ब्लगसोमवार, माघ १७, २०७३

सुदूरका प्रेरणा

बच्चु विक

२०७२ को राष्ट्रिय प्रतिभा पुरस्कार पाएपछि साहित्यकार एवं इतिहासकार आत्माराम ओझाले भनेका थिए, ''आत्मसन्तुष्टिका लागि लेख्या हुँ, पुरस्कार पो पाइयो।” 

१५ पुस बिहान उठेर लेखपढको तयारी गरिरहेका ८७ वर्षीय ओझा एकाएक बेहोस् भए। कञ्चनपुरको भीमदत्त नपा–३, ट्राफिक चोकस्थित निवासबाट महाकाली अञ्चल अस्पताल पुग्दानपुग्दै बाटैमा उनको प्राण गइसकेको थियो।

१८ मंसीर १९८७ मा बैतडीको बमराडा गाउँमा जन्मिएका ओझाले कर्मक्षेत्र भने महेन्द्रनगरलाई बनाए। दश वर्षकै उमेरदेखि लेख्न शुरु गरेका उनले १९ वर्ष हुँदा २००६ सालमा पहिलो कृति देवस्तुति श्लोकबद्ध भाषा प्रकाशित गरे। त्यसपछि उनको कलम कहिल्यै रोकिएन।

रत्न पुस्तक भण्डार, काठमाडौंबाट उषा अनिरुद्र पौराणिक नाटक (२०२३) र साझा प्रकाशनबाट साझा एकांकी नाटक संग्रह (२०२५) प्रकाशित भएपछि ओझ्ााको चिनारी सुदूरपश्चिमबाट देशभर फैलियो। दाइको संगतले भाइ डा. देवीप्रसाद ओझा पनि लेखनमै लागेपछि उनलाई अझ सन्तोक मिलेको थियो। भाइको ६ जेठ २०६३ मै निधन भएपछि भने उनले लेखनीमा एक्लो महसूस गरिरहेका थिए।

६७ वर्षे लेखन यात्रामा ओझाका २५ वटा पुस्तक प्रकाशित छन्। डोटेली भाषा–संस्कृतिका ज्ञाता ओझाले कविता, कथा, उपन्यास, नाटक, इतिहास र संस्कृति सबै विषय र विधामा लेखेका छन्। संक्षिप्त सरल नेपाली रामायण, कृष्णायान काव्य, देउकी प्रथामा आधारित उपन्यास तीला, 'नेपाल प्रजातन्त्र सुकृति विकृति शतक, सुपको इतिहास परिचय, सुपका केही ऐतिहासिक वीर वीरङ्गना ओझाका चर्चित कृति हुन्।

लेखनका अतिरिक्त उनी सुदूरपश्चिमबाट प्रकाशित हुने पत्रपत्रिकामा समेत नियमित लेख्थे। ”इतिहास र संस्कृतिका विषयमा ओझाको दख्खल थियो”, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बासुदेव भट्ट भन्छन्।

साकाहारी ओझा 'लेखपढ गर्न नपाएको दिन केही बिर्सेजस्तो लाग्छ' भन्थे। यो उमेरसम्म कहिल्यै औषधि खानेगरी बिरामी नपरेको सुनाउँथे। 'यतिका वर्ष लेख्ने कर्मले नै बाँचिरहेको छु जस्तो पो लाग्छ', दीर्घायूको कुरा गर्दा उनी भन्थे।

शरीरको अवसानले साहित्यकारको आयू निर्धारण गर्दैन। ओझा पनि साहित्यप्रतिको अनुराग र कृतिहरुका कारण सधैं सम्झिइरहने छन्।

प्रतिकृया दिनुहोस