तालाबन्दीपछि केयू गेटमा नै पढाइ
काठमाडौँ विश्वविद्यालय (केयू) मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले विश्वविद्यालयको मूलद्वारामा बसेर पढाइ गरेका छन् ।
स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले तालबन्दीको साङ्केतिक विरोध गर्दै एक घन्टा केयु गेटमा अध्ययन गरेका हुन् । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए ।
"पठनपाठन अवरुद्ध भएपछि चाँडै सञ्चालन होस् भन्ने सन्देश दिन खोजेका हौँ," बायोटेक्निकल चौँथो वर्षमा अध्ययनरत रुपक पराजुलीले भने ।
केयुका रजिष्टार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा तालाबन्दी नखुलेको बताए ।
काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाए । तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको हो।
तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन् । माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो ।
रासस