यसरी लखेटेर समातिए कोसीटप्पुमा अर्ना
कमल रिमाल, सुनसरी (तस्वीरहरु पनि)
अर्नालाई लखेटेर थकाएपछि समातेलगत्तै कोसीटप्पु वन्य जन्तु आरक्षभित्र अर्को अर्नाको खोजीमा निस्कएका तिलेश्वर यादव । २१ माघको दिउँसो अर्नाको पछि पछि मोटरसाइकल हुइकाएका उनलाई थाकेको अर्र्नाले उल्टै लखेट्यो ।
फेरी त्यही अर्नाको पछि पछि मोटरसाइकल हुइकाएका उनले समात्न भ्याए । थाकेको अर्ना लडेपछि तिलेश्वर मोटरसाइकल छोडेर त्यसैमाथि चढे । लगत्तै अर्को टोली पुगेर अर्नालाई च्याप्यो । त्यही अर्नालाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।
इनरुवा–३ सुनसरीका स्थानीय बासिन्दाले यसरी नै ५ अर्नालाई लखेटेर नै समाते । थप ८ अर्नालाई डार्ट गरेर (बेहोस गर्ने औषधि बन्दुकले हानेर) नियन्त्रणमा लिइएको हो । ति सबै १३ अर्नालाई चितवन स्थानान्तरण गरिएको छ ।
अर्ना स्थानान्तरणका लागि कोसीटप्पु पुगेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत सन्तोष भट्टराईले १६ अर्ना चितवन लगिने बताए । चार अर्ना भने काठमाडौस्थिन चिडियाखानाबाट ल्याएर चितवनमा २० अर्ना पुगाइने जनाएको छ । कोसीटप्पुको एक भाले अर्ना चिडियाखाना लगिने छ । कोसीटप्पुमा ४३२ अर्ना रहेको आरक्षले जनाएको छ ।