‘माघ १५ गतेभित्र कानून बनेमात्रै जेठ पहिलो साता निर्वाचन’
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले यही १५ माघसम्म निर्वाचनसम्बन्धी ऐन कानून बनाउन सके मात्रै आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सकिने बताएका छन्।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, “निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानून दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।”
संविधानसभा निर्वाचनपछि बनेको पहिलो सरकारले नै ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भने पनि अहिलेसम्म कानून नै नबनेको भन्दै उनले गुनासो गरे ।
निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै यादवले कानून निर्माणसँगै सरकारले निर्वाचनको वातावरण बनाए आयोग अहोरात्र खटेर काम गर्न तयार रहेको बताए ।
यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको जानकारी दिए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि एकै पटक सम्भव नभएको स्पष्ट पारेका थिए ।
रासस