हेवा–ए को ६ मेगावाट विद्युत केन्द्रीय प्रसारणमा जोडियो
पाँचथरको हेवा खोलाबाट उत्पादन गरिएको ६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
गत १५ मंसीरदेखि परीक्षण उत्पादन थालेको हेवा–ए जलविद्युत आयोजनाबाट उत्पादित विद्युत थापाटारमा निर्माण गरिएको सवस्टेसन चार्ज नगरिंदा यसअघि केन्द्रीय प्रशारण लाइनमा जोडिन सकेको थिएन ।
कावेली करिडोर ३३ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको सबस्टेसनमा स्थानीय तहमा उत्पादित विद्युत केन्द्रीय प्रसारणमा पठाउने ‘सिष्टम चार्ज’ गरेपछि हेवा– ए को विद्युत केन्द्रीय प्रसारणमा जोडिएको हो ।
पाँचथर पावर कम्पनीले सञ्चालनमा ल्याएको १४.९ मेगावाट क्षमताको उक्त आयोजनाले अहिले हिउँद याममा खोलामा पानी कम हुँदा ६ मेगावाट मात्रै उत्पादन गरिरहेको छ ।
हेवामा उत्पादित विद्युत १३२ केभिए क्षमताको ट्रान्सफरमर मार्फत केन्द्रीय प्रसारण लाइनमा पठाउनु पर्ने भए पनि काम नसकिएकाले तत्कालका लागि ३३ केभिए प्रशारण लाईनबाट केन्द्रीय प्रसारणमा पठाइएको पाँचथर पावर कम्पनीका निर्देशक वसन्तकुमार नेम्वाङले जानकारी दिए ।
१३२ केभिए विद्युत् प्रशासरण लाइनको काम सम्पन्न हुन् अझै केही समय लाग्ने भएपछि ३३ केभिए प्रशारण लाइनबाट इलामको गोदक सबस्टेशनसम्म र त्यहाँबाट १३२ केभिए प्रशारण लाइनमा जोडिएको छ ।
फिदिमको थापाटारमा भएको सबस्टेशन चार्ज गरिएपछि यहाँको बिजुली पाँचथर इलाम र ताप्लेजुङका विभिन्न स्थानसम्म पठाइएको कावेली करिडोरका प्रमुख दिपेन्द्रराज द्विवेदीले वताए ।
दुई अर्ब २४ करोडको लागतमा काम सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको काम रु २ अर्ब ५० करोडको लागतमा सम्पन्न भएको हो ।
आयोजनामा स्थानीय वासिन्दाकोे तीन करोड, आयोजनामा कार्यरत कर्मचारीहरुको दुई करोड र बाँकी रकम सानिमा बैंक सहित अन्य ११ ओटा बैंकहरुको लगानी छ ।
लक्ष्मी गौतम, पाँचथर