संसद बैठक: स्थानीय निर्वाचन चाँडै घोषणा गर्न माग
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
बैठकको विशेष समयमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भए पनि निर्वाचन गराउन माग गरे । पौडेलले भने, “स्थानीय निर्वाचन नगरी शुरुमा केन्द्रीय निर्वाचन गर्ने कुरा हुन सक्दैन । स्थानीय, प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्नुपर्छ ।”
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनुके कारणबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने माग गरे ।
उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै चाँडो निर्वाचनको मिति तोक्न आग्रह गरे । नेता रावलले खुला रुपमा देश विखण्डन गर्ने आवाज र कूटनीतिक मर्यादा विपरीतका गतिविधि भइरहेको बताउँदै सरकारले यसमा ध्यान नदिएको आरोप पनि लगाए ।
नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले संविधान संशोधन गर्ने मूल थलो सदन नै भएकाले त्यसलाई कसैले रोक्न नहुने विचार राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरे ।
राष्ट्रिय जनमोर्चाका मीना पुनले सरकारले छिटोभन्दा छिटो स्थानीय निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताइन् ।
रासस