स्थानीय निर्वाचनपछि नयाँ सरकार: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताएका छन् ।
प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले चैतमा सरकार परिवर्तन नभई स्थानीय तहको निर्वाचनपछि मात्रै परिवर्तन हुने बताए ।
उनले निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने भन्दै विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो हुन गएको स्पष्ट पारे ।
पत्रकारका प्रश्नमा नेता देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गरे । आजको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ भन्दै उनले सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।
मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको बताउँदै उनले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने आशङ्का व्यक्त गरेका थिए ।
रासस