‘सोलिडारिटि फर डाक्टर केसी अलायन्स’ का ८ युवा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्दै आयोगको कार्यालय पुगेका ‘सोलिडारिटि फर डाक्टर केसी अलायन्स’ का ८ युवा पक्राउ परेका छन्।
सम्पत्ति विवरण माग्न गएका शशिविक्रम कार्की, विजयबाबु शिवाकोटी लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको अलायन्सका अभियान्ता जगन्नाथ लामिछानेले जानकारी दिए ।
अख्तियारले नयाँ निवेदन समेत दर्ता गर्न नमानेको उनले बताए।
अलायन्समा आवद्ध ५५ जनाले दुई साताअघि सूचनाको हक अन्तर्गत कार्कीको सम्पत्ती विवरण माग गर्दै निवेदन दिएका थिए।
उक्त निवेदनमाथि जवाफ माग्न र नयाँ निवेदन समेत दर्ता गराउन आज, ३० साउन विहान करिब ५० जना युवाको समूह आयोगको कार्यालय टंगाल पुगेको थियो ।
सूचनाको हक अन्तर्गत मागेको सूचना नदिएपछि अख्तियार विरुद्ध राष्ट्रिय सुचना आयोगमा उजुरी दिइने लामिछानेले बताए ।