भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्द राज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच २ पुसमा भएको बैठकले भूकम्प प्रभावितहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आईओएम, केयू, न्याम्स र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान लगायतसँग सहकार्य गरि विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रका ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले जानकारी दिए ।
त्यसका लागि भूकम्प प्रभावित क्षेत्रका जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधन परिचालन गरि निःशुल्क विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।