वीरगन्ज शिशु बेपत्ता प्रकरणः यस्तो रहेछ चोरीको कारण
वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालबाट चोरी भएको शिशुु ४८ घण्टाभित्रै पर्साको बेलवाबाट फेला परेको छ । प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले उक्त शिशुको उद्धार गरी नारायणी उप–क्षेत्रीय अस्पतालमा राखेको छ । वीरगंज उप–महानगरपालिका छपकैया १ का मुकेश पासवान र आशा देविको छोरो २१ माघ विहान १०ः४८ बजे जन्मेको केही घण्टा मै चोरी भएको थियो ।
२० माघमा अस्पतालमा भर्ना भएकी आशा देबीले भोलिपल्ट विहान छोरा जन्माईन् । शिशु जन्मेपछि गाईनो वार्डमा डाक्टर र नर्सको सल्लाहमा अस्पतालका कर्मचारीहरुले प्रसुति वार्डको गाईनो बेडमा सिफ्ट भएकी थिईन् । रक्तस्राव बढेपछि उपचार गराउन प्रसुति वार्डमा लगेको केहीकेही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले करिब २ः२० बजे शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन ।
शिशुचोरी भएपछि अस्पताल परिसर घेराउ गर्ने, अस्पताल अगाडि सवारी साधन अवरुद्ध गर्दै आफन्तजनले प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । शिशुलाई पर्सा सिक्टाकी २७ वर्षीया लालसा देवी साहले चोरी गरी बेलवा, मिलनचो स्थित आफ्ना बुवा विन्देश्वर साह कानुको घरमा लुकाइ राखेको अवस्थामा उद्धार गरिएको प्रहरी उपरिक्षक साहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लालसा देवी विवाह भएको ५ वर्ष भए पनि हालसम्म सन्तान नभएकाले एक महिना देखी नारायणी अस्पतालमा मौका हेरिरहेको प्रहरी उपरिक्षक साहले बताए ।
उद्धार गरिएका शिशु अहिले शकुसल छन् ।
जियालाल साह, वीरगंज