ब्लगसोमवार, माघ १७, २०७३

जयपुरको ‘सफ्ट पावर’

कनकमणि दीक्षित

जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) लाई साहित्य र प्रकाशनको महाकुम्भ भन्न मिल्छ । पाँच–पाँच दिनसम्म चल्ने, संसारका जल्दाबल्दा समसामयिक विषयहरूदेखि भारतको बौद्धिक वृत्तले केलाइरहेका अनेकन् मुद्दाहरूमा यहाँ पाँच वटा प्यारलेल भेन्यूमा ‘डिग्गी प्यालेस’ दरबार परिसरभित्र बहस चल्यो । हुन त ‘जेएलएफ’ को आलोचना गर्ने ठाउँ नभएको होइन– यो ज्यादै ठूलो भयो र यसको आत्मीयता हरायो, यसपालि भारतीय हिन्दूत्ववादी दक्षिणपन्थीलाई ठाउँ दियो, यहाँ आउनेहरूबीच स्पष्ट वर्ग विभेद छ, आदित्यादि कुरा सबै सही हुन् । तर, पनि बौद्धिक खोज गर्नेका लागि यो स्वाद लिनुपर्ने ठाउँ बनेको छ र यसैकारण काठमाडौंबाट पनि साहित्यिक, लेखक, अनुसन्धानकर्ता पुग्ने गरेका छन् ।

यसपालि, जेएलएफको मानवसागरमा उनको छरिएका सेता जटाले कवि विप्लव प्रतीक चिनिन्थे भने ‘स्ल्याम्’ पोएट उज्वला महर्जन, नाट्यकार युक्ता बज्राचार्य तथा साहित्य महोत्सव अभियन्ता प्रणवमानसिंह र शिवानी सिंह ।

जेएलएफले लेखन र किताब प्रकाशनलाई डिजिटल युगमा ‘फेसनेबल’ बनाइदिएको छ । यसले अरू धेरै लिटरेटो फेस्टिभललाई जन्माएको छ भने पुरानालाई ऊर्जा दिएको छ । जयपुर लिटरेचर फेस्टिभल अघि ढाका लिटरेचर फेस्टिभल, चेन्नईमा हिन्दू अखबारको फेस्टिभल अफ् लाइफ, कोलकाता फेस्टिभल तथा कुमाउ फेस्टिभल चलेका थिए भने हाल पोखरामा नेपाल लिटरेचर फेस्टिभल चल्दैछ । उता दक्षिण श्रीलंकाको गल शहर र पाकिस्तानको कराँचीमा पनि यस्तै यस्तै हुँदैछ ।

तर, लिटरेचर फेस्टिभल जस्तो कुरा जति भए पनि पुग्दैन । किनभने, सल्काउन मात्र सकिए मानव मस्तिष्कमा अपार जिज्ञासा र चाहना छ– फिक्सन र नन्फिक्सन सामग्रीले मात्र यसको माग पूर्ति गर्न सक्दछ । नेपालकै कुरा गर्ने हो भने एउटा महोत्सवले पुग्दैन । दर्जनौं शहरमा, एउटै शहरको पनि विभिन्न ठाउँमा हुनुपर्छ । त्यहाँ मात्र किन, गाउँ–गाउँमा हुन सक्नुपर्छ ! मदन पुरस्कार पुस्तकालयका साथीहरूले मौलिक खालको ‘नन्फिक्शन् पर्व’ योजना गर्ने भन्दैछन्, त्यो पनि चाहियो ।

‘होस्ट शहर’ ले जति फाइदा लिन्छ राम्रो सञ्चालित बृहत् फेस्टिभलको, त्यो काठमाडौंले जयपुरबाट सिक्नुपर्ने प्रष्ट छ । हुन त जयपुरका केही कुरा काठमाडौंसँग छैनन् । कार्यक्रमलाई चाहिने फराकिलो दरबार हाम्रा राणाकालीन प्राङ्गणहरू नभएका होइनन्, तर भवन उपलब्ध छैनन् । बगैंचा पनि मासिइसके । जेएलएफलाई नयाँदिल्लीको पढालेखा जमातसँगको नजदिकीले सघाएको छ । अरू कुरामा भने काठमाडौं पनि कम छैन । केही कुरामा अगाडि पनि छ ।

जेएलएफलाई राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेको पूर्ण सहयोग रहेको छ, किनकि महोत्सवले शहर र राज्यको अर्थतन्त्रलाई टेवा दिएको छ, ‘इमेज’ लाई उचालेर । जब संसारका मुख्य मुख्य ‘मेट्रोपोलिटन’ केन्द्रका विश्व प्रख्यात तथा काबिल बौद्धिकहरू जयपुर आइपुग्छन्, तिनले जयपुर र पूरै भारतलाई ‘सफ्ट पावर’ को रूपमा प्रक्षेपण गर्छन् । यसले अन्ततोगत्वा जयपुरवासी, राजस्थानवासी र भारतवासी सबैलाई ऊर्जावान् बनाइदिन्छ– आर्थिक, सामाजिक र सांस्कृतिक तवरमा ।

काठमाडौं उपत्यकाको सालाखाला पूर्णतः शहरीकरण भइसक्यो आजसम्म आइपुग्दा । जयपुरले जस्तो सार्वजनिक सेवा, सार्वजनिक थलो तथा पूरै संसारलाई लालायित पार्ने हस्तकलादेखि संस्कृति उत्पादन गर्न सक्ने सम्भावना काठमाडौंको पनि थियो÷छ, तर हामी बरालिएको धेरै वर्ष भइसक्यो । गत तीन दशकमा वास्तु, जल र वायु प्रदूषणसहितको अराजक शहरीकरणले उपत्यकालाई कुरुप बनायो । यहाँका सांस्कृतिक सम्पदा (‘ट्यान्जिबल’ भवन, मठ, गुम्बा तथा ‘नन्ट्यान्जिबल’ जात्रा, पूजा पर्व) कमजोर बन्न गए । अरूले मनपराउने सांस्कृतिक–पर्यटकीय थलोलाई जानाजान मासियो । त्यसमाथि थपियो, महाभूकम्पको धक्का ।

समग्रमा उपत्यका शहरको तेज घटे पनि यहाँ पर्याप्त थलो र पीठहरू छँदैछन् जसले देशीविदेशीलाई तान्न सकोस् । भुईंचालो पश्चात्को पुनःनिर्माणमा यता पनि ध्यान दिनुपर्छ, कि काठमाडौंलाई अन्तर्राष्ट्रिय पर्वको चम्किलो थलो बनाउन अझ्ै सकिन्छ ।

हामीसँग जयपुर तथा अन्य भारतीय शहरमा नभएका कुराहरू छँदैछन्– हिमालय दर्शन, छेउछाउका जंगल, पहाडी गाउँघर, संस्कृति तथा उपत्यकाको मौलिक वास्तु तथा जैविक सम्पदा । जयपुरमा पूरै महोत्सव एउटै थलोमा हुन्छ र पाँचौं दिनसम्म एकसरो सहभागी हुँदा निस्सासिएजस्तो लाग्छ । काठमाडौं या पोखरामा भने यूरोपमा जस्तो ‘क्याफे कल्चर’ हुर्किएको छ, जहाँ फुत्त बाहिर गएर सास फेर्न र भेटघाट गर्न पाइन्छ ।

आउँदो चैत–वैशाखमा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौं ट्राइनेल’ कला महोत्सव हुँदैछ । यस्तै साहित्य क्षेत्रका हस्तीहरूले हातेमालो गरेर जयपुरसँग कुममा कुम मिलाउने राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय साहित्य महोत्सव पनि गर्न जरूरी छ जहाँ प्रस्तोता मात्र होइन सहभागी पनि दक्षिणएशिया र अन्यत्रबाट यहाँ उत्रिउन् ।

पाठकलाई अचम्म लाग्ला तर यहाँ पनि स्थानीय निर्वाचनको वकालत गर्नुपर्ने हुन्छ । आखिर काठमाडौंवासीले बुझनुपर्ने कुरा राजनीतिक नै हो । जबसम्म वडा–वडा, नगर–नगरमा स्थानीय निर्वाचनद्वारा निर्वाचित प्रतिनिधि÷नेतृत्व अगाडि आउँदैन, यी सब फलदायी महोत्सवका योजना र आकांक्षा आकाशको फलमा सीमित रहने छन् । हरेक नजरमा, हरेक पाटोमा नागरिकलाई स्थानीय निर्वाचन अनिवार्य भएको छ । उपत्यकाको अर्थतन्त्र, समाज र संस्कृतिलाई बचाइराख्न र ऊर्जा थप्न अन्तर्राष्ट्रियस्तरका महोत्सवहरू चाहिएको छ । स्थानीय निर्वाचनको लागि जागरुक नहुने उपत्यकावासीलाई थाहा नहुन सक्छ, १८ वर्ष निर्वाचित प्रतिनिधि नहुनाले गाउँ र जिल्ला जस्तै, राजधानी स्वयंलाई एउटा लम्बे दुर्घटनामा पारेको छ । यसैमा पनि छ, काठमाडौंलाई जयपुरको एउटा पाठ ।

प्रतिकृया दिनुहोस