टिप्पणीमंगलवार, माघ १८, २०७३

क्यालेण्डरमा रगत पोतिएको दिन

शेखर खरेल

अत्याचारीको अवसानसँगै तानाशाही युगको अन्त्य हुन्छ, तर शहीदको सहादतबाट नयाँ युग आरम्भ हुन्छ।

राणाशाहीविरूद्ध प्राणाहुति गरेका शहीदहरूले जहानियाँ शासनको अन्त्य गर्दै प्रजातन्त्रको बिहानी ल्याइदिए। आउने पिंढी र पुस्ताका लागि जीवन उत्सर्ग गर्ने शहीदलाई सम्मान गर्ने उद्देश्यले नै नेपालमा पनि शहीद दिवस मनाइँदै आएको हो।

१६ माघ क्यालेण्डरका अन्य दिन भन्दा विशेष हुनुको कारण यही हो। यस्तो लाग्छ, क्यालेण्डरका बाँकी ३६४ दिन मसीले लेखिएका हुन्, १६ माघमा चाहिं रगत पोतिएको छ। 

यस दिनले हामीलाई शहीदले देखाएको बाटोमा हिंडेर उनीहरूप्रति सच्चा श्रद्धाञ्जली प्रकट गर्न प्रेरणा दिन्छ। तर, उनीहरूले देखाएको बाटोमा किञ्चित पनि नहिंड्ने, १६ माघलाई ओठे भक्ति र कर्मकाण्डमा सीमित राख्ने प्रचलन देख्दा भने शहीदप्रति सच्चा श्रद्धाञ्जली भन्दा पनि यो दिन (वा शहीद सप्ताह) औपचारिकतामै खुम्चिएको लाग्छ।

शहीदले दिएको अर्को प्रेरणा राष्ट्रिय एकताको हो। व्यक्तिगत, पारिवारिक, जातीय र क्षेत्रीय स्वार्थ भन्दा माथि उठेर राष्ट्र र आगामी पिंढीका लागि जीवन उत्सर्ग गरेकाले शहीदले देखाएको बाटो स्वतन्त्रता, राष्ट्रहित र अग्रगामी चिन्तन हो।

विडम्बना, वितेका केही वर्ष र अझ खासगरी २०६२/६३ को आन्दोलनपश्चात् शहीदलाई विभिन्न आस्था (राजनीतिक वा सामाजिक), भूगोल र जातीय रूपमा छरिएका नागरिकलाई एकताको सूत्रमा बाँध्ने मियो भन्दा पनि छिन्नभिन्न छिनाल्ने छिनाको रूपमा प्रयोग गरिएको देखिन्छ। यसमा कुनै खास उद्देश्यका लागि जीवन उत्सर्ग गर्नेहरूको किञ्चित दोष छैन।

कसुरदार राजनीतिका ती स्वार्थी तत्व हुन्, जसले उनीहरूलाई शक्ति र सत्ता प्राप्तिका लागि सिंढीका रूपमा प्रयोग गरे। ती स्वार्थी तत्वहरूले सत्तालाई निर्दोषका रगतसँग विनिमय गर्दै आएका छन्। यो तुच्छ स्वार्थीले एकातिर राष्ट्रलाई विघटनमा पुर्‍याउन खोज्ने षडयन्त्रकारी तत्वलाई बल पुर्‍याएको छ भने अर्कोतिर शहीद स्वयंको अवमूल्यन गरेको छ।

हूलहुज्जत गर्ने भाडाका छुल्याहादेखि विभिन्न आपराधिक वारदातमा मरेकासम्मलाई शहीद घोषणा गराउने तत्वका दुष्प्रयासले शहीदको मानमर्दन हुन पुगेको छ।

कसलाई शहीद घोषित गर्ने र कुन घटनामा चाहिं फौजदारी मुद्दा लगाएर कानूनको शासन कायम गर्ने भन्ने विषयमा सरकार वा राज्यको निरीहता र दोहोरो मापदण्डका कारण नै 'शहीद' अहिले धेरैका निम्ति क्षतिपूर्ति भराउने र आफ्नो अपराधलाई वैधानिकता दिने माध्यम बनेको छ।

निजी दुस्मनी, लेनदेनका मामिला वा दुर्घटनामा परेर जीवन गुमाएकाका परिवारका निम्ति रु.१० लाख क्षतिपूर्ति भराउने तर हत्या गर्ने अपराधी चाहिं उम्काउने कार्यले शहीदलाई वार्गेनिङको वस्तु बनाउँदै कानूनी राज्यको धज्जी उडाएको छ।

शायद, राजनीतिक स्वार्थी समूहको यस्तै रवैयाको परिणति अहिले समाजमा सर्वग्राह्य शहीद भन्दा पनि दलका, गुटका, सम्प्रदायका र क्षेत्रका शहीदहरू थपिंदैछन्। दल र गुटपिच्छेका शहीदका सालिक, स्मारक, प्रवेशद्वारले देशलाई नराम्ररी विभाजित गरेको छ।

शहीदः आस्था र अर्थ
शहीद आस्थाको विषय हो। अर्थात्, शहीद हुनेहरू आफ्नो विश्वासबाट उद्वेलित भए न कि कसैको आदेशबाट उत्तेजित। आफ्नो विश्वासप्रतिको अविचलित आस्था अर्को अर्थमा सहादत हो।

जीवन कसैले हरण गर्न सक्ला तर विश्वास वा आस्था हरण गर्न सक्दैन। महात्मा गान्धीको सत्याग्रहको मर्म यही थियो। गान्धी भन्दथे, “तिनीहरूले मेरो शरीरलाई यातना दिन सक्छन्, मेरा हड्डी भाँच्न सक्छन् र मलाई मारेर मेरो मृत शरीर लिन पनि सक्छन्, तर मेरो आज्ञाकारितालाई केही गर्न सक्दैनन्।”

हिजोआज भने उत्सर्गलाई उत्तेजना र आस्थालाई अन्धवेगमा रूपान्तरण गर्ने दुष्प्रयासहरू भएको बग्रेल्ती पाइन्छन्। शाब्दिक रूपमा 'शहीद' इस्लामको पवित्र ग्रन्थ कुरानबाट उत्पत्ति भएको हो, जसको अर्थ धर्मको उद्देश्य पूरा गर्न 'जिहाद' (धार्मिक युद्ध) मा सामेल हुँदै सहादत प्राप्त गर्ने हो।

यसरी सहादत प्राप्त गर्नेको स्थान स्वर्गमा सुरक्षित हुने कुरानमा उल्लेख छ। यसरी पनि आस्था वा व्यक्तिको स्वेच्छासँग सम्बन्धित हुन्छ– सहादत।

तर, आस्था वा धर्मको 'ग्रे एरिया' को अपव्याख्या गर्दै इस्लाम चरमपन्थी समूहले आत्मघाती दस्ता तयार गर्दै संसारभर आतङ्कको ताण्डव मच्चाउँदै आएका छन्। जसलाई राजनीतिक अभीष्ट पूरा गर्नेहरूले समेत संसारका अनेकौं भूगोलमा सिको गरेको हामीले सुन्दै, देख्दै आएका छौं।

मधेश आन्दोलन तताउने नाममा एउटा यस्तै सिको केही अघि नेपालमा पनि गरियो, आन्दोलनमा ज्यान गुमाउनेलाई मधेशी प्रान्तीय सरकार गठनपछि शहीदको उपाधि र उनको परिवारलाई ५० लाख क्षतिपूर्तिको ऐलानका साथ। जुन, अद्यावधि उधारै छ। संविधान जलाएर यस्तो उद्घोष गर्नेहरू भने अहिले यही संविधान संशोधन गरेर सत्तारोहणको पर्खाइमा छन्।

शहीद पवित्र शब्द हो, यसको पवित्रतामा स्वार्थको फोहोर मिसाउनु निन्दनीय हो। अमर शहीदहरूप्रति हार्दिक नमन!

प्रतिकृया दिनुहोस