निर्वाचनको तयारीका लागि बाटो खुल्यो: प्रमुख आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारको निर्णयबाट आयोगका लागि निर्वाचनको तयारी गर्ने बाटो खुलेको बताएका छन्।
रिपोर्टर्स क्लब ले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने, "हिजो बसेको मन्त्रिपरिषदको निर्णयले हामीलाई निर्वाचनको लागि तयारी गर्न बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौं।"
यद्यपी उनले सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले आशा जगाए पनि त्यतिले पर्याप्त नहुने उनको बताए ।"सरकारले पठाएको पत्रले टुकी बाल्ने काम भएको छ । तर उज्यालो दिने गरी बल्न पाएको छैन ।"
आयोग जेठ भरमा चुनाव गराउन प्रतिबद्ध रहेको भन्दै प्रमुख आयुक्त यादवले चुनाव सम्बन्धी बाँकी काम तत्काल गर्न दलहरु र सरकारलाई आग्रह पनि गरेका छन् ।
यादवले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु दुःखद भएको टिप्पणी पनि गरे।
निर्वाचन आयोग चुनावको तयारीमा जुटिसकेकोले सरकारले भनेकै मितिमा चुनाव गर्न सकिने उनले बताए ।
उनले निर्वाचनको लागि दलहरुवीच समझदारी बन्नुपर्ने आवश्यकत्ता औंल्याउँदै अब जेठभन्दा अर्को विकल्प नहुने समेत बताए।
यादवले स्थानीय निर्वाचन एकैदिनमा सम्भव नभएकोले दुई वा तीन चरणमा चुनाव गरिने जानकारी दिए ।