अप्रतिम भाषासेवी
कमलमणि दीक्षितको व्यक्तित्व र क्रियाशीलताका थुप्रै पाटा भए पनि मूलतः उनी भाषासेवी हुन् र आफूलाई अरूले यही रूपमा चिनुन् भन्ने चाहन्थे ।
नेपाली भाषा निकै अपमानित भइरहेको थियो— २०१०–१२ सालतिर । प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला ‘नेपालको राष्ट्रभाषा हिन्दी हुन्छ’ भन्ने हुँकार गरिरहेका थिए । भारतबाट आएका भिक्षु भदन्तले ‘नेपाली भाषाको कुनै इतिहास र भविष्य पनि छैन’ भनेर थर्र्काएका थिए ।
‘प्रगति’ पत्रिकाको ग्राहक बनाउन ठूली एकादशीका दिन पशुपतिको पश्चिम ढोका अगाडि पुगेको लक्ष्मीप्रसाद देवकोटा सहितको टोलीलाई भारदार विश्वमणि आ.दी.ले दपेटेका थिए, ‘नेपाली भाषाको पत्रिकाको के प्रचार गर्छौ ? अब यहाँ हिन्दीले राज गर्छिन् !’
संस्कृतमा भनाइ छ– क्रिया केवलमुत्तरम् । अर्थात् कार्य नै जवाफ हो । युवा कमलमणिले त्यही बाटो रोजे । पहिले आफ्नै कमाइबाट स्कूलस्तरीय नेपाली निबन्ध प्रतियोगिता आयोजना गरी त्यसको चर्चाबाट रानी जगदम्बालाई हौस्याएर २०१२ मा ‘मदन पुरस्कार’ स्थापना गराए ।
स्कूलमा खाजा खाने पैसा बचाएर नेपाली किताब किन्दै खडा गरेको ‘कमलको नेपाली संग्रह’ कै आधारमा उनले ‘मदन पुरस्कार पुस्तकालय’ स्थापित गरे ।
आफ्नो रगतमै ‘नेपाली भाषाको कोशिका’ रहेको अनुभूति गर्ने कमलमणिको नितान्त निजी भिजन र व्यक्तिगत प्रयास थियो त्यो । त्यसको तरंगले भने नेपाली भाषीको समष्टिलाई नै तरंगित गर्यो ।
त्यही सेरोफेरोमा देवकोटाको अग्रसरतामा नेपाली भाषा राष्ट्रभाषाको आसनमा प्रतिष्ठित भयो, अनि बालकृष्ण पोखरेलको अग्रसरतामा झ्र्राेवादी आन्दोलन शुरू भयो– भाषिक शुद्धता र मौलिकतालाई प्रतिष्ठित गर्न ।
मदन पुरस्कार पुस्तकालय छ, त्यसैले आज हामी नेपाली भाषा र वाङ्मयको इतिहास एवं वर्तमानको इयत्ता आँक्न र महत्ता स्थापित गर्न सक्ने भएका छौं । नेपाली भाषालाई ‘माइनस’ गर्न चाहने समग्र शक्तिलाई सशक्त जवाफ हो यो ।
नेपालीमा लेखिएका–छापिएका, चर्चित–विस्मृत, दुर्लभ–दुष्प्राप्य, नयाँ–पुराना ४० हजार हाराहारीमा पुस्तकमात्रको यो बृहत् अभिलेखागारलाई ‘माइनस’ गरेर सोच्नुहोस् त— कति अन्धकारमा हुन्थ्यौं हामी !
मदन पुरस्कार पुस्तकालय कमलमणिले नेपाली भाषालाई दिएको सर्वाेत्कृष्ट उपहार र उपलब्धि हो । तर, यसबाहेक पनि उनले जे गरे–जे दिए, ती आफ्नो उदाहरण आफैं बनेका छन् ।
चाहे नेपाली साहित्यमा सर्वाधिक गरिमामय र स्पृहणीय बनेको मदन पुरस्कारको कुरा गरौं, चाहे उनका दर्जनौं कृतिको । ६ दशकसम्म उही उँचाइ र उत्साहका साथ लाइब्रेरियन, पुरस्कार सञ्चालक, सम्पादक, अनुसन्धाता, लेखक, साहित्यकार, उत्प्रेरक र भाषासेवीको भूमिकामा अनवरत गतिमान थिए उनी ।
अचम्म लाग्छ, कसरी गर्न सके अविश्रान्त रहेर यत्रो काम र कसरी रहन सके यत्रो चापाचापमा पनि सदा तनावमुक्त, ताजा र प्रसन्न रहन ?
भाषामा उनको अद्भुत सिद्धि थियो । संस्मरण र आख्यानको त कुरै छाडौं, विवेचना र अनुसन्धानमा पनि त्यति मीठो, सरस, सरल, आकर्षक र स्पन्दनयुक्त भाषा अरूको पाइँदैन । जुन विषय उठाउँथे, भाषाको जादूले त्यसमा मोहनी थपिन्थ्यो । मलाई लाग्छ– अनन्य भाषासेवाबाट प्रसन्न भएर स्वयं वाग्देवीले दिएको अयाचित वरदान हो यो उनलाई ।
कमलमणि सबै कुुरा सहन तयार थिए– आफ्नै अपमान पनि; तर भाषाको अपमान र अवमूल्यन सहन तयार थिएनन् । त्यत्रो प्रेम, त्यत्रो श्रद्धा र त्यत्रो समर्पणभावले अघि बढाएको नेपाली भाषा दुरभिसन्धिको शिकार हुन लागेको देखेर केही समय यता निकै चिन्तित थिए उनी । त्यसैको परिणाम थियो– ‘ललितपुर घोषणापत्र’ (२०६८) मा उनको उत्साहपूर्ण सहभागिता ।
नेपाली भाषा प्रयोगकर्ताहरूको त्यस भेलाका संयोजक वा आयोजक थिएनन् उनी, अरू झैं सहभागी मात्र थिए । तर संयोजकहरूलाई उनले गहन जिम्मेदारी बोकाइदिएः ‘तपाईंहरूका कुरा त ठीक होलान्, तर त्यसबाट मलाई के फाइदा ? म त प्रकाशक हुँ, मलाई त भाषाको व्यवस्था तयार गरेर दिनोस्’ भनेर ।
त्यसैको अनुक्रममा, नेपाली भाषाका महागुरुहरू समेत प्रयोगकर्ताको अभियानमा जोडिन आइपुगेपछि तयार भएको थियो ‘नेकशुले–२०६९’ (नेपाली कसरी शुद्ध लेख्ने) । त्यो तयार पार्ने वातावरण मात्र जुटाइदिएनन् उनले, त्यसको निर्माणमा पनि संलग्न भए । त्यसको र समूहको न्वारन पनि उनैले गरिदिएका थिए ।
पछिल्लो समय नेपाल बाहिर र फर्केलगत्तै अस्पताल भर्ना भएकाले सम्पर्क हुनसकेको थिएन । एक्कासि असोज ८ गते शनिबार दिउँसो १ बजे उनको फोन आयो, ‘हलो’ को सट्टा ‘मलाई चिन्नुभो ?’ भन्दै ।
त्यस दिन कान्तिपुर दैनिकमा प्रकाशित भाषा सम्बन्धी मेरो आलेख पढेर गद्गद् भएको प्रतिक्रिया दिंदै मलाई कृतकृत्य तुल्याए । तर फोनको मुख्य उद्देश्य त्यो थिएन ।
‘त्यसमा पनि एउटा बुँदा मलाई ज्यादै घत लाग्यो’ भन्दै त्यो बुँदा पढेर सुनाए र भने, ‘गर्नुपर्ने यही हो । हामी यो काम गरौं । तपाईं मुख्य भूमिका खेल्नोस् । बाँकी सहयोग म गर्छु ।’
मलाई पसीना छुट्यो । लाग्यो, त्यत्रो जिम्मेदारी म कसरी पूरा गर्न सकौंला । तर, उत्तिखेरै मेरो ब्रह्मले त्यो ऊर्जा, त्यो उत्साह, अप्रतिम भाषासेवीको त्यो शिव–संकल्प खेर जान दिनुहुँदैन भन्यो र मैले जवाफ दिएँ, ‘हुन्छ नि !’ उनले त्यत्तिमै किन छोड्थे; भने, ‘यसरी हुँदैन, मसँग बाचा गर्नोस् ।’ मैले एकपल्ट लामो सास फेरें र भनें, ‘ल बाचा भयो । म गर्छु । तर, कसरी गर्ने भनेर भोलि फोन गर्छु ।’
राति सोचेर भोलिपल्ट कामको खाका विस्तारपूर्वक बताउँदा उनले विशेषै प्रसन्नता जनाए । अनि मेरो अनुरोधमा सहमति भयो– काम पूरा नभएसम्म यसबारे बाहिर हल्लाखल्ला नगर्ने ।
पछिल्लोपल्ट बीएण्डबीमा भर्ना भएपछि दुईपल्ट फोन आयो– डाक्टरले नबोल्नु भनेका छन् भन्दै । ती संक्षिप्त फोनवाणी पनि भाषाकै चासो, चिन्ता र अभियानसँग सम्बन्धित थिए ।
नेपाली भाषाले आजसम्म पाएका सबैभन्दा बहुमूल्य रत्न हुन्– कमलमणि । सबै भाषाले यस्ता मणि पाउँदैनन्, पाउनेले पनि एउटा भन्दा बढी पाउँदैनन् ।
मलाई लाग्दैन, समयले अर्को कमलमणि जन्माउला । तर, उनले तयार पारिदिएको आधारमा उभिएर हामी नेपाली भाषाको श्रीवृद्धि गर्न सक्छौं । त्यसनिम्ति, अभौतिक रूपमै सही, उनी सधैं हाम्रो साथमा रहनेछन् ।