टिप्पणीबिहिवार, माघ ६, २०७३

लोकमानले उतारेको लज्जा

शेखर खरेल

लोकमान मात्र होइन, उनलाई उच्च नैतिक र योग्य प्रशासकको वस्त्र पहिर्‍याउनेहरू समेत यतिबेला नग्न देखिएका छन्।

७ पुसमा पेशी बुझन सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीमाथि अदालत परिसरभित्रै माओवादीको विप्लव घटकका दुई कार्यकर्ताले मोसो दले।

त्यही साँझ कार्कीले वक्तव्य जारी गर्दै आफूले भ्रष्टाचारीहरूउपर निर्भयताका साथ कारबाही गर्दा अत्तालिएका भ्रष्टहरूले नै आफूविरूद्ध षडयन्त्र गरेको जिकिर गर्दै समय आएपछि ती सबैको भण्डाफोर गर्ने उद्घोष गरे– “... त्यसबेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउनेछ।” 

संयोग, अरूको वस्त्र फुकाल्ने धम्की दिएको केही दिनमै सर्वोच्चले अख्तियार प्रमुख नियुक्तिमा लोकमानको योग्यता नपुगेको ठहर गर्दै नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ।

अरूको शरीरबाट वस्त्र झारिदिने लोकमानको हालत सर्वोच्चको परमादेशबाट 'घामको कपुर' जस्तै हुन पुगेको छ। सर्वोच्चको फैसलापछि लोकमान स्वयंमा कति लज्जा वा वस्त्र शेष छ, शायद त्यो उनैले महसूस गरिरहेको हुनुपर्छ।

तर असलमा चाहिं, लोकमानसँगै उनलाई उच्च नैतिकवान र योग्य ठहर गरी प्रतिष्ठित संवैधानिक पदका लागि सिफारिश गर्नेहरूको शरीरबाट समेत वस्त्र खसेको हुनुपर्छ।

यो फैसलाले लोकमानलाई अख्तियार प्रमुखमा सिफारिश गर्ने तत्कालीन उच्चस्तरीय राजनीतिक समितिका चार दलीय सिन्डिकेटका पुष्पकमल दाहाल, झ्लनाथ खनाल, दिवंगत सुशील कोइराला, विजय गच्छदार मात्र होइन नियुक्तिका लागि न्वारनदेखिको बल लगाउने तत्कालीन चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनदबाब विपरीत बाह्य शक्तिका सामु झुकेर शपथ खुवाउने तत्कालीन राष्ट्रपति रामवरण यादवदेखि लोकमानलाई 'कुशल प्रशासक' को पगरी गुथाउने बाबुराम भट्टराई आदि सबैलाई नांगो बनाएको छ।

हरेक तिकडम गरेर पद हत्याउने लोकमानभन्दा उनको नियुक्तिको सिफारिश गर्नेहरू झनै दोषी हुन्। विडम्बना, उनीहरूले जनतासमक्ष सामान्य शब्दमा माफी माग्नसमेत आवश्यक ठानेनन्।

लोकमान र उनका सिफारिशकर्ताहरूले नबुझेको तथ्य चाहिं के हो भने लज्जा कपडाले मात्र ढाकिने चीज होइन। लोकमानका एक सिफारिशकर्ता पुष्पकमल कोट पाइन्टले टम्म शरीर ढाक्छन्, टाइको सुर्को कस्छन्, शिरलाई भादगाउँले टोपीले छोप्छन्। अझ, झलनाथ त पर्फ्यूम छर्कदै, आफूलाई सदावहार चिल्लोचाप्लो राख्छन्। खिलराज लबेदा सुरुवालमा ठाँट्टिएका देखिन्छन्। रामवरणको वस्त्रले त हिमाल, पहाड, तराई गरी समुच्च नेपालकै प्रतिबिम्बित गर्दछ। तर, के यतिबेला उनीहरू आफ्नो शरीरमा लज्जा बचेको अनुभूति गरिरहेका होलान् त?

कुनै बेला अख्तियारले २२ निजामती कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोगमा छापामार शैलीमा गिरफ्तार गर्दा ती कर्मचारीहरू रुमालले अनुहार छोप्दथे।

तिनको नाक छोपेर लज्जा ढाक्ने उपक्रमलाई लिएर तिनताका प्राध्यापक डीपी भण्डारीले व्यङ्ग्यको भाती लेखेका थिए, “कर्मचारीको नाक भन्दा त पशुपति मृगस्थलीका नांगा बाबाहरूको लिङ्ग दर्शनीय। यी कर्मचारीहरू आफ्नो नाक देखाउँदा लज्जा महसूस गर्छन्, तर बाबाजीहरू आफ्नो लिङ्ग निसंकोच देखाउँछन्।”

वस्त्र र लज्जासँग जोडिएका यस्ता अनेकौं प्रसंग छन्। महात्मा गान्धीको एउटा यस्तै प्रसङ्ग छ। सन् १९३१ को ग्रीष्मयाममा 'राउण्ड टेबल कन्फरेन्स' का लागि लण्डन पुगेका गान्धीलाई राजा जर्ज पञ्चमसँग भेटका लागि वकिङ्घम राजप्रासादमा निम्त्याइएको थियो।

अंग्रेज साम्राज्यका वादशाहसँग भेटका लागि राजप्रासाद पुग्नेहरू अभिजात्य र औपचारिक पोशाकमा ठाँट्टिएका हुन्थे। तर, गान्धीले भारतीय किसान आमआदमीको खादीको लुगा लाउन थालेको वर्षौं भइसकेको थियो।

कतिपय शुभेच्छुकले गान्धीलाई कम्तीमा त्यस भेटका लागि मात्रै भए पनि पोशाक बदल्न सुझाए। उनीहरूको तर्क थियो, वादशाहको अगाडि अर्धनग्न उभिनु अशोभनीय मात्र होइन अनादर पनि हुनेछ। तर, गान्धी अर्धनग्न नै राजप्रासाद पुगे।

गान्धीको यस्तो भावभंगी देखेपछि एक बेलायती पत्रकारले सोधे, “गान्धीजी, तपाईंलाई राजाका अगाडि अर्धनग्न उभिंदा लाज वा संकोच केही भएन?” गान्धीले प्रतिउत्तर दिए, “निःसन्देह भएन, किनकि राजाले नै हामी दुवैलाई पर्याप्त हुने गरी लुगा लगाएका थिए।”

गान्धी जस्तै बुद्ध र महावीरलगायत अनेकौं सन्त महर्षिले आफूलाई अर्धनग्न वा सम्पूर्ण नग्न राख्न रुचाए। तर, ज्ञान, विवेक र मानव धर्मका कारण उनीहरू पूज्य बने। नग्नतामा पनि उनीहरूले लज्जाबोध गर्नु परेन।

तर, हाम्रा नेतागणहरूको लज्जा ब्रान्डेड र सुकिला वस्त्रले मात्र ढाकिरहेको होला? जवाफ उनीहरूबाट होइन, सामान्यजनबाटै मिल्न सक्छ।

प्रतिकृया दिनुहोस