स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा पन्त नियुक्त
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा राजेन्द्र पन्तलाई नियुक्त गरेको छ ।
बालस्वास्थ्य महाशाखाका निर्देशक डा पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
त्यस्तै विभागका महानिर्देशक डा पुष्पा चौधरीलाई प्रसूतिगृहमै काज फिर्ता गरिएको पौडेलले बताए ।
यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो ।
६ माघको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए ।
सल्लाहकार पौडेलका अनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसद्मा दर्ता हुनेछ । सरकारले यो प्रतिष्ठान प्रदेश नम्बर ५ का लागि स्थापना गर्न लागेको हो ।
सरकार र डा गोविन्द केसीबीच प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज बनाउने सहमति भए अनुसार यो प्रक्रिया अगाडि बढाइएको हो ।