गायक यमबुद्धको बेलायतमा निधन
यमबुद्धको नामले चर्चित र्याप गायक अनिल अधिकारीको बेलायतको लण्डनमा निधन भएको छ ।
बीबीसी नेपालीका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:२० बजे एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेको लण्डनको मेट्रोपोलिटन पुलिस र चिकित्सा टोलीले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । उक्त घटना शंकास्पद नठानिएको त्यहाँको प्रहरीले जनाएको छ ।
२९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । धरानमा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए ।
र्यापर अधिकारीका 'आमा,' 'जुत्तामा,' 'साथी' जस्ता चर्चित गीतहरु छन्। सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् ।