कलैयालाई उपमहानगरपालिका बनाउन माग गर्दै अनशन
बाराको कलैया नगरपालिकालाई उपहानगरपालिका बनाउनुपर्ने माग गर्दै उद्योग वाणिज्य संघ बाराले रिले अनशन शुरु गरेको छ । कलैयाको भरत चोकमा शुरु भएको रिले अनशनमा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले पनि साथ दिएका छन् ।
रिले अनशनको पहिलो दिन ६ माघमा उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वमा, नेपाली कांग्रेसका दिश्यनाथ श्रेष्ठ, युवा संघका पुरुषोत्तम साह, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव, नेकपा माओवादी केन्द्रका मुकेश साह, सद्भावना पार्टीका राम कुमार खड्की, तमलोपाकी पिंकी यादव, तराई मधेस सदभावना पार्टीकी शायरा बानो, नेपाल सदभावना पार्टीका महेन्द्र मण्डल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी कलावती पासवान, संघीय समाजवादी फोरम नेपालका पारस साह, नेकपा एमालेका विक्रम यादव गरि १७ जना अनशनमा बसेका छन् ।
माग पुरा नभएसम्म हरेक दिन बिहान १० बजेदेखि अपरान्ह चार बजे सम्म रिले अनशन बसेर दवाव दिने उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैले बताए ।
यसअघि उद्योग वाणिज्य संघ बारा कै आव्हानमा ५ माघमा कलैयामा दुईघण्टा सडक अवरुद्ध पारेर उपमहानगरपालिका बनाउनुपर्ने भन्दै प्रदर्शन गरिएको थियो ।
स्थानिय निकाय पुनःसंरचना आयोगले बारा जिल्लामा ७ गाउँपालिका, ५ नगरपालिका र १ उपमहानगरपालिका बनाउने प्रस्ताव गरेपनि कलैयालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेकोले कलैयामा एक सातादेखि विभिन्न क्षेत्रबाट विरोध भईरहेको छ ।
२०३८ सालमा स्थापना भएको कलैया नगरपालिकालाई उप–महानगरपालिका बनाई जितपुर–सिमरालाई उपमहानरपालिका बनाउन लागिएकोमा कलैयाबासीहरु बढी असन्तुष्ट देखिएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज