राष्ट्रपतिद्वारा पूर्वाधार निर्माण चाँडै सक्न आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा जारी पूर्वाधार निर्माणका काम चांडो सम्पन्न गर्न आग्रह गरेकी छन् ।
आज, २२ माघमा रुपन्देही रुद्रपुरस्थित हरैया माविको स्वर्ण महोत्सव समारोहलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना पूर्ण रुपमा कार्यन्वयन नहुंदा पर्यटन प्रवर्द्धन र यस भेगका जनता लाभान्वित हुन नसकेको बताइन् ।
“बुद्ध सर्किट, अन्तराष्ट्रिय विमानस्थल लगायतका संरचना चांडो सम्पन्न हुंदा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्धनमा टेवा पुग्ने भएकाले यसतर्फ सम्बन्धित पक्षको ध्यान पुग्न जरुरी छ,” उनले भनिन् ।
अर्को एक प्रसंगमा राष्ट्रपति भण्डारीले राष्ट्रिय विकासको मूल आधार शिक्षा भएकाले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएकी थिइन् ।