गायक पन्नाकाजीको निधन
गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा १२ माघ विहान निधन भएको छ ।
आज विहान साढे ५ बजे काठमाडौंको तहाचलस्थित निवासमा उनको निधन भएको हो ।
ओमबहालका स्थायी वासिन्दा पन्नाकाजी गतवर्षको भूकम्पले घरमा क्षति पुगेपछि तहाचल सरेका थिए ।
उनको स्वर र संगीत रहेको ‘तिरीरी मुरली बज्यो वनैमा’ बोलको गीत सदाबहार चर्चित गीत हो ।
२००७ सालदेखि २०४० सालसम्म रेडियो नेपालमा काम गरेका पन्नाकाजीका ‘किन किन तिम्रो तस्वीर’, ‘नौ लाख तारा’, ‘लोलाएका ती तिम्रा आँखा’ लगायतका गीत चर्चित छन् ।
उनका तीनवटा गीत संग्रह (एल्बम) ‘लिजेन्ड अफ पन्नाकाजी’ ‘कसरी बिर्सुं म’ र ‘लिजेन्ड अफ पन्नाकाजी–आफ्नो संसार’ प्रकाशित छन् ।
करिब चार सय गीतमा स्वर दिएका पन्नाकाजीका अधिकांश गीत उनकै संगीतमा छन् । उनले भक्ति गीत र नेपाल भाषाका गीत समेत गाएका छन् ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् ।
उनको आजै अन्त्येष्टी गरिएको छ ।