जन्ती बोकेको गाडी दुर्घटना हुदा तीन जनाको मृत्यु
मोरङको केराबारीबाट धनकुटाको फाक्सिवतर्फ आउदै गरेको जन्ती बोकेको बलेरो दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाईते भएका छन् ।
केराबार–७ बाट फाक्सिवतर्फ आउँदै गरेको को.१ च. ८१८ नम्बरको बलेरो २ पुस राती फाक्सिव गाविस–६ मा दुर्घटना हुदाँ केराबारी–७ का ३० वर्षीय विक्रम मगर, २३ वर्षीय मिलन मगर र २५ वर्षीया आइता राईको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए । गाडी अनियन्त्रित भई सडकबाट १०० मीटर तल खसेको थियो भने चालक फरार रहेका छन् ।
दुर्घटनामा परी केराबारी–७ कै ३३ वर्षीया आरती मगर, २९ वर्षीय किरण मगर, १५ वर्षीय शिशिर मगर र ३५ वर्षीय विकास मगर गम्भीर घाईत भएका छन् । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने बेहुलाबुहुली ३५ वर्षीय पूर्णप्रसाद लिम्बु र २४ वर्षीया विनीता लिम्बु सामान्य घाईते भएको एसपी राजभण्डारीले जानकारी दिए ।
मृत्यु भएकाहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, धनकुटा ल्याएको छ ।
सन्तोष रुचाल, धनकुटा