'वैशाख भित्रमा स्थानीय निर्वाचन नगरे मुलुक सङ्कटमा'
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सबै दललाई एकजुट हुन आग्रह गरेका छन् । २३ माघमा बासेश्वर गाविस– १ देउरालीटारमा स्व वासुदेव श्रेष्ठको शालिक अनावरण कार्यक्रममा नेता नेपालले संविधान कार्यान्वयन नभएमा मुलुक पहिलाकै अवस्थामा फर्कने बताए ।
संविधान कार्यान्वयनको एउटा मात्र विकल्प निर्वाचन भएको नेता नेपालको भनाइ थियो । ७ माघ २०७४ माघ भित्रतीनवटै निकायको निर्वाचन सम्पन्न गरी ८ माघमा नयाँ सरकार बनाएर संविधान कार्यान्वयन गर्नुपर्नेमा नेता नेपालले जोड दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले वैशाख महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न नगरे मुलुक सङ्कटमा पर्ने बताए । “एकताबद्ध भएर बसेका नेपालीलाई अहिले जातीय रुपमा फुटाउने षड्यन्त्र भइरहेकाले यसप्रति सबै सचेत हुनु जरुरी छ,”– उनले भने । स्थानीय स्रोत र साधनको सही ढङ्गले सदुपयोग गर्नसकेमा मात्र नागरिकको आर्थिक समृद्धिको सपना साकार हुने उनले बताए ।रासस