रौतहटमा भब्य फर्निचर मेला
रौतहटको गरुडा नगरपालिका, जयनगरमा फर्निचर मेला शुरु भएको छ ।
यो ग्रामीण क्षेत्रमा लाग्ने सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेलाले अवलोकनकर्ता तथा क्रेताको ध्यान आकर्षित गरेको छ ।
प्रत्येक वर्ष श्रीपञ्चमीको भोलिपल्टदेखि एक हप्तासम्म लाग्ने फर्निचर मेलामा रौतहटको विभिन्न भागबाट घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका सामग्रीको विशाल मेला लाग्ने गर्दछ ।
विश्वकर्मा लोहार संघ फर्निचर मेला व्यवस्थापन समिति जयनगरले आयोजना गर्ने मेलामा यस वर्ष रु तीन करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।
समितिका उपाध्यक्ष योगेन्द्र ठाकुरका अनुसार गत वर्ष रु २ करोड ७० लाखको कारोबार भएकोमा यसवर्ष मेलामा व्यावसायी र अवलोकनकर्ताको संख्या बढ्नेछ ।
मेलाबाट सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहारका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको समितिका वरिष्ठ सल्लाहकार दयाराम ठाकुरले जानकारी दिए ।
सञ्जय मित्र, रौतहट