भारतीय मुद्राबन्दीले नेपाललाई असर पारेनः विज्ञहरु
भारतीय मुद्राको प्रभावका कारण नेपालमा खासै असर नपारेको सरोकारवालाले बताएका छन् ।
प्रेसिडेन्टल विजनेस स्कुलले आयोजना गरेको ‘भारतीय मुद्राको प्रभाव र नेपालमा असर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले मुद्राबन्दीका कारण नेपालमा सीमाक्षेत्रमा केही असर पारे पनि ठूलै हलचल ल्याउने खालको प्रभाव नपारेको स्पष्ट पारेका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भारतीय पाँचसय र हजारका नोटको प्रतिबन्धले बाहिर बजारमा आएको हल्लाजस्तो प्रभाव नभएको बताए । उनले भारतीय सीमा बजारमा केही प्रभाव पारेपनि नेपालको समग्र मौद्रिक क्षेत्रमा केही असर नपारेको प्रष्ट पार्दै नोटको प्रतिबन्धले हुन्डीजस्ता कारोबारलाई निरुत्साहित गरेको धारणा राखे ।
“नोट प्रतिबन्धका कारण भारतीय व्यापारीसँग नेपालीले अब नेपाली रुपैयाँमा नै कारोबार गर्नुपर्दछ भन्ने चेत खुलेको छ” उनले भने, “रुपियाँको सट्टा अब ‘कार्ड’ मार्फत् कारोबार गर्नुपर्दछ ।” डेपुटी गभर्नर शिवाकोटीले भारतीय नोटमा प्रतिबन्धपछि एक अर्बको भारतीय नोट राष्ट्र बैंकले ल्याइसकेको बताउँदै थप एक अर्ब ल्याउने प्रयास जारी रहेको जानकारी गराए ।
कार्यक्रममा बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले भारतले एक्कासी मौद्रिक नीतिमा परिवर्तन गरेर आफ्नो मुद्राप्रति अविश्वास ल्याउने काम गरेको धारणा राखे । उनले पनि भारतीय मौद्रिक नीतिमा परिवर्तन हुँदा नेपाली बजारमा कुनै हलचल नल्याएको दाबी गरे ।
“हामीले पनि रु एक र दुईका नोट हटाएका छौं”– उनले भने, “तर कुनै हल्लीखल्ली गरेनौँ । तर भारतले आकस्मिकरुपमा पाँचसय र हजारका नोट प्रतिबन्ध लगायो । यो राम्रो होइन । दक्षिण एसियामा भारतीय मुद्राको विश्वास खस्केको छ ।” उनले भारतीयसँग कारोबार गर्दा अब इलेक्ट्रोनिक प्रणालीबाट कारोबार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भारतीय मौद्रिक नीतिमा परिवर्तनले नेपालमा खासै प्रभाव नपारे पनि अब भारतसँग कारोबार गर्दा सचेत हुनुपर्ने बताए । रासस