केयू पदाधिकारीद्वारा विश्वविद्यालय सभाको बैठक बोलाउन माग
काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले उपकुलपतिमा नियुक्त गर्ने पद्धति किटान गर्नका लागि तत्काल विश्वविद्यालय सभाको बैठक बोलाउन माग गरेका छन् ।
३ पुसमा १० जना पदाधिकारीले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र दिएर विश्वविद्यालय सभाको बैठक बोलाउन माग गरेका हुन ।
उपकुलपति छनौट समितिले एक जनाको सिफारिस गर्नु पर्नेमा पाँच जनाको सिफारिस गरिएको भन्ने समाचार आएको उल्लेख गर्दै मौजुदा सिफारिसलाई यथास्थितिमा थाती राख्न माग गरेका छन् । एकजनाको ठाउँमा पाँच जना सिफारिस गर्ने ऐनमा पनि नभएको र प्रचलनमा पनि नआएको उनीहरुले जनाएका छन् ।
उनीहरुले ज्ञापनपत्रमा भनेका छन्, “काठमाडौं विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाका लागि ख्यातिप्राप्त शिक्षणसंस्था भएकाले संस्थाको प्राज्ञिक नेतृत्व छनोट गर्दा तदनुरुप अन्तर्राष्ट्रिय प्रचलनअनुसारको पद्धतिको विकास हुनुपर्ने कुरामा हाम्रो दृढ अभिमत रहेको छ ।”
ज्ञापनपत्र दिनेहरुमा स्कुल अफ मेनेजमेन्टका डीन प्रा.सुवास केसी, स्कुल अफ लका डीन डा.विपिन अधिकारी, स्कुल अफ साइन्सका डीन डा.मोहनबिक्रम ज्ञवाली, स्कुल अफ एजुकेसनका डीन डा.महेशनाथ पराजुली, स्कुल अफ इन्जिनियरिङका डीन डा.भूपेन्द्रविमल क्षेत्री, स्कुल अफ आर्टस्का का.मु. डीन डा.सन्जयनाथ खनाल, परीक्षा नियन्त्रक डा.पन्ना थापा, आर.डी.सी. डाइरेक्टर डा.सुवोध शर्मा, विद्यार्थी कल्याण डाइरेक्टर डा. दिपक सुवेदी र मुख्य प्रशासकीय अधिकृत मुकुन्दप्रसाद उपाध्याय रहेका छन् ।