पांच नम्बर टुक्रिए सदूरपश्चिम पाँच दिन पनि टिक्दैनः चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग पार्ने हो भने सुदूरपश्चिम पनि टुक्रिने चेतावनी दिएका छन् ।
आज बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले भने, “पांच नम्बर प्रदेश टुक्रिए सुदूरपश्चिम पाँच दिन पनि टिक्दैन, नारायणघाट तीन घण्टाभित्रै टुक्रिन्छ ।”
संविधान संशोधन प्रस्तावबारे पार्टीको कुनै निकायमा छलफल नभएको र कुनै औपचारिक निर्णय नभएको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले भनेका सबै कुरा माने पनि पाँच नम्बर प्रदेशलाई टुक्राउने गरी पेश भएको संशोधन विधेयकको भने विरोध गरिने बताए ।
उनले भने, “मात्रै दुई सेकेन्डका लागि उहाँले भनेको मान्दैनौं, त्यो भनेको संशोधन विधेयकमा मतदानका बेला हस्ताक्षर गर्न लाग्ने समय हो ।”
उनले संशोधन विधेयक नेपालीका पक्षमा नभई बाह्य शक्तिको दबाबका कारण आएको दाबी गरे ।
“यो प्रस्ताव असफल बनाउनु पर्छ, असफल भएमात्र नेपाली भूभाग डुब्नेछैन्, सुस्ताबासीलार्ई मुद्दा लाग्नेछैन्,” नेता भण्डारीले भने ।
उनले शान्तिप्रियतालाई कमजोरी ठानेर छिमेकीले हेपेको भन्दै त्यस्तो भ्रममा नपर्न चेतावनी दिए ।
कांग्रेस एमाले नमिलिकन संबिधान कार्यन्वयन नहुने भन्दै उनले ठूला दलहरु मिलेरै अघि बढ्नु पर्ने धारणा राखेका थिए ।
दीपक ज्ञवाली, बुटवल