ब्लगशुक्रवार, माघ १४, २०७३

छोरा, अब नेपाल बन्दैछ !

दिनकर नेपाल

प्यारो छोरा सिद्धान्त, 

हिजै मैले भिडियो च्याटमा तिमीलाई सोधें – "बाबु, तिमी काठमाडौं आउँदा मैले के तैयारी गरम् ? के चाहिन्छ तिमीलाई?"

"पापा, मलाई केही खेलौना र स्टोरी बुक्स भए हुन्छ, मम्मीलाई एउटा 'ट्रेडमिल'!" तिमी यत्ति भनेर हुरहुरिएका थियौ। धेरै बोल्न समय नभए जस्तो !

तिम्री आमा र म खुब हाँसेका थियौं। तिम्री आमा त्यहीँ, दार्जिलिङमा तिमीसँग, म यहाँ काठमाडौंमा।

"ऊ ! आफ्नो नयाँ साथीसँग खेल्न हतार भयो उसलाई, बोल्ने फुर्सद छैन," तिम्री आमाले हाँस्दै भन्नु भएको थियो। 

गएको दशैमा पाँच वर्ष पुग्यौ तिमी। तिम्ले केही ठूलै कुरा भनौला भनेर मैले त्यसो सोधेको थिइन । शायद म आँफैलाई ढाढस दिन चाहन्थें ।

अहिले तिमी सानै छौ। यी कुराहरु बुझ्दैनौ। 

एक अर्थमा मैले तिम्री आमालाई झुक्याएजस्तो भएको छ। हाम्रो बिहे हुँदा म भारतीय सेनामा थिएँ र मेरो पोस्टिङ भुटानमा थियो। त्यतिबेला मैले जागिर छोड्ने कुरा उनीसँग गरेको थिइन। बिहेपछि तिम्री आमा र म भुटान गयौं,  हामी दुई वर्ष त्यहाँ बस्यौं। त्यसपछि तिमी आयौ, हाम्रो जीवनमा खुशीको बाढी आयो।

तिम्लाई काखमा मुसार्दै तिम्री आमा गम्ने गर्नुहुन्थ्यो - 'भारतको कुनकुन ठाउँमा हाम्रो पोस्टिङ् हुन्छ होला? तिम्ले पढ्ने स्कूल कस्तो होला? पछि कुन कलेजमा छोराले पढ्ला ? रिटायरमेन्ट पछि हामी कहाँ बसौंला ?'

हामी तिम्रो नागरिकता बारे पनि कुरा गर्थ्यौं। तिम्री आमा भारतीय नागरिक, म नेपाली- तिमी कहाँको हुने ? धेरै छलफलपछि हामीले ठूलो भएपछि तिमीलाई नै निर्णय लिन दिने कुरा मानेका थियौं। 

तर त्यति नै बेला मैले तिम्री आमालाई नसोधी जागिर छोडेर नेपाल फर्कने निधो गरें। उहाँ साह्रै बेखुशी हुनुहुन्थ्यो मसँग। 

म बुझ्छु। उहाँलाई तिम्रो चिन्ता छ, मेरो चिन्ता छ, आफ्नै चिन्ता छ। उहाँको हेराइमा मैले लिएको निर्णय 'पागलपन' नै थियो। एक त राम्रो जागिर, त्यसमाथि नेपालको हालत यस्तो !

तिम्रो हजुरबुवा, मेरो बुवाले पनि त्यही सोच्नुभयो, त्यही भन्नु भयो। महिनौसम्म हामी बाउ-छोराको बोलचाल नै भएन ।

धेरैले मलाई बौलाएको भने। 

अहिले सोच्दा लाग्छ, शायद तिमीलाई र तिम्री आमालाई नेपाल आउन वाध्य पारेको कुराको असहजता मेरो मनभित्र गडेर बसेको छ। ठूलो आँट गरेर मैले त्यो निर्णय लिएँ। कसैको कुरो सुनिन। तिम्री आमालाई पनि सोधिन। घर-परिवार र साथीहरु सबैले गाली गरे ।

मैले मानिन बाहिर बस्न। मेरो मनले मानेन बाबु, अहिलेलाई यत्ति मात्र भन्छु। तिमी अलि ठूलो भएपछि सबै कुरा खोलौंला, विस्तारमा।

मैले तिम्रा धेरै प्रश्नहरुको जवाफ दिन पर्नेछ । अहिले तिमी र तिम्री आमालाई काठमाडौं बस्नका लागि लिन आउँदै गर्दा मलाई यो पत्र लेख्न मन लाग्यो। 

तिमीले सम्झन्छौ कि सम्झन्नौ कुन्नी, यही दशैंअघि तिमी नेपाल आएका बेला वालिंगमा एक जनाले थुप्रै मान्छेहरुबीच अलि हप्काएरै सोधेका थिए- "कहाँका हौ तिमी? तिमी भारतीय कि नेपाली?"

मेरो मन चसक्क भएको थियो। तिमी आत्तिन्छौ कि, अल्मल्ल पर्छौ कि जस्तो लागेको थियो। म अलि टाढै थिएँ। दगुर्दै गएर तिमीलाई काखमा उठाएर छातीमा टाँसम् कि जस्तो भएको थियो। रीस उठेको थियो त्यो मान्छेसँग ।

तिमीले केहीबेर सोचेर प्रस्ट भनेका थियौ उसलाई- "म त नेपाली पनि हो र इन्डियन पनि। आधा-आधा।"

अब ऊ पो अलमल्ल पर्‍यो !

मलाई त्यति बेला तिम्रो र मेरो सोच फरक हुनेछ भन्ने एउटा नयाँ 'रिअलाईजेशन' भएको थियो- संसारका हरेक कुराप्रति, नेपाल र नेपालीप्रति। 'राष्ट्रियता' प्रति पनि तिम्रो एउटा सोच बनिसकेको पाएँ मैले, तिमीले राष्ट्रियता के हो भनेर नबुझेको भए पनि।

तिम्रो त्यो जवाफले मलाई अचानक सोच्न वाध्य पारेको थियो- तिम्रो उमेरमा म कस्तो थिएँ होला? के म तिमी जस्तै सोच्न सक्थें?

पाँच वर्षको उमेरमा अहिले तिमी 'मम्' को लागि 'ट्रेडमिल'को कुरा गर्दैछौ। हामी भने स्कूलबाट फर्किँदा आमा कहिले-काहीं मात्र घरमा भेटिनुहुन्थ्यो । मेलापात सक्काएर  थकाईले लखतरान भएर फर्किएकी आमासँग साँझ अबेला मात्रै हाम्रो भेट हुन्थ्यो ।

फरक छ तिम्रो र मेरो संसार, त्यसैले फरक छ तिम्रो र मेरो सोच!

तिमी हुर्केको संसार र हामी हुर्केको संसार कति फरक छ! तिमीले भोग्ने संसार मैले भोगेको संसार भन्दा कत्ति फरक हुनेछ। तिम्रो आफ्नै यात्रा हुनेछ, आफ्नै संघर्षका कथाहरु। आफ्नै लक्ष्य, आफ्नै लडाईं, आफ्नै हार र जीत र आफ्नै पाठहरु। तर पनि, हामीले अहिले लिने हरेक साना-साना निर्णयले तिम्रो जीवनमा ठूलो फरक पार्नेछ, यो पनि मलाई थाहा छ।

काठमाडौं आउने कुराले तिम्री आमालाई पनि रमाइलो नै लागेको छ रे । उहाँलाई आफ्नो देश छोडेर, काम छोडेर नयाँ देशमा नयाँ मान्छेहरुसँग नयाँ जीवन शुरु गर्न पर्ने भएको छ। मैले चाहेर पनि बुझ्न सक्दिन, उहाँलाई कस्तो भैरहेको छ होला? तर उहाँ यो सबै तिम्रै लागि गर्दैहुनुहुन्छ ।  

तिम्रा लागि हामी सँगै बस्नपर्छ भन्ने उहाँलाई थाहा छ। मैले नेपाल छोडेर अन्त नजाने ढिपी गरेपछि उहाँसँग अरु विकल्प रहेन। त्यसैले अब उहाँ काठमाडौं आउने तयारी गरिरहँदा खुशी लागेको सुनाउनुहुन्छ मलाई। म बुझ्छु।

अहिले आमाले तिमीलाई लिएर आउन लागेको हैन, तिमी आमालाई लिएर आउन लागेका हौ।

त्यसैले, धन्यवाद ! र स्वागत छ नेपालमा ।

***

आउ बाबु, नेपाल असाध्यै राम्रो छ। म नेपाली भएर मात्र यसो भनेको होइन, धेरै विदेशीहरुले मसँग भन्ने गर्छन् - 'योर कन्ट्री इज ब्युटिफुल!' मलाई निक्कै गर्व लाग्छ।

अब त्यो नेपाल तिम्ले नजिकबाट, भित्रबाट चिन्नेछौ ।

केही समय अघिसम्म मैले नेपाल बस्ने कुरा गर्दा त्यहाँ बत्ती पनि छैन भन्नुहुन्थ्यो तिम्री आमा। मसँग कुनै जवाफ थिएन। अब तिम्रो पढाई-लेखाइ शुरु गर्ने बेलामा मैनबत्ती बालेर पढ्न पर्‍यो भने कस्तो होला भन्ने सोचेर पनि मलाई डर लाग्थ्यो।

मेरो बुवाले हात समाएर मलाई अक्षर लेख्न सिकाउँदा वालिङको हाम्रो घरमा बिजुली थिएन। मट्टितेलको ढिब्री बालेर पढ्थ्यौं। पछि म पाँच कक्षामा पुगेपछि बल्ल घरमा बिजुली आएको थियो। बिजुली देखेपछि र त्यो उज्यालो भोगेपछि हामीले बिजुली नहुँदाको कमी बुझेका थियौं। तिम्री आमालाई भने बिजुलीबिनाको संसार कल्पना नै गर्न नसकिने कुरा भयो होला।

तर अहिले काठमाडौंमा लोडसेडिङ छैन । काठमाडौं उज्यालो भएको कुरा मैले तिम्री आमालाई हौसिंदै सुनाएको थिएँ। उहाँ पनि असाध्यै खुशी हुनु भएको थियो ।

यहाँ काठमाडौंमा हामी झनै खुशी भएका छौं। लोड्सेडिङ हटेपछि उज्यालोको खुशी त छँदैछ बाबु, हामीलाई त यसले नेपालको उज्ज्वल भविष्यको आशा पनि थपेको छ। आत्म-विश्वास र उत्साह बढेको छ।

***

यहाँ आएपछि तिमीलाई कस्तो लाग्छ होला भनेर मैले सोच्न थालेको धेरै भयो। अहिले तिमी काठमाडौं आउँदै गर्दा मलाई खुशी पनि छ र अलिकती तनाव पनि। 

तिमी आउँदा-आउँदै काठमाडौंमा जताततै धुलोले तिमीलाई स्वागत गर्नेछ। कति पटक तिमीलाई मुखमा मास्क लगाएर यता र उता हिंडाउनपर्दा तिम्री आमा मसँग रिसाउनुहोला भन्ने मैले कल्पना गरिसकेको छु।

कति पल्ट मलाई नभने पनि उहाँलाई पछुतो हुनेछ। कहिले-काहीं भने रिसाएर म सँग झर्कनुहुन्छ होला, मलाई थाहा छ।

यहाँ समस्याहरु धेरै छन् तर, समस्या नभएको त कुन ठाउँ हुन्छ र ? म मान्छु, अहिले भत्केका धेरै कुराहरु मिलाउन पर्ने छ। तर यो बाहेक मेरो अर्को घर छैन बाबु।

नेपाल बाहेक मेरो अर्को विकल्प नै छैन!

त्यसैले यहाँ नै मेरो भविष्य खोज्न र यहाँ नै तिम्रो भविष्य खोज्न म वाध्य छु। तिमीलाई यो बाध्यता मेरो 'पागलपन'ले पारेको हो तर यसमा मलाई ग्लानि छैन किनकि मलाई पुरा विश्वास छ छोरा - अब नेपाल बन्दैछ !

अहिले सबै भन्दा ठूलो समस्या राजनीतिको छ। तिमीले अहिल्यै बुझ्दैनौ, बुझ्न परेको पनि छैन। तिमी यहाँ आएपछि सोध्ने धेरै प्रश्नको उत्तरमा मैले त्यही भन्नेछु - यहाँको राजनीतिले गर्दा।

तर म एउटा कुरा ढुक्क सँग भन्न सक्छु - अब धेरै दिन यस्तो रहँदैन।

तिमी हुर्कँदै गर्दा सँगसँगै नेपालको दिन फेरिनेछ, यसमा मलाई कुनै शंका नै छैन। हामी सँधै चुप लागेर बस्न सक्दैनौं- सधैं अध्यारो हुनै सक्दैन।

तिमी हुर्कँदै गर्दा सँगसँगै 'नयाँ नेपाल' पनि हुर्कनेछ। तिमी त आफ्नो बाल-सुलभतामा हरेक कुरासँग सजिलै एड्जस्ट गर्नेछौ भन्ने मलाई थाहा छ, तर पनि आजको नयाँ विश्वअनुसार तिम्रा माग र आकाँक्षाहरु हुनेछन्।

मलाई तिम्रो चिन्ता छ। तिम्रो भविष्यको चिन्ता छ।

मलाई नेपालको चिन्ता छ। नेपालको भविष्यको चिन्ता छ।

र अब तिम्रो, मेरो र नेपालको भविष्य जोडिएको छ। त्यसैले बाबु, तिमीलाई धन्यवाद र स्वागत छ। तिमीले हामीलाई बाँधेका छौ र अत्याएका छौ आज - नेपालको भविष्यका लागि र तिम्रै भविष्यका लागि प्रतिबद्ध हुन वाध्य पारेका छौ।

म ढुक्क भएर भन्न सक्छु बाबु, तिम्रो अभिभावक पुस्तालाई आफ्नो जिम्मेवारी थाहा छ। हामीभन्दा अघिल्लो पुस्ताका धेरै नेपालीहरु 'आफ्ना' छोरा-छोरी विदेशमै सुखी र समृद्ध जीवन बाँचे हुन्थ्यो भन्ने कामना गर्न वाध्य छन्। अमेरिका जाने ग्रीनकार्ड पाउँदा बाउ-आमाले पार्टी गर्छन्। भोलि छोरा-छोरी नेपाल आउँदा 'टुरिष्ट भिसा' लगाएर आउनपर्ने कुरा छाती फुलाउँदै सुनाउछन्।

हामीले त्यो बुझेका छौं, र त्यसको बेफाईदा प्रत्यक्ष भोगेका छौं।  त्यसैले त आ-आफ्नो ठाउँबाट यो देश बनाउन कस्स्सिएका छौं। भोलि हामीले पनि हाम्रा छोरा-छोरी नेपाल नबसे हुन्थ्यो भन्ने अवस्था आउने हो कि भन्ने कुराले पिरोल्छ - त्यसको लागि जस्तोसुकै मुल्य चुकाएर भए पनि यो देशको मुहार फेर्नु छ। मात्र तिम्रा लागि !

अहिले यहाँ हरेक क्षेत्रमा निक्कै आशालाग्दा मान्छेहरु देखिन थालेका छन् । अब तिनैले नेपालको प्रगति डोर्‍याउने छन्। त्यो यात्रामा तिमी सानैदेखि प्रत्यक्ष सहभागी हुनेछौ। हामीले जगमा सिमेन्ट थपेको, गारोमा इट्टा राखेको तिमीले देख्नेछौ। र बन्दै गरेको 'नेपाल' तिमीलाई आफ्नै लाग्नेछ भन्ने कुराले मलाई साह्रै हौस्याएको छ।

जहाँसम्म काठमाडौंमा धुलोको कुरा छ- म तिम्री आमालाई बुझाउँला, बाटो फराकिलो पार्ने काम सकिएपछि रिङ्गरोडको धुलो हराएर जानेछ। अहिलेलाई मास्क छँदैछ!

प्रतिकृया दिनुहोस