‘राष्ट्रिय अखण्डता बिथोल्न खोजे सरकार चुप बस्दैन’
उपप्रधान मन्त्री विमलेन्द्र निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई विथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, धनुषाको नवनिर्मित भवनको २४ माघमा उद्घाटन गर्दै गृहमन्त्री निधिले हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावना विपरीत प्रतिगमनकारी, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत रहेकाले सोप्रति सजग हुनु जरूरी भएको बताए । उनले संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी वर्ष ७ माघसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने औँल्याए ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि र आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताए । रासस