सुशील ज्ञवालीद्वारा सर्वोच्चमा रिट दायर
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाएको आरोप लगाउदै पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
आफूलाई पूर्ववत अवस्थामा काम गर्न दिन अन्तरिम आदेश माग गर्दै ज्ञवालीले ३ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेको उनका स्वकीय सचिव प्रदिप आचार्यले जानकारी दिए ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रिपरिषद, प्रधानमन्त्री र नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेललाई विपक्षी बनाइएको रिटमा आफूलाई हटाउने र डा.पोखरेललाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।
मन्त्रिपरिषदले गत २७ पुसमा ज्ञवालीलाई हटाएर प्रमुख कार्यकारी अधिकृतमा डा.पोखरेललाई नियुक्त गरेको थियो ।