रिपोर्टबुधवार, माघ १९, २०७३

नयाँ 'मार्केट प्लेस'

सविता श्रेष्ठ

कोटेश्वर, काठमाडौंकी सीमा सिग्देल (२६) किनमेलमा जानुअघि इन्टरनेटमार्फत सामानको गुणस्तर र भाउबारे बुझिछन्। परिवारका लागि कुन सामान उपयुक्त छ, घरमै छनोट गर्छिन्। पाँच वर्षअघि घरमा इन्टरनेट जोडेपछि विस्तारै उनको किनमेल शैलीमा परिवर्तन आउन थालेको हो। “पहिले जसरी दिन नै खर्चेर किनमेल गर्दिनँ”, सिग्देल भन्छिन्, “के किन्ने हो बुझेर मात्र जान्छु।” 

कलंकीका किरण गुरुङ (२२) फेसन ट्रेन्ड पछ्याउन इन्टरनेट सहयोगी भएको बताउँछन्। ब्रान्डेड गगल्स र जुत्ताका सौखिन उनी बजारमा नयाँ भित्रिएको सामानबारे इन्टरनेटबाट जानकारी लिएर मात्र पसल पुग्छन्। “इन्टरनेटमै फिचर पत्ता लगाएपछि पसलेलाई धेरै सोध्नै पर्दैन, मूल्यमा पनि किचकिच हुँदैन”, उनी भन्छन्।

इन्टरनेटमार्फत अर्डर गरेको भरमा सामान घरमै आइपुग्ने भएकाले इन्टरनेटमार्फत किनमेलको प्रवृत्ति बढेको छ। यसले ग्राहकलाई पसलमा भौतारिने समय बचत गर्ने मात्र होइन, मोलमोलाइलगायतका थुप्रै झ्न्झ्ट टारेको छ। ग्राहकलाई मात्र होइन, व्यवसायीले समेत इन्टरनेटको मद्दतले आफ्ना उत्पादन र सेवाको जानकारी दिइरहेका छन्। त्यसैले पनि इन्टरनेट नयाँ 'मार्केटप्लेस' बनिरहेको छ।

सन् २००० मा ०.२ प्रतिशत नेपालीले इन्टरनेट प्रयोग गर्थे। तर, १६ वर्षको फरकमा इन्टरनेट प्रयोगकर्ताको संख्या १९.९ प्रतिशत पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार ५३.२९ प्रतिशत नेपालीमा इन्टरनेटको पहुँच पुगेको छ। इन्टरनेट वर्ल्ड स्टेट्सका अनुसार नेपालमा अहिले करीब ६४ लाखले नियमित इन्टरनेटको उपयोग गर्छन्। इन्टरनेटसँगै स्मार्ट फोनको विकास र विस्तारले अनलाइन शपिङ द्रुतगतिमा बढ्दो छ।

बदलिंदो किनमेल शैली
नेपालमा सन् १९९३ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले इन्टरनेट भित्र्याएको थियो। सर्वसाधारणका लागि भने मर्कन्टायल कम्युनिकेशनले सन् १९९५ बाट इन्टरनेट सुविधा उपलब्ध गराएको हो। इन्टरनेट भित्रिएसँगै व्यावसायिक कारोबार गर्ने संस्था र उत्पादनबारे जानकारी दिन वेबसाइट बनाउन थालियो। तर, अधिकांश वेबसाइटमा वस्तु उत्पादक संस्थाको सामान्य जानकारी मात्र हुन्थ्यो।

हामीकहाँ अनलाइन शपिङको शुरूआत भने विदेशमा बस्ने आफन्तलाई उपहार दिन खोलिएका साइटबाट भएको हो। १८ वर्षअघि अमेरिकामा बस्नेले नेपालका आफन्तलाई घरमै उपहार पठाउनको लागि शपिङ साइट मुन्चा शुरू गरेको यसका निर्देशक सुवास ढुंगाना बताउँछन्। तर, चार वर्षयता भने मुन्चा सर्वसाधारणसम्म पुगिसकेको छ। ग्रोसरी, इलेक्ट्रोनिक होम अप्लायन्स, एसेसोरिज, कपडालगायतका सामानको तस्वीर र मूल्य हेरेर छनोट गर्ने सुविधा अनलाइन शपिङमा पाइन्छ।

कुपण्डोलस्थित योर स्टाइलिस बुटिक खोलेकी उषा खड्गी आफ्ना आधा ग्राहक इन्टरनेटबाटै आइपुगेको बताउँछिन्। इन्टरनेटले उपभोक्तालाई 'चुजी' बनाउनुका साथै नयाँ ट्रेन्डबारे 'अपडेट' हुन सहयोग पनि गरेको खड्गी बताउँछिन्। “अब त इन्टरनेट उपयोग नगरी व्यवसाय सम्भव नै छैन”, फेसन डिजाइनर खड्गी भन्छिन्।

१२ वर्षदेखि नागपोखरीमा 'ट्याक्सी वुमन क्लोथिङ स्टोर' सञ्चालन गरिरहेकी आगन्तुक खरेलले तीन वर्षअघि आफ्नो व्यवसायलाई फेसबूक र इन्स्टाग्रामसँग जोडिन्। त्यसपछि उनलाई लाग्यो, उपभोक्ताको पहुँच स्टोरभन्दा इन्टरनेटमा बढी छ। “इन्टरनेटमै डिजाइन र मूल्य हेरेर अर्डर गर्ने र स्टोरसम्म आउने बढेका छन्”, खरेल भन्छिन्, “ग्राहकसँग तत्काल कुराकानी हुने भएकाले पनि व्यापारमा सहज भइरहेको छ।” 

अर्थविद् केशव आचार्य विद्युतीय कारोबार (इ–कमर्श) को अंगका रूपमा अनलाइन शपिङको द्रुत विकासले अनुहार हेरेर कुरा गर्ने अनि 'डील' गर्ने प्रचलन नै परिवर्तन भएको बताउँछन्। सम्बन्ध, सम्पर्क र भलाकुसारी मात्र नभएर कारोबार पनि विद्युतीय भएको बताउँदै उनी भन्छन्, “बिल तिर्ने, किनमेल गर्नेलगायतको सुविधा घरमै उपलब्ध हुनु ठूलो परिवर्तन हो।”

इन्टरनेटले बजारमा के भित्रियो? कस्तो ट्रेन्ड चलेको छ? कुन सामानको विशेषता र बेफाइदा के हुन्? सजिलै बुझन सहयोग पुर्‍याउँछ। नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष मनिषलाल प्रधान इन्टरनेटमै गहनाका डिजाइन र गुणस्तर थाहा पाएर किन्न आउनेको संख्या बढ्न थालेको बताउँछन्। व्यवसायीले आफ्नो व्यवसायको जानकारी दिन वेबसाइट, फेसबूक पेज बनाउने प्रचलन पनि बढेको छ।

इन्टरनेटले कारोबार गर्ने शैलीमै परिवर्तन ल्याएको उद्योग वाणिज्य महासंघको व्यापार समितिका सभापति विजयकुमार सरावगी बताउँछन्। “कारोबार बढाउन पनि इन्टरनेट सहयोगी भएको छ”, उनी भन्छन्, “धेरैजसो व्यवसायीले इन्टरनेटमा पहुँच बढाएका छन्।”

नेपाल फर्निचर एण्ड फर्निसिङ एसोसिएसनका अध्यक्ष कवीन्द्र जोशी इन्टरनेटले गर्दा हरेक डिजाइनमा नयाँपन खोज्नेहरू बढेको बताउँछन्। उनी भन्छन्, “इन्टरनेटका कारण उपभोक्ताले छनोटको र व्यवसायीले प्रवर्द्धन सुविधा पाएका छन्।”

अनलाइन कारोबारले समय र खर्च दुवैको बचत गर्ने भएकाले अबको बजार यसबाट अलग रहने कल्पनासम्म गर्न नसकिने अर्थविद् आचार्यको भनाइ छ। बरु यसका लागि विद्युतीय साक्षरता बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। “यस्ता कारोबारका जोखिमबारे सर्वसाधारणलाई सजग गराउने दायित्व पनि सरकारकै हो”, उनी भन्छन्।

बाँकी संघर्ष
अनलाइन शपिङमा सामान राख्दैमा बिक्री भइहाल्ने अवस्था भने नरहेको मुन्चाका निर्देशक ढुंगाना बताउँछन्। उनी भन्छन्, “अनलाइन शपिङ बल्ल स्थापित हुने चरणमा छ।”

अनलाइन शपिङ साइट नेप्बेका कार्यकारी निर्देशक राजाराम नेपाल भने अघिल्लो वर्षको नाकाबन्दीपछि अनलाइन शपिङप्रति उपभोक्ताको चासो बढेको बताउँछन्। अनलाइन शपिङलाई छुट्टै उद्योगको रूपमा हेरिनु गलत भएको बताउने उनी यसलाई नयाँ प्रविधिमार्फतको व्यवसाय मात्र भएको तर्क गर्छन्। “यो एउटा मार्केटिङ टूल मात्र हो”, उनी भन्छन्।

बेलायती उद्यमी माइकल जोन अल्डरिचले सन् १९७९ मा अनलाइन शपिङ प्रचलनमा ल्याएका थिए। त्यसको करीब चार दशकपछि नेपालमा एकसय भन्दा बढी अनलाइन शपिङ साइट्स छन्। दैनिक करीब १५ सय वस्तुको कारोबार अनलाइन शपिङबाट भइरहेको व्यवसायीको अनुमान छ। वेबसाइट मात्र नभएर अनलाइन कारोबारको लागि फेसबूक, इन्स्टाग्राम, भाइबर जस्ता सामाजिक सञ्जालमा पनि व्यवसायी र उपभोक्ता जोडिएका छन्।

तर, अनलाइन शपिङका अनेक चुनौती पनि छन्। र, तीमध्ये सबैभन्दा ठूलो चाहिं 'क्यास अन डेलिभरी' नै हो। यो प्रणालीमा अनलाइनमार्फत नै भुक्तानी दिने विधि अपनाइनुपर्नेमा ९० प्रतिशत कारोबार नगदमै हुने गरेको छ।

केही ब्यांक तथा साइटले अनलाइन भुक्तानी शुरू गरे पनि सबैको पहुँचमा पुगेको छैन। भुक्तानी तथा कारोबारको जानकारी एउटै पोर्टलबाट पाइने प्रणालीको विकास गर्न सके व्यापार अझ् फस्टाउने अर्थविद् आचार्य बताउँछन्। “यसो गर्न सके व्यवसायीलाई करको दायरामा ल्याउन पनि सजिलो हुन्छ”, उनी भन्छन्।

अनलाइन कारोबारबारे अनुगमन भने हुनसकेको छैन। उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष सूर्यबहादुर थापा अनलाइन शपिङबाट उपभोक्ता ठगिने सम्भावना प्रशस्त रहेको बताउँदै यसबारे मापदण्ड बनाउनुपर्ने आवश्यकता देख्छन्। तर, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका उपभोक्ता हित तथा बजार अनुगमन शाखाका निर्देशक लक्ष्मण श्रेष्ठ अनलाइन शपिङका ठगीबारे उजुरी नै नपरेकोले अनुगमन नगरिएको बताउँछन्।

नेप्बेका कार्यकारी निर्देशक नेपाल भने नियमनकारी निकायको अभावमा ठगी गर्ने साइट मौलाइरहेको बताउँछन्। “केही साइटका बदमासीले अनलाइन शपिङप्रतिको विश्वास नै गिर्दो छ, गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहित गरिनुपर्छ”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस