एमालेले दुई हप्ते मेची–महाकाली अभियान सञ्चालन गर्ने
नेकपा (एमाले)ले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा २ माघमा बसेको स्थायी कमिटी बैठकले २१ फागुनदेखि ५ चैतसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मेचीको काँकडभिट्टाबाट सुरु भई महाकालीको महेन्द्रनगर हुँदै अन्त्यमा सुर्खेत पुगी अभियानको समापन गरिनेछ ।
“अभियानमा हजार जनासहितको गाडीमा निरन्तर सहभागी हुनेछन्”–ज्ञवालीले भने, “अभियानकै क्रममा राजमार्गका ३० सहरमा सभा आयोजना गरिनेछन् ।”
तराई–मधेसका सबै जिल्लाका मुख्यमुख्य सहर हुँदै अगाडि बढ्ने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत पार्टीका शीर्ष नेताले अगुवाइ गर्ने छन् ।
यसैगरी, बैठकले प्रतिपक्षी दलको असहमति र विरोधका बाबजुद संसद् नियमावली र संसदीय अभ्यासलाई समेत लत्याउँदै र आरोप लगाउँदै व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकलाई अगाडि नबढाउन आग्रह गर्दै राजनीतिक असहमति र द्वन्द्व चर्काउने कुनै पनि काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए ।
बैठकले सरकारसँग तत्काल निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनसम्बन्धी विधेयकलाई तत्काल संसद्मा प्रस्तुत गर्न माग पनि गरेको छ । संसद्मा प्रस्तुत भइसकेका विधेयकलाई पारित गराउन आवश्यक वातावरण मिलाउन, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने काम तत्काल अगाडि बढाउन पनि माग गरेको सचिव ज्ञवालीले जानकारी दिए ।
यसैगरी, बैठकले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले बर्खास्त गरेको ठहर पनि गरेको छ ।
एमालेको पोलिटब्युरो बैठक २४ र २५ माघमा काठमाडौँमा आयोजना गर्ने पनि निर्णय गरेको छ ।रासस