टिप्पणीसोमवार, माघ १०, २०७३

धन्यवाद राज्य !

शेखर खरेल

एक सज्जनले पञ्चायत र बहुदलबीचको भेद खुट्याउँदै भनेको सम्झ्न्छु, ‘पञ्चायतमा कसैको विरोध गर्न गाह्रो, बहुदलमा कसैको प्रशंसा गर्न गाह्रो ।’
बहुदलको पुनस्र्थापनापछि निन्दा आम बनेको छ, त्यो पनि विशेषगरी राज्य सञ्चालन गर्नेहरूको । फ्रान्सका अन्तिम राजा लुई चौधौंले ‘म नै राज्य हुँ’ भने झ्ैं राज्य सञ्चालकहरूले स्रोत र सुविधाको सक्दो दोहन गरिरहेका छन् र तिनको बोझ् चाहिं ‘सार्वभौम’ जनताको पोल्टामा राखिदिएका छन् । देश र सरकार सञ्चालकप्रति नागरिकको रोष बढ्नुको कारण नै यही हो । केही नागरिक त राज्यप्रति यतिसम्म निरपेक्ष देखिन्छन् कि उनीहरूको ध्याउन्न नै कसरी मुलुक छाड्ने भन्नेमा छ । अमेरिकी डाइभर्सिटी भिषा, क्यानडा र अष्ट्रेलिया आप्रवासन प्रयासको एउटा कारक यही हो ।

राज्य नागरिकको अभिभावक हो । त्यसैले नागरिक राज्यबाट सुरक्षा चाहन्छन् । नागरिकलाई राजनीतिक सुरक्षा र अधिकार मात्र पर्याप्त हुँदैनन् । शरीरको सुरक्षा नै नागरिकको प्राथमिकता हो । स्वस्थ शरीर र आरोग्यताको बलमा ऊ सुखी जीवनयापन गर्न सक्छ । स्वस्थ नागरिक भएको मुलुक समृद्ध हुन्छ । त्यसैले संसारका विकसित मुलुकले नागरिकको आरोग्यताको प्रत्याभूतिसमेत गर्छन् । यस्ता मुलुक ‘वेलफेयर स्टेट’ अर्थात् लोककल्याणकारी राज्य कहलिन्छन् ।

विद्यार्थीको हैसियतमा बेलायतमा उच्चशिक्षा अध्ययन गर्दा ठूलो सडक दुर्घटनामा परेको यो पंक्तिकारले जुन निःशुल्क उच्चस्तरीय चिकित्सा सेवा प्राप्त ग¥यो, त्यसले बेलायती अनुहारमा सम्राज्यवादी होइन, लोककल्याणकारी छायाँ देखिन्थ्यो । अमेरिकामा चाहिं गुणस्तरीय चिकित्सा सेवा सःशर्त उपलब्ध छ । त्यहाँ स्वास्थ्य वीमा गरेकाहरूका हकमा शुल्क मिनाहा हुने भए तापनि आकस्मिक उपचारमा पुगेकालाई यस्तो सेवावाट बञ्चित त गरिंदैन, तर खर्च असुल गरेरै छाडिन्छ । ती मुलुकहरूमा उपचार गर्न नसकेकै कारण अकालमा कसैको मृत्यु भने हुँदैन ।

तर, नेपालमा भने हामी बेखर्ची हुँदा उपचार नपाएर मृत्युको मुखसम्म पुगेका समाचार पढ्छौं, सुन्छौं । गल्ली र दोबाटोमा सहयोगका लागि याचना गरिरहेका देख्छौं पनि । असहायको आर्तनादवाट द्रवित बन्नेहरू उनीहरूलाई यथासक्य सहयोग दिइरहेका हुन्छन् पनि । तर, यस्तो सहयोगले सानो भरथेग मात्र हुन पुग्छ । क्यान्सर, मिर्गौला, मुटु र स्नायुसम्बन्धी रोगको शल्यक्रिया र उपचारका लागि ठूलो रकमको दरकार पर्दछ । फेरि, यस्ता उपचार जीवनपर्यन्त जारी राख्नुपर्ने हुन्छ । यसखाले रोगको स्तरीय उपचार दुई अवस्थामा मात्र सम्भव हुन्छ, कि त रोगी स्वयं सम्पन्न हुनु पर्छ, कि उपचारको अभिभारा राज्यले नै व्यहोर्नु पर्दछ । लोककल्याणकारी राज्यको परीक्षण यस्तै अवस्थामा हुन्छ ।

चाँदीको घेरा
यस आलेखको प्रारम्भमा कोट्याइएको निन्दा र प्रशंसाको प्रसंग राज्यसँग जोडिएको छ, जसको भुक्तमान पंक्तिकार स्वयं हो । विदेशमा विद्यार्थीको हैसियतमा रहँदा निःशुल्क र अब्बल स्वास्थ्योपचार पाएर सवल जीवन व्यतित गर्दै आइरहेको ऊ, स्वदेशमा चाहिं खल्तीमा दाम नभएकै कारण उपचारबाट वञ्चित भएकाहरूको अवस्था देख्दा द्रवित बन्थ्यो । तर, केही समययता तमाम बेथितिको कालो बादलबीच चाँदीको सानो घेरा देख्दा ऊ राज्यप्रति कृतज्ञ बनेको छ ।

मधुमेहका दीर्घरोगी पंक्तिकारका पिता दुवै मिर्गौलाले लगभग काम छाडेपछि डायलासिस उपचार लिइरहेका छन् । मिर्गौलाका विकार शुद्धीकरणको यस प्रक्रियाका लागि चौबीसै घण्टा पेरिटोनियल डाइलासिस सोलुसन दिइनु पर्दछ, जसको दैनिक मूल्य मात्र करीब रु.१२०० पर्न जान्छ । तर, केही वर्ष अघिसम्म बिरामी आफैंले व्यहोर्नुपर्ने यो खर्च आज राज्यले थेगिदिएको छ । मिर्गौला प्रत्यारोपित पूर्वप्रम केपी शर्मा ओलीको सरकारले डाइलासिसको आधा खर्च सरकारका तर्फबाट व्योहोर्दै आएकोमा युवा स्वास्थ्य मन्त्री गगन थापा एक कदम अघि बढेका छन् । यसबाट पिताले मासिक रु.३६ हजार बराबरको औषधि निःशुल्क प्राप्त गर्न सम्भव भएको छ । मिर्गौला जस्तै मुटु, क्यान्सर र स्नायु रोगका लागि राज्यले उपचारमा सहयोग गरिरहेको छ । शल्यक्रियाको हकमा यस्तो सहायता पर्याप्त नभए तापनि यो आफैंमा राम्रो शुरुवात भने हो ।

स्वास्थ्य क्षेत्रमा बेथितिका थाक छन् । तर, यस्ता केही उदाहरण पनि छन्, जसले सकारात्मक पहल भइरहेको संकेत गर्छ । एउटै मात्र गतिलो कामका लागि मात्रै भए पनि एक नागरिकको हैसियतले राज्यलाई मैले धन्यवाद दिनैपर्छ । धन्यवाद मेरो राज्य !

प्रतिकृया दिनुहोस