चिठ्ठी न कुनै सन्देश
वैदेशिक रोजगारीमा गएका सयौं नेपालीहरु कहिल्यै घर फर्किएनन्, मृत्यु भएर होइन, वेपत्ता भएका छन् ।
-ओमआस्था राई
रोजगारीका लागि मलेशिया गएको छोरा टकबहादुरको पर्खाईमा नवलपरासीको कुमारवर्तीका पवी र लालबहादुर मगरले वर्षौं बिताइसकेका छन् । पाँच वर्षदेखि सम्पर्कविहिन भएका टकबहादुरको कुनै अत्तोपत्तो छैन ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उच्च मृत्यु दर वा रोजगारदाताबाट हुने धोकाधडीका समाचार आइरहे पनि वेपत्ता भएकाहरुको खोजी हुन सकेको छैन ।
खाडी मुलुकहरु र मलेशिया नेपाली कामदारहरु बेपत्ता हुने ‘ब्ल्याक होल’ जस्तै बनेका छन् । कुनै पनि सूचना वा सन्देश बिना बेपत्ता भएका नेपाली श्रमिकका परिवारहरु आफन्तजन ज्यूँदै छन् वा मृत्यु भइसक्यो भन्ने जानकारी सम्मको पर्खाइमा छन् । तर सरकारसँग यसबारे कुनै जवाफ छैन ।
सन् २००९ देखि तथ्याङ्क राख्न शुरु गरेको वैदेशिक रोजगार प्रबद्र्धन विभागका अनुसार ७ वर्षको अवधिमा वैदेशिक रोजगारमा गएका पाँच हजार नेपाली कामदारको विदेशमा मृत्यु भएको छ । तर विभागसँग वेपत्ताको कुनै तथ्याङ्क छैन ।
सुरक्षित आप्रवासन परियोजना (सामी)का अनुसार नवलपरासीका मात्रै ७३ जना विदेशमा वेपत्ता भएका छन् । त्यसैगरी धादिङका २८ जना वैदेशिक रोजगारीमा गएका बेला वेपत्ता भएको परियोजनाको तथ्याङ्क छ । यसै आधारमा अन्य जिल्लाहरुको तथ्याङ्क अनुमान गर्दा वैदेशिक रोजगारीमा वेपत्ता हुनेको संख्या हिंसात्मक द्वन्द्वका बेला वेपत्ता भएका १ हजार ३३४ भन्दा धेरै पुग्छ ।
सामीले बेपत्ता भएकाहरुको विवरण जिल्लाबाट काठमाडौंमा रहेको गैरसरकारी संस्था प्रवासी नेपाली को–अर्डिनेशन कमिटी (वैदेशिक रोजगारबाट फर्केकाहरुबाट सञ्चालित) लाई उपलब्ध गराउँछ । वेपत्ताहरुको खोजी गर्ने कमिटीको अहिलेसम्मको प्रयास भने सफल हुन सकेको छैन ।
नवलपरासीमा सामीकी परामर्शदाता रञ्जना लम्सालका अनुसार मलेशियामा पुरुष कामदारहरु वेपत्ता भएका छन् भने खाडी मुलुकमा वेपत्ता हुनेहरुमा अधिकांश महिलाहरु छन् ।
“अवैधानिक रुपमा मलेशिया पुगेका कामदारहरुले परिवारसँगको सम्पर्क विच्छेद गरेको पनि पाइएको छ,” लम्साल भन्छिन, “तर खाडी मुलुकबाट महिला वेपत्ता हुने समस्या भने निकै चिन्ताजनक छ ।”
अधिकांश महिलाहरु भारत हुँदै खाडी मुलुकमा घरेलु कामदारका रुपमा पु¥याइन्छन् । यसरी वेचविखनमा परेका उनीहरुसँग सम्पर्क गर्ने कुनै कागजात नेपालमा रहेका आफन्तसँग हुँदैन ।
वैदेशिक रोजगारबाट फर्केकाहरुको सञ्जालका बलबहादुर थापा भन्छन, “हामी मरौं वा बेपत्ता होऔं सरकारलाई केही मतलब छैन, हामीले नेपाल पठाउने रेमिट्यान्सको मात्रै मतलब हुन्छ, उसलाई ।”
मलेशियामा वेपत्ता टकबहादुर
हामीसँग कुरा गर्दै पवी (माथि तस्वीरमा) ले पाँच वर्षअघि वेपत्ता भएका छोराको तस्वीर पुरानो एल्वममा खोज्न थालिन् ।
“यि यहाँ छ,” क्वालालम्पुरका अग्ला भवनहरु अगाडि पोज दिइरहेको टकबहादुरको रंग उडेको तस्वीर देखाउँदै भनिन,“धेरै पहिले कान्छाले पठाएको फोटो, अहिले कस्तो भएको होला कुन्नी ।”
टकबहादुरका बुवा लालबहादुरले फाइलहरुको चाङबीचबाट नागरिकता प्रमाणपत्र निकालेर देखाउँदै भने, “यही हो उसले छोडेर गएको ।”
पवी र लालबहादुरले कान्छा छोरा टकबहादुरको १७ वर्षकै उमेरमा विवाह गरिदिए, त्यसको एक वर्षमै नाती जन्मियो । छोरा पाएलगत्तै टकबहादुर रोजगारीका लागि मलेशिया पुगे । उनी विदेशिएको एक वर्षमै उनकी श्रीमतीले अर्कैसँग विवाह गरिन् । त्यसपछि टकबहादुरको खबर, फोन आउन छोड्यो । ६ वर्षे नातिलाई हुर्काइरहेका पवी र लालबहादुर छोरा टकबहादुरको पर्खाईमा छन् ।
“न फोन, न खबर, न पैसा” पवी भन्छिन, “खै छोरालाई अब भेट्न पाइन्छ कि पाइन्न ।”
टेकबहादुरलाई मलेशिया पठाउँदा लिएको रु.१ लाख २० हजार ऋण तिर्न नसकेका उनीहरु अब जग्गा बेच्ने तयारीमा छन् । “मलाई पैसा चाहिएन, छोरो घर आइदिए मात्रै पुग्छ,” लालबहादुर भन्छन् ।
साउदीबाट वेपत्ता पार्वती
दिल्ली हुँदै साउदी अरब उड्नु अघि पार्वती कार्कीले मुम्बईको डिग्नी होटेलमा दुई महिना बिताएकी थिइन् । केही दिनमै साउदी अरब पठाउने भन्दै मुम्बई लगेको एजेन्टले पार्वतीलाई दुई महिनासम्म त्यहिँ राख्यो । त्यसपछि फेरि दिल्ली ल्याएर साउदी पठायो ।
उनी साउदी पुगेपछि नेपालमा रहेको परिवारलाई केही राहत त भयो तर, अझै नराम्रो खबर सुन्न बाँकी नै रहेछ । एक दिन पार्वतीले उनका पति रामलाई फोन गरेर आफूलाई साउदीका मालिकले दुव्र्यवहार गरेको र यातना दिइरहेको सुनाइन् । त्यसको केही दिनपछि पार्वतीका रोजगारदाताको फोन आयो । अरबी भाषामा बोलिएको नबुझेपछि खाडीबाट फर्केकी रामकी भतिजीले ‘पार्वतीलाई केही महिनामा घर फर्कादिने’ खबर गरेको कुरा बुझाइदिइन् । तर त्यसपछि न पार्वतीको फोन आयो न त उनका मालिकको नै ।
“निकै पीडामा छु । थाहा छैन, म उनलाई कसरी सहयोग गरुँ ?” राम कार्की भन्छन् ।
कुवेतमा वेपत्ता सीता
विष्णु राई (तल पत्नीको तस्वीर देखाउँदै) पत्नी सीतालाई कुवेत पठाउन चाहन्नथे तर परिवारको आर्थिक अवस्था र सीताको ढिपीले गर्दा उनी रोक्न सफल भएनन् । एक वर्षसम्म त सीताले प्रत्येक महिना फोन गर्ने, छोराछोरीका बारे सोध्ने गरिरहिन् ।
“छोराछोरीलाई निकै माया गर्थी,” विष्णु भन्छन, “उसले हामी सबैलाई यत्तिकै बिर्सन सक्छे जस्तो लाग्दैन ।”
एक वर्षपछि सीताको फोन आउन छोड्यो । सीतालाई सम्पर्क गर्ने अरु कुनै माध्यम विष्णुसँग छैन । अझै सीताको फोनको पर्खाइमा रहेका उनी भन्छन, “ज्यूँदै छ कि छैन, खै ! अब त निराश हुन थालिसकें, म ।”
अघिल्लो पटक पनि गाउँकै स्थानीय एजेन्ट मार्फत दिल्ली हुँदै घरेलु कामदारका रुपमा साउदी अरब गएकी सीता तीन वर्ष बसेर फर्केकी थिइन् । त्यसबेला सरकारले महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध लगाएपछि उनी दिल्ली हुँदै त्यसतर्फ गएकी थिइन् ।
तीन वर्षको कमाइले पनि आर्थिक अवस्थामा खासै सुधार नभएपछि उनी फेरि कुवेततर्फ लागिन् तर अब उनी फर्कने हुन कि होइनन केही निश्चित छैन ।