गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारमा धर्ना दिने ११ जना पक्राउ
छोराको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई न्याय दिई उनको जीवन रक्षा गर्न माग गर्ने अधिकारकर्मी एवम् पीडितहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ ।
न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै पक्राउ गरेको हो ।
धर्नाकारीहरुले 'गंगामायालाई न्याय देउ' भन्दै उनीहरुले केही वेर नारा समेत लगाएका थिए। त्यसलगत्तै प्रहरीले हस्तक्षेप गरेर आफूहरुलाई लगेको मानवअधिकारकर्मी चरण प्रसाईँले बताए।
द्वन्द्वकालमा मारिएको आफ्नो छोराका हत्यारालाई कारवाही गर्ने भनी यसअघि सरकारले गरेको पतिवद्धता पूरा नभएको भन्दै वीर अस्पतालमा रहेकी गंगामायाले स्लाइन र पानी समेत लिन अस्वीकार गरेकी छन् ।
उनका पति नन्दपसाद अधिकारी न्यायको माग गर्दै अनसन रहेकै बेला मृत्यु भएको थियो।
अधिकारी दम्पतीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीले २४ जेठ २०६१ मा चितवनको रत्ननगर १ बकुलहरमा अपहरणपछि हत्या गरेको थियो ।