ब्लगबिहिवार, माघ २०, २०७३

बुज्रुग पत्रकार पन्नालाल गुप्त

बच्चु विक

तस्वीर: सन्तोष रेग्मी

नेपाली तथा हिन्दी पत्रिकामा प्यारोडी लेख्ने युवक पन्नालाल गुप्तले पत्रकार हुँला भन्ने सोचेकै थिएनन्। रमाइलोका लागि प्यारोडी लेख्ने गुप्तलाई पत्रकारिताले यसरी बाँधेर राख्यो कि पछि यो पेशा र जिम्मेवारी बन्यो। “समाजप्रतिको जिम्मेवारीले यताउता जानै दिएन”, गुप्त भन्छन्। 

नेपालगञ्जको रानी तलाउका गुप्त हिन्दी पत्रिकाहरुमा प्यारोडी लेख्थे, २००७ सालअघि। प्रजातन्त्र स्थापनापछि नेपालमा पनि पत्रपत्रिका खुले र नेपालीमा पनि लेख्न थाले। २०११ सालमा नेपालगञ्जमै हिन्दी भाषाको पत्रिका अनुराधा स्थापना भएपछि त्यसैमा काम गर्न थाले। अहिले पनि उनी नेपालगञ्जमै क्रियाशील छन्, किरण साप्ताहिकको सम्पादकको रुपमा।

'चाचाजी' बनाउने मुद्दा
पत्रकार भएपछि केही वर्ष फुक्काफाल भएर लेख्न पाए, उनले। त्यो समय थियो, २०१७ सम्मको। पञ्चायती व्यवस्थाको शुरुआतसँगै भने दुःखका दिन शुरु भए। समाचार लेख्दा पटक–पटक मुद्दा झोले। एक पटक 'श्री ५ को सरकार' को सट्टा 'श्री ५ सरकार' लेखिएको पत्रिका बजार गएपछि उनी थुनामा परे।

एक पटक राजाको विरोध गरेको समाचार लेख्दा सात वर्ष राजद्रोहको मुद्दा खेपे। स्थानीय प्रशासनलाई स्पष्टीकरण त कति हो कति। २०४६ सम्म यो क्रम चालू रह्यो। तर, उनको पेशागत जुझारुपन कहिल्यै भुत्ते भएन।

८८औं जन्मदिन मनाउँदै पन्नालाल।

हिन्दी अनुराधा मासिकबाट शुरु भएको उनको पत्रकारिता नेपाली मातृभूमि साप्ताहिकमा फैलियो। उनका दाजु महावीरप्रसाद गुप्ता मातृभूमिका सम्पादक थिए। २० वर्ष दाजुको सहायक भएर काम गरेका उनले २०३१ सालमा किरण दर्ता गराए।

२०३७ मा महावीरप्रसाद गुप्ता नेपालगञ्ज नगरप्रमुख बनेपछि मातृभूमि को सम्पादन र प्रकाशनको जिम्मा उनकै काँधमा आयो।

२०४६ को जनआन्दोलन, त्यसपछिको सशस्त्र माओवादी विद्रोह र २०६२/६३ को जनआन्दोलनमा पन्नालाल गुप्त सम्झनलायक रिपोर्टिङमै खटिए। उनी ८८औं जन्मदिन मनाउँदासम्म समाचार लेखन र सम्पादनकै दुनियाँमा छन्।

जस्तोसुकै अवस्थामा पनि निर्भीक भएर निरन्तर पत्रकारितामा सक्रिय गुप्त मध्य र सुदूरपश्चिम क्षेत्रमा अनुकरणीय व्यक्तित्व बनेका छन्, 'चाचाजी' को रुपमा। यो ख्यातिमा उनको ६२ वर्ष लगानी भएको छ।

अच्छा सम्पादक

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता सेनानी सम्मान र प्रेस काउन्सिलको गोपालदास पत्रकारिता पुरस्कार पाइसकेका पन्नालाल गुप्तले यस्ता थुप्रै सम्मान/पुरस्कार पाएका मात्र नभई बाँकेमा उनकै नामबाट पनि पुरस्कार स्थापना भएको छ– 'चाचाजी पत्रकारिता पुरस्कार।'

उनको जीवनीमा आधारित वृत्तचित्र पनि छ– 'चाचाजी'। वृत्तचित्र निर्माता सन्तोष रेग्मी गुप्तलाई नेपाली पत्रकारिताको एक युग मान्छन्। “त्यसैले चाचाजीको योगदानको 'डकुमेन्टेसन' गर्ने प्रयास गरेको हुँ”, रेग्मी भन्छन्, “वृत्तचित्रबाट संकलित रकमबाट उहाँकै नाममा अक्षयकोष स्थापना गर्छौं।”

पञ्चायतकालमा सबैले गुप्तलाई 'दाइ' भनेर सम्बोधन गर्थे, त्यसपछिको पुस्ताले चाचाजी भन्न थाले। अहिले उनीसँगै पत्रकारिता गरिरहेको चौथो पुस्ताले पनि 'चाचाजी' भनेरै सम्बोधन गर्छन्। अरु क्षेत्रमा क्रियाशील, छरछिमेकी र आफन्तजनले पनि उनलाई 'चाचाजी' नै भन्छन्। चाचाजीलाई यो सम्बोधन मन पनि परेको छ।

२२ पुसमा दुर्घटनामा परेका 'चाचाजी' अहिले पहिलेजस्तो दौडधूप गर्न सक्दैनन्। उनको मेरुदण्डमा समस्या देखिएको छ र कान पनि कम सुन्छन्। तैपनि किरण साप्ताहिकको 'फाइनल प्रिन्ट' उनले हेरेपछि मात्र प्रेसमा जान्छ।

“सक्दै नसक्ने अवस्था आए अर्कै कुरा”, चाचाजी भन्छन्, “समाजलाई कस्तो समाचार दिने वा नदिने भन्ने तय गर्नकै लागि त सम्पादक रहन्छ, नहेरी कसरी पठाउने!”

प्रतिकृया दिनुहोस