जात र भूगोलको राजनीतिले मुलुक उँभो लाग्दैनः ओली
एमाले अध्यक्ष केपी ओलीले जात र भूगोलको राजनीतिले मुलुक उँभो नलाग्ने बताएका छन् ।
पश्चिम झापाको लखनपुर–३ स्थित मंगलबारे बजारमा १६ किलोमिटर लामो सडकको स्तरोन्नती शिलन्यास गर्दै उनले भने, “यो १ नम्बर प्रदेशमा त्यस्तो राजनीतिक खेतीपाती चल्दैन ।”
ओलीले बिकासको गतिलाई तिब्रता दिन जरुरी भएको बताए । आफु प्रधानमन्त्री भएकाबखत किमाथांका–जोगबनी सडकको निर्माणको काम अघि बढाउन पहल गरेको भन्दै उनले थपे, “मैले बिकासमा गति दिन थालेको थिएँ, त्यसपछि कसरी मलाई हटाइयो तपाँईहरुलाई थाहै छ ।”
झापा ७ को सो क्षेत्रबाट ओली २०४८, २०५१, २०५६ र २०७० सालका संसदीय र संविधानसभा निर्वाचनमा विजयी भएका हुन् ।
लखनपुरबाट शिवगञ्ज पुग्ने सो सडकको निर्माण लागत ७ करोड २३ लाख छ ।
दुईवर्ष भित्रमा निर्माण भइसक्नुपर्ने गरी सडकको ठेक्का इलामको गजुरमुखी निर्माण कम्पनीले लिएको छ ।
ओलीले ६ माघमै दमक १७ र १९ मा क्रमशः मावा र रतुवा खोलामा पुलको पनि शिलान्याश गरेका छन् ।
रु ३३ करोड ५२ लाख लागत रहेको रतुवा खोलामा निर्माण हुने ३०० मिटर लामो पुलको चौडाई १०.५ मिटर रहने छ । पुल निर्माण सम्पन्न हुन तीनवर्ष लाग्ने छ ।
यसैगरि दमक-१७ को मावा खोलामा ओलीले ६ पुसमै शिलन्यास गरेको २०० मिटर लामो १०.५ मिटर चौडा पुलको लागत रु २२ करोड ८७ लाख ५० हजार रहने सडक बिभाग कार्यालय दमकले जनाएको छ ।
काठमाडौंको श्री शर्मा जनक जेभी निर्माण कम्पनीले निर्माण ठेक्का लिएको सो पुलको निर्माण अवधि दुईबर्ष रहने ठेक्का सम्झौतामा उल्लेख छ ।
गोपाल गडतौला, झापा