चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण
कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ ।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
एउटा भाले अर्ना चिडियाखानाबाट २४ माघमा निकुञ्ज ल्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए । योसँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ ।
पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसीबाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञसहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा खटाइएको छ ।
निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडियाखानाबाट ल्याउने तयारी गरेको अर्र्यालले जानकारी दिए । “पहिलो चरणमा कोसीबाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्यालले भने – बाँकी पाँच अर्ना भने पछि अनुकूल समयमा ल्याइने छ ।”
विसं २०७१ मा नै सरकारले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो ।
कोसीबाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । रासस