दस्तावेजशनिवार, माघ ८, २०७३

मैत्री सन्धिको काँडा

ज्ञानमणि नेपाल

भीमसेनको भूल सुधार भइसके पनि नेपालीको मनलाई 'शान्ति तथा मैत्री सन्धि' को काँडाले घोचिरहेकै छ। 

२०३५ देखि त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशिया अनुसन्धान केन्द्र (सिनास) मा संलग्न भई अनुसन्धानकर्म थालें। मेरो अनुसन्धानको विषय नेपाल–चीन–तिब्बत समीक्षात्मक इतिहास थियो। चार–पाँच वर्ष त ऐतिहासिक सामग्री संकलनमै लाग्यो।

चन्द्र शम्शेर

नेपाल सरकारको परराष्ट्र मन्त्रालय, कौसीतोसाखाना, मालपोत कार्यालयका कोठा हुँदो पसेर धूलो–ढुँडीमा बहुत कष्टले पुराना अभिलेख, दस्तावेज सार्न लागें। त्यसरी चार भाग संग्रहित भए। पहिलो भाग ८०० पेजको भयो भने अरू तीन–चार सय पृष्ठका। नेपाल–चीन–तिब्बत सन्धि पत्र संग्रहको भाग चाहिं अलि सानो थियो। 

सामग्री संकलन भएपछि बिहान सबेरदेखि राति अबेरसम्म ग्रन्थ लेख्ने काम गर्थें। २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य भएर जाँदा सिनासमा १३ वटा पाण्डुलिपि बुझाएको थिएँ।

सिनासले नेपाल–चीन–तिब्बत सम्बन्धी अभिलेखको पहिलो भाग त प्रकाशनार्थ सिंहदरबार छापाखानामा पठाइ पनि सकेको थियो, तर सो ग्रन्थ छापिएन। कताबाट, कसरी अपहरणकारीको लामो हात पर्‍यो र गायब भयो।

त्यो मात्र नभई अरू पनि अभिलेख ग्रन्थ गायब भए। त्यहाँ भएका नेपाल–चीन–तिब्बत सम्बन्धी अभिलेखका भाग र समीक्षात्मक इतिहासका केही भाग अपहृत भएछन्, विशिष्ट भन्नेबाटै। अभिलेख पाउन अब मुश्किल छ, तर अनुसन्धानात्मक ग्रन्थ पुनर्लेखन गरेर त्यसको तीन भाग चाहिं भृकुटी प्रकाशनबाट छपाउन सकेको छु।

त्यस्तै, कवि जयतले संस्कृत प्राकृत भाषामा रचना गरेको जयस्थिति मल्ल भन्दा पहिले भुजिमोल लिपिमा लेखिएको महीरावणवध नाटक अनुवाद र सम्पादन गरी तयार पारेर त्रिवि छापाखानामै दिएर आफैं लागिपरेको हुँदा प्रकाशित भएर आयो।

पुराना आचार्यले भने जस्तै जति मेरा ग्रन्थ अपहरण गरेर लगे पनि मेरो बुद्धिचाहिं अपहरण गर्न सक्ने छैनन्। त्यो अझ् बढ्दै जाओस्, विद्यादेवीसँग यही प्रार्थना छ।

अनुसन्धानकै सिलसिलामा मैले परराष्ट्रमा केही विशिष्ट अप्राप्य दस्तावेज पाएकोमा तिनमा केही चाहिंको प्रतिलिपि लिएको थिएँ।

पृथ्वीनारायणको एकीकरण अभियानलाई काव्यात्मक वर्णनले जनतासमक्ष पुर्‍याउन चाहने उदयानन्दको पृथ्वीन्द्रोदय पहिलो महाकाव्य थियो। धेरै समय र परिश्रमले सम्पादन गरी व्याख्या, समीक्षा साथ प्रकाशन खर्च समेत आफैंले जोहो गरेर छपाउन प्रज्ञा प्रतिष्ठानमा दिएको थिएँ।

परराष्ट्रमै रहेको राणाकालीन अधिकारी र ब्रिटिश अधिकारीबीचका परिसंवादको सँगालोलाई पनि त्यसै छाड्न नसकिने ठूलो प्रयासले सारेको थिएँ। त्यही ग्रन्थको सम्पादकमा पनि एकजना प्राज्ञले सुटुक्क आफ्नो नाम चढाएछन्, वेलैमा चाल पाएर हटाउन लगाएँ।

अर्काको वर्षौंको श्रम र बुद्धिबाट तयार भएका ग्रन्थमा रातारात अनुसन्धाता बन्न खोज्ने लोलुपका गिद्धेदृष्टि यसरी पर्छन्।

जंगबहादुर राणा

एकदिन त्रिवि इतिहास विभागका अध्यापक 'ज्ञानमणिजी, मैले नेपालमा पनि सिपाही विद्रोह भएको खोज गरें नि' भन्दै आउँदा तीनछक्क परें। कहाँबाट यस्तो नयाँ कुरा पाउनुभो भनिसोध्दा 'यो प्रमाण यही पाएको हुँ, तर यो बेलायतबाटै आएको हुनसक्छ' पो भने।

अमेरिकाबाट विद्यावारिधि गरेका इतिहास केन्द्रीय विभागमा पढाउने मान्छे यस्ता छन्! सिपाही असन्तुष्ट भएको कुरा इतिहासमा लेखिएको छ, सबै वंशावलीमा पाइन्छ। यस्ता कुरामा नयाँ खोज गरें भन्छन्।

हुन त यिनका गुरु नै वंशावलीमा लेखेको कुरा ल्याएर मैले नयाँ अनुसन्धान गरें भनी हिंड्छन्। यस्ताहरूले विद्यार्थीलाई के पढाउँछन्? विशेष अनुसन्धान गर्छु भन्दै धेरै वर्ष तलब भत्ता खानेहरूले अनुसन्धान त के एक पंक्ति लेखेको देखिएन।

प्राध्यापक समाजमा यस्तै माहोल चलिरहेको अवस्था सिनासमा बुझाएका मेरा अनुसन्धान प्रतिवेदनका पाण्डुलिपिहरू चोरिए। प्रज्ञा प्रतिष्ठानमा पनि त्यस्तै, मेरै योजनामा तयार पारेका ग्रन्थ पछि आएका प्राज्ञले आफ्नै पारेर छपाए।

आचार्य कौटिल्यले भनेकै छन्– परसम्पदुत्कर्षो हि हानसम्पदं दुःखाकरोति (धन सम्पत्तिमा, विद्याबुद्धिमा तल परेका मानिसलाई अर्काको यस्तो उन्नति उत्कर्ष सहिनसक्नु दुःखदायी हुन्छ)। त्यस्तै भयो ममाथि।

यो मानुषी पीडा छँदै थियो, त्यसमाथि १५ चैत २०७० मा घरमा अग्निदेवको आँखा लाग्यो। अग्निदाहमा केही पुस्तकपत्र पनि परे। त्यसरी दैवी पीडा पनि मैउपर पर्दा जीवन अत्यन्त संघर्षमय भयो। 

आफूले उपयोग गरेका ठूला दस्तावेज ग्रन्थहरू राष्ट्रिय अभिलेखालयमा दिइसकेको थिएँ। एउटा अर्को मेरा प्रमातामहले संकलन गरेको पुरानो नेपाली भाषाको भक्तिकाण्ड रामायण मामाका छोराबाट मैले पाएको थिएँ, त्यो तत्कालै प्रेसमा दिएँ।

राणाकालिक परिसंवाद चाहिं सम्पादक किरण नेपालको सल्लाह मुताविक हिमाल साप्ताहिक खबरपत्रिकामा पाक्षिक रूपले प्रकाशनार्थ दिन लागें। २०७१ असारदेखि लगातार छापिंदै आउँदा गताङ्कसम्ममा सो दस्तावेज समाप्त भयो।

अब उप्रान्त सम्पादकको सल्लाह अनुसार पाठकलाई चासो पर्ने अर्को कुनै अभिलेखको दस्तावेज पहिल्याएर हिमाल मा पहिला जस्तै नियमित प्रकाशित गर्दै लानेछु।

नेपालको 'सैनिक विद्रोह'
अहिलेसम्म दुई राष्ट्रका अधिकारीबीच भएका संवादका श्रृखलाबाट के–के अवगत भए, संक्षेपमा हेरौं। भीमसेन थापाको अवसानपछि शाह–पाँडे–पौडेलको हातमा शासन गयो। पाँडेकाजीले युद्धमा गुमेका जमीन फिर्ता गर्ने उद्देश्यले युद्ध खर्चको जोहो गर्ने विचार गरे। त्यसवेला भूमिकर भन्दा बाहेक सरकारको अर्को ठूलो आर्थिक स्रोत के थियो र? जे उठाए पनि जनताबाटै उठाउने अवस्था थियो।

अघि सैनिक कर्मचारीलाई जागीरमा जमीनै दिइन्थ्यो। जमीनमा आय बढाउन अब नगदै जागीर दिने कुरा भो। यो कुरा सुन्नासाथ भड्किएका सैनिकहरू बन्दूक सुताएर टुँडिखेलमा जम्मा भए।

त्यसलाई सिपाही विद्रोहको संज्ञा त दिइयो तर त्यो भारतको जस्तो अंग्रेजको सत्तै पल्टाउने विद्रोह थिएन। पाँडे–काजी–शाह शासकहरूसँगको असन्तोषलाई राजासमक्ष जाहेर गर्नुथियो। असन्तुष्ट सैनिक दल शासकका घर पसेर उपद्रो गर्न थालेपछि राजाले सो आदेश फिर्ता लिंदा असन्तोष साम्य भैहाल्यो।

१९१४ सालमा भारतमा उठेको सिपाही विद्रोहको उद्देश्य इष्ट इण्डिया कम्पनी सरकारलाई समाप्त पारेर खेद्ने थियो। यो उद्देश्य पूर्तिका लागि भारतका सम्पूर्ण राजा–रजौटा, नवाफहरूले जंगबहादुरलाई गुहारे, तिम्रै नेतृत्वमा हामी लड्छौं अंग्रेजलाई धपाऔं भन्दै।

परन्तु जंगबहादुरले तिनको आग्रह मानेनन्। उल्टै यिनका विरुद्धमा अंग्रेजकै साथ लागेर लड्न धेरै सैन्यसाथ आफैं अघि सरेर गए। भारतको स्वतन्त्रता संग्रामलाई साथ नदिई आफ्नो पनि बापवैरी अंग्रेजलाई साथ दिएर जंगबहादुरले किन अपजस बोके? यसको समीक्षा अर्को लेखमा गर्नेछु।

सन्धिको उतारचढाव
अघि युद्धमा अंग्रेजसँग हार खाएपछि वीर गोर्खाली लडाकाहरू आफ्नो युद्धपेशा अपनाउन कोही शिख राजा रणजीत सिंहको पल्टनमा भर्ना हुन लाहोर पुगेर लाहुरे भए।

ब्रिटिश सरकारले पनि भागीनाशी आएका गोर्खालीहरू जम्मा गरेर गोर्खा रेजिमेन्ट खडा गरेको थियो। त्यस गोर्खा पल्टनलाई अझ् बढाउन अंग्रेज छानीछानी रिकुट भर्ना गर्न चाहन्थ्यो। तर, त्यस्तो प्रस्ताव राख्दा जंगबहादुरले सुन्नै मानेनन्। उनले लडाका वीरहरूलाई विदेशिन दिएनन्, आफ्नो धन पनि विदेश लगेनन्।

जनताको पनि धन विदेशिन दिंदै दिएनन्। जनबल र धनबलले देशलाई मजबूत पार्न उनी सचेत थिए। अहिले त हाम्रो जनबल पनि खोलोधुर लागेर विदेशिइरहेको छ, धनबल पनि विदेशमै ओइरिएको छ। जनशक्ति र द्रव्यशक्तिविहीन भएर देश खोक्रो हुने खण्ड आइरहेछ।

जंगबहादुर आफ्ना भाइ, छोरा र भतिजाहरूलाई पनि सधैं सुर्‍याइरहन्थे। ब्रिटिशसँग सधैं गाढा मैत्री सम्बन्ध राख्नु, राजासँग पनि सुमधुर सम्बन्ध, यति भए यो राज्य चिरस्थायी हुन्छ भन्ने उनको भनाइ हुन्थ्यो। हुन पनि त्यस्तै भयो।

उनले नेपाल राष्ट्रको मानमर्यादालाई कायम राखे। आफू पनि मानमर्यादा कायम राखेर रहे, विदेशीबाट पनि कहिल्यै कत्ति हेपिएनन्। जंगबहादुरले लडाइँबाट गुमेका नयाँ मुलुक (बाँके, वर्दिया, कैलाली र कञ्चनपुर) ब्रिटिशसँग मिलेरै जोडे भने युद्ध लडेरै भोटमा नेपालको प्रभाव जमाए।

भोटलाई सय वर्षसम्म कर तिराए। भोटमा निःशुल्क र विना व्यवधान नेपालीको व्यापार चलाए। पृथ्वीनारायण शाह र बहादुर शाह पछि नेपालमा सम्झनलायक शासक यिनै भए।

जंगबहादुर पछि नेपालको त्यो मर्यादा–सम्मान कायम रहेन। विदेशीले जोरजुलुम गर्न खोजे, नेपाल साह्रै हेपियो। चन्द्रशमशेरले नेपालको पुरानो शानसौकत, मर्यादा कायम राख्न अनेक जुक्ति गरे, अंग्रेजको मिचाहा प्रवृत्ति र अर्घेल्याइँलाई परास्त गर्न लागिरहे।

आखिर प्रथम विश्वयुद्धमा भएभरको सैन्य जनशक्ति, द्रव्यशक्ति सहयोग दिएर जंगबहादुरले जस्तै जमीन जोड्न चाहे, तर सकेनन्। ब्रिटिश सरकारले 'सब्सिडी' को रूपमा केही धन मात्र दियो।

ब्रिटिशले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता स्वीकार्ने र काठमाडौंमा रेजिडेन्टको साटो राजदूत राख्ने काम भने गर्‍यो। नेपालका श्री ५ 'हिज म्याजेष्टी' द्वारा सम्बोधित हुने भए, नेपाल अन्य देशसँग पनि दौत्य सम्बन्ध कायम गर्न स्वतन्त्र भयो। श्री ३ चन्द्रशमशेरको पालामा ठूला कुरा यही भए।

चन्द्रशमशेर, भीमसेन थापाको भूलचूकले सय वर्षसम्म पनि सतायो भनेर पिरिइरहन्थे। भीमसेनको भूलबाट नेपाली मात्रले पीडा पाएका थिए। अहिले पनि 'शान्ति तथा मैत्री सन्धि' (२००७ साल) को तुष छ, जसले नेपालीको मनमस्तिष्कमा घोचिरहेको छ। त्यो काँडालाई पनि झिकेर नेपालीको मन सङ्लो पार्नु परमावश्यक छ।

प्रतिकृया दिनुहोस