अर्घाखाँचीे सिमेन्टको उत्पादन बृद्धिमा जोड
सरोकारवालाहरूले अर्घाखाँची ओपिसि सिमेन्टको उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । अर्घाखाँची सिमेन्ट प्रालिले चितवनमा गरेको विशेष भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा उद्योग वाणज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशभरी अर्घाखाँची सिमेन्टको माग बढीरहेको बेला गुणस्तरलाई ख्याल गर्दै उत्पादनमा बृद्धि गनुपर्ने बताए । गौतमले विदेशी सिमेन्टलाई प्रतिस्थापन गर्न स्वदेशी सिमेन्टको उत्पादन वृद्धि गर्नु आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै इन्जिनियर्स एशोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले सिमेन्ट उद्योगले आफ्नो ल्याबमा मात्रै परीक्षण नगरी इन्जिनियर एशोसियसनको ल्याबमा समेत गुणस्तरता परिक्षण गर्नुपर्ने बताए ।
यस्तै उद्योग वाणिज्य संघ रत्न नगरका अध्यक्ष ज्ञानबहादुर बिसुरालले हरेक क्षेत्रमा अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दै जानु सुखद पक्ष भएको भन्दै यस्तो अवस्थालाई कायम राख्दै अघि बढ्नुपर्ने बताए । अर्घाखाँची सिमेन्ट प्रालिका बजार प्रमुख रमेश थापाले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका निवर्तमान अध्यक्ष कल्याण जोशी, अर्घाखाँची सिमेन्टका सिभिल इन्जिनियर विकास भट्टराई, संघका हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, शहरी तथा भवन निर्माण व्यवसायी संघका अध्यक्ष शरद मानन्धरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।