण गरेको उनले जानकारी दिए । उनी लडेपछि अन्य गाउँलेमाथि आक्रमण गर्न गएको थियो ।
त्यसपछि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, श्रीपुरको टोलील्े बाघ मारेको छ । गोली हानेर मारेको बाघ पर्सा वन्यजन्तु आरक्षलाई बुझाएको छ ।
जियालाल साह, पर्सा